१३ बैशाख २०८१, बिहीबार

प्रदेश राजधानीका सडकका खाल्डाखुल्टी टालटुल

कर्णाली प्रदेश मुख्य समाचार समाचार
प्रदेश राजधानीका सडकका खाल्डाखुल्टी टालटुल
0 Shares

सुर्खेत ।
पर्यटकीय क्षेत्र काँक्रेविहार जाने सडक निकै लामो समयदेखि अलपत्र अवस्थामा रहेको छ । कालोपत्रे गर्ने भनेर ठीक्क परेपनि अहिलेसम्म उक्त सडक कालोपत्रे हुन सकेको छैन । जसले गर्दा काँक्रेविहार, शिव मन्दिर जस्ता प्रमुख पर्यटकीय क्षेत्र जानेहरु निरास छन् । उक्त सडक अघिल्लो आर्थिक बर्षमै कालोपत्रे भइसक्नुपर्ने हो ।


कर्णाली प्रदेश सरकारले अघिल्लो आर्थिक बर्षमा मंगलगढी–काँक्रेविहार सडकलाई प्रदेश गौरवको आयोजनाका रुपमा अघि सारे पनि अहिलेसम्म काम अगाडि बढ्न सकेकै छैन । समयमै सडक कालोपत्रे नभएपछि अहिले सडकका खाल्डाखुल्डी टाल्ने काम भइरहेको छ । कालोपत्रे नहुनजेलसम्मका लागि खाल्डाखुल्डी टाल्नु परेको हो । दशै–तिहारको अवसरपारी काँक्रेविहारमा धेरै पर्यटकहरुलाई सहजहोस् भन्ने उद्देश्यले खाल्डाखुल्डी पुर्न थालिएको हो । वडा कार्यालयको समन्वयमा भौतिक पूर्वाधार विकास कार्यालयले खाल्डाखुल्डी पुर्न थालेको हो ।
तोकिएकै समयमा सडक कालोपत्रे नभएपछि अहिले माटोले खाल्डाखुल्डी पुर्नुपरेको हो । वडा नं. ९ का वडाअध्यक्ष सुरेश मानन्धरले काँक्रेविहार जाने सडक अघिल्लो बर्षमै ठेक्का भइसक्नुपर्ने भएपनि कोरोनाका कारण समयमै काम हुन नसकेको बताउनुभयो । उहाँले कालोपत्रे नहुन्जेलसम्मका लागि खाल्डाखुल्डी पुर्न लागिएको जानकारी दिनुभयो । सडक कालोपत्रे गर्नका लागि वडा कार्यालयले अघिल्लो नाला निर्माण गरिसकेको छ । ठेक्का प्रक्रिया पनि टुङ्गो लागिसकेका कारण छिट्टै कालोपत्रेको काम अगाडि बढ्ने उहाँको भनाइ छ ।
मंगलगढी चौकदेखि काँक्रेविहारसम्मको सडक कालोपत्रेको जिम्मा विनोद कोइरालाको नेपाल मेघा ब्रेटर्स प्रालिले पाएको छ । दशैं–तिहार लगत्तै सडक कालोपत्रे गरिने ठेकेदार कोइरालाले जनाउनुभयो । दुई बर्षभित्र सडक कालोपत्रे गरिसक्नुपर्नेछ । कूल १९ करोड ८९ लाखमा सडक कालोपत्रे गर्ने योजना छ । उहाँले काँक्रेविहार जाने सडक तिहार लगत्तै कालोपत्रेको काम सुरु गर्ने भन्दै दुई बर्षभित्रमै आयोजना सम्पन्न हुने दावी गर्नुहुन्छ । निर्माण सामग्रीको सहज आपूर्ति र कोरोना महामारी नदोहोरिएको खण्डमा तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न हुने कोइरालाको भनाइ छ ।
सडक टालटुल गर्ने काँक्रेविहार जाने सडक मात्रै होइन, फोरलेन सडकलगायत वीरेन्द्रनगरका अन्य साना सडकहरुमा पनि टालटुल गरिएको छ । फोरलेन सडक खण्ड अन्तर्गत खड्का श्री वासना न्यू दिपक जेभीले फोरलेन सडकको कालोपत्रे भत्किएको ठाउँमा मर्मत सम्भार गर्न थालेको छ । जेभीका सुपरभाइजर हिक्मतबहादुर बमले दुई महिना अघि नै सडकका खाल्डाखुल्डी पुरिसक्नुपर्ने भएपनि मौसमले साथ नदिएको बताउनुभयो । सडकमा थप क्षति हुन नदिने उद्देश्यले खाल्डाखुल्डी पुर्ने, भत्किएको ठाउँमा मर्मत सम्भार गर्न थालिएको हो । तत्काल सडकहरु कालोपत्रे हुन नसक्ने भएपछि मर्मत सम्हार थालिएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।
कार्यालयले नियमित सडक मर्मतमा मात्रै झण्डै तीन करोड रकम खर्च गर्न थालेको छ । सुर्खेतको हर्रेदेखि दैलेख बजारसम्मको सडक मर्मतमा तीन करोड रकम खर्च गर्न थालिएको हो । कार्यालयका सूचना अधिकारी सजना पोखरेलका अनुसार हर्रेदेखि सुब्बाकुनासम्मको सडक मर्मतमा ४४ लाख रकम खर्च गर्न थालिएको छ । हर्रेदेखि सुब्बाकुनासम्मको खाल्डाखुल्डी र सडक मर्मतका गर्ने ठेक्का प्रवीन निर्माण सेवाले लिएको छ ।
रत्न राजमार्गकै सुर्खेतदेखि दैलेख बजारसम्मको सडक मर्मतका लागि दुई करोड ६२ लाख रकम खर्च गरिनेछ । फोरलेन सडक र त्यस बाहेकको सडक खण्ड गरेर दुई चरणमा सडक मर्मत गरिने छ । फोरलेन खण्डको खाल्डाखुल्डी पुर्ने खड्का श्री वासना न्यू दिपक जेभीले ठेक्का लिएको छ । जेभीले हाल बुलबुलेदेखि धुलियाबिटसम्मको अधिकांश क्षेत्रका खाल्डाखुल्डी पुरिसकिएका छन् । रत्नराजमार्ग अन्तरगतको फोरलेन बाहेक दैलेख खण्डमा पनि छिट्टै सडक मर्मत गरिने छ । त्यस खण्डको छिट्टै ठेक्का प्रक्रिया टुङ्गाउने तयारी गरिएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap