सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ कर्णाली प्रदेशसभामा एमाले संसदीय दलका नेता एवं पूर्व मन्त्री यामलाल कँडेलको गृह वडा हो । त्यतिमात्र होइन, वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीको पनि गृह वडा हो । कँडेल र सुवेदीकै गृह वडाको करिव एक किलोमिटर सडक विगत एक वर्षदेखि कालोपत्रे गर्ने भनी अलपत्र पारिएको छ ।
कालुचौक देखि रत्न राजमार्ग जोड्ने करिव एक किमी सडकभरी गिट्टी थुपारिएको छभने कल्भर्डका लागि ठूलो खाडल खनिएको छ। जसका कारण उक्त सडकमा एक वर्षदेखि न एम्बुलेन्स चल्न पाएको छ न त फोहोर बोक्ने गाडी नै गएको छ । कालुचौक नजिकको बरपिपलको चौतारीलाई मुख्य कारण देखाएर सडक अलपत्र पारिएको छ । एक वर्षदेखि सडक अलपत्र भएपछि स्थानीय बासिन्दाहरु आक्रोश पोख्न थालेका छन् । पूर्व मन्त्री र नगर प्रमुखको वडाको सडकको अवस्था यस्तो भएको भन्दै वडाबासीले खिसिट्युरी गर्न थालेका छन् ।
एक वर्षदेखि सडक अलपत्र पर्दा त्यसको प्रत्यक्ष असर त्यहाँका बासिन्दालाई भएको छ । स्थानीय बासिन्दा मनिराम भण्डारीले एक वर्षसम्म पनि सडक कालोपत्रे नहुँदा निकै पीडा भोग्नुपरेको बताउनुभयो । उहाँले सडक अलपत्र पर्दा एम्बुलेन्ससमेत आउन नसक्दा विरामीलाई बोकेर हटलाइनसम्म लैजानुपर्ने अवस्था रहेको जनाए । फोहोर बोक्ने गाडी पनि नआएको एक वर्ष भएको भन्दै उनले अन्यत्र सवै ठाउँका सडक कालोपत्रै भइसक्दा यही सडक अलपत्र रहेको उल्लेख गर्नुभयो । विवाद देखिएमा वडा कार्यालयले समाधान गर्नुपर्नेमा वडा कार्यालय पनि आँखा चिम्म गरेर बसेको आरोप उहाँको छ ।
यस्तै अर्का बासिन्दा कमल बसेलले पनि सडक अलपत्र पर्दा आफ्नो मिलमा कुटानी पिसानी गर्न आउने उपभोक्ताहरु मारमा परेको बताउनुभयो । उहाँले धान, गहुँ मकै मिलसम्म ल्याउन नसक्दा हटलाइन बाटोबाटै बोकेर ल्याउनुपरेको उल्लेख गर्नुभयो । जतिसक्यो छिटो सडक कालोपत्रे गर्नुपर्नेमा हालसम्म नगर्दा धेरै दुःख पाइएको उहाँको भनाइ छ ।
वडा नं. ४ का वडा सदस्य कृष्णप्रसाद गौतमले पिपलचौतारीका कारण सडक कालोपत्रे हुन नसकेको बताउनुहुन्छ । यद्यपि उक्त पिपलचौतारी हटलाइन क्षेत्रमा पर्दछ । कालोपत्रे गर्ने भनिएको सडक क्षेत्रमा पर्दैन । वडा सदस्य गौतमले चौतारीका कारण उक्त सडक र रातोपुल वारिको सडक पनि कालोपत्रे हुन नसकेको जिकिर गर्नुभयो । चौतारी हटाउनका लागि सवैको सहमति आवश्यक पर्ने भएकोले त्यसमा केही ढिलाइ भएको उहाँको भनाइ छ । एक वर्षसम्म सडक कालोपत्रे हुन नसक्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको उहाँले पनि स्वीकार गर्नुभयो । साथै सडक निर्माण गर्ने निर्माण व्यवसायीले पनि ढिलाई गरेको आरोप उहाँको छ ।
यता सडक निर्माण व्यवसायी बखतबहादुर शाहीले रुख काटेर चौतारी हटाउनुपर्ने आफ्नो सम्झौतामा नभएको तर वडा कार्यालय तथा केही एक दुई जना व्यक्तिले रुख नहटाएसम्म काम गर्न नदिने भनेपछि रोकिएको प्रष्ट पार्नुभयो । उहाँले वडाले काम गर्ने वातावरण बनाउनुपर्ने भन्दै अव केही दिनमै समाधान आउन आशा व्यक्त गर्नुभयो । सडक कालोपत्रै हुन ढिलाई हुनुमा वडा कार्यालयकै दोष रहेको आरोप उहाँको छ । वडाले हटलाइनको क्षेत्रमा रहेको पिपलचौतारी हटाउन भनेपनि भैरव मन्दिर नेरको चोकमा रहेको पिपलको रुख भने जस्तातस्तै राखेर वरिपरि कालोपत्रे गरिएको छ ।