१६ बैशाख २०८१, आईतवार

फागुनदेखि दुर्गम कर्णालीमा नेपाल एयरलाइन्सले नियमित हवाई उडान गर्ने

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
फागुनदेखि दुर्गम कर्णालीमा नेपाल एयरलाइन्सले नियमित हवाई उडान गर्ने
0 Shares

सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पछिल्लो समय हवाई उडानका लागि विमान कम्पनीहरु थपिँदै जान थालेका छन् । सुरुमा निजी क्षेत्रको बुद्ध एयरसँगै श्री एयरलाइन्सले नियमित हवाई सेवा दिइरहेका बेला सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले पनि सेवा विस्तार गर्न लागेको छ । आगामी फागुन महिनादेखि नेपाल एयरलाइन्सले विशेषगरी साविक कर्णालीमा सेवा संचालन गर्न लागेको हो । अहिले साविक कर्णालीमा यात्रा गर्न लुम्बिनीको बाँकेबाट जानुपर्ने बाध्यता छ ।


प्रदेश राजधानी सुर्खेतबाट संघीय राजधानी काठमाडौंसहित साविक कर्णालीमा हवाई उडानवारे अध्ययन गर्न आएको नेपाल एयरलाइन्सको उडान परियोजना निर्देशक महेशकुमार मरिता नेतृत्वको टोलीले आगामी फागुन पहिलो साता नेपाल एयरलाइन्सले परीक्षण उडान गर्ने र त्यसको केही दिनलगत्तै नियमित उडान गर्ने जानकारी दिएको हो । टोलीका सदस्य सचिव एवं सुर्खेत फ्लाइट अप्रेशन इन्चार्ज देबेन्द्र पुनले पहिलो चरणमा प्रदेश राजधानी सुर्खेतदेखि साविक कर्णालीका दुर्गम जिल्लाका हवाई उडानलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले फागुन पहिलो सातादेखि नेपाल एयरलाइन्सले साविक कर्णालीमा व्यवसायिक उडान गर्ने जानकारी दिनुभयो ।
विगतमा पनि सुर्खेतदेखि साविक कर्णालीमा नेपाल एयरलाइन्सले उडान गर्दै आएको स्मरण गर्दै उहाँले यसपटक बजार माग, अप्रेशन खर्चलगायतको सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन तयारी पारी सरकारलाई बुझाइने जनाउनुभयो ।
उहाँका अनुसार सुर्खेत—काठमाडौंभन्दा पनि पहिलो चरणमा साविक कर्णालीमा उडान गरिनेछ । भौगोलिक विकटतासहित प्राकृति विपद् भइरहने भएकोले सरकारको उपस्थिति देखाउनका लागि पनि नेपाल एयरलाइन्सले कर्णालीमा नियमित उडान सेवा संचालन गर्न लागेको उहाँको भनाइ छ । सुर्खेतदेखि साविक कर्णालीका जुम्ला, हुम्लाको सिमकोट, मुगुको रारा, डोल्पा र बाजुराको कोल्टीमा नियमित हवाई उडान गरिनेछ । साविक कर्णालीमा नेपाल एयरलाइन्सले नियमित उडान गर्ने भन्दै उहाँले संचालनको तीन महिनापछि सुर्खेतमै जहाज नाइट स्टे गर्ने तयारी पनि भइरहेको उल्लेख गर्नुभयो । नेपाल एयरलाइन्सले तीन वटा नयाँ जहाज खरिद गर्ने प्रक्रियामा रहेको हुँदा नियमित उडानमा शंका नगर्न उहाँले बताउनुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले प्रदेश राजधानीबाट निजी विमानहरुको हवाई सेवा सुरु भएपनि सरकारी स्वामित्वको जहाजको सेवा नभएकोले जतिसक्यो छिटो सेवा गर्न आग्रह गर्नुभयो । उहाँले सुर्खेतदेखि विशेषगरी कर्णालीका दुर्गम क्षेत्रमा हवाई सेवा संचालन गरेर प्रदेशबासीलाई सेवा दिन र राज्यको उपस्थिति बनाउन जोड दिनुभयो । उहाँले साविक कर्णालीबाट प्रदेश राजधानी सुर्खेत आउने यात्रुमा कमी नहुने भन्दै उहाँले सडक यात्रा जोखिम र कठिन भएकोले नेपाल एयरलाइन्सको नियमति सेवाले सहज बनाउने दावी गर्नुभयो । सरकारी स्वामित्वको कम्पनीले उडान थालेपछि प्रदेशको आर्थिक गतिविधि पनि चलायमान हुने र प्रदेशका सवै जिल्लासँग सिधा सम्पर्क हुने उहाँको भनाइ छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap