१५ बैशाख २०८१, शनिबार

बादी समुदायद्वारा गिट्टी बालुवाको वैकल्पिक पेशाको माग

कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
बादी समुदायद्वारा गिट्टी बालुवाको वैकल्पिक पेशाको माग
0 Shares

सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिका—११ शान्तिपुर झुप्राका बादी समुदायले सरकारी तथा गैरसरकारी संस्थाहरुसँग सहज जीवनयापनका लागि गिट्टी बालुवाको सट्टा अन्य वैकल्पिक पेशाको माग गरेकाे छ। उनीहरुले खोला किनारको ढुंगा बालुवा निकाल्न पनि सहजरुपमा नपाइने हुँदा त्यसको सट्टा आयआर्जन तथा सीपमूलक वैकल्पिक पेशाका योजनाहरु ल्याउन माग गरेका हुन् ।


आइतवार युएनवुमन र फिनल्याण्ड सरकारको सहयोगमा जुरी नेपालर दलित महिला संघ सुर्खेतले संचालन गरेको हाम्रो सहकार्य परियोजनाको उपलव्धीवारे अनुगमनमा गएको झुप्राका बादी बस्तीका महिलाले सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरुलाई आगामी दिनमा आर्थिक सशक्तिकरण तथा आयआर्जनका योजनाहरु ल्याउन माग गरेका छन् । सो समुदायकी अमृता बादीले असारदेखि भदौसम्म भनिएपनि कम्तीमा ६ महिनासम्म खोलाको ढुंगा बालुवा उत्खनन गर्न नपाउँदा रोजीरोटी नै जुटाउन नसक्ने भएकोले अन्य बैकल्पिक पेशाहरु उपलव्ध गराउन आग्रह गर्नुभयो ।
उहाँले अहिले बालुवा र ढुंगा गिट्टी निकालेर जीवन चलाइरहेको तर असारदेखि भदौसम्म तीन महिना भनिएपनि ६ महिनासम्म ढुंगा बालुवा निकाल्न नपाउँदा जीवन चलाउन गाह्रो हुने उल्लेख गर्नुभयो । सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले ढुंगा बालुवा नभएपनि अन्य वैकल्पिक पेशाका लागि सीप तथा आयआर्जन मुलक कार्यक्रमहरु दिएको भए स्वरोजगार बनी जीवन चलाउन सहज हुने उहाँको भनाइ छ ।
यस्तै पार्वती बादीले बत्ती, इन्टरनेट र यातायातको अभाव हुँदा आफूहरुको बस्ती सदरमुकाम नजिकै भएपनि दुर्गमजस्तै भएको बताउनुभयो । उहाँले बालुवा ढुंगाको सट्टा अन्य बैकल्पिक पेशाका लागि अनुदान दिए आफूहरु त्यो काम गर्न तयार रहेको उल्लेख गर्नुभयो । जुरी नेपाल र दलित महिला संघले सो स्थानमा २७ जना महिलाहरुको सहभागितामा समूह गठन गरेको छ । समूहमा बादी महिलाहरुले प्रति महिना ५० रुपियाँ बचत गर्नुहुन्छ । त्यसैबाट ऋण लिएर सानो तिनो व्यवसाय पनि गर्नुभएको छ । अव अलि ठूलो मात्रामा ऋण परिचालन गरी स्वरोजगार बन्नेतर्फ उन्मुख हुने कार्यक्रमहरु ल्याउन उहाँले माग गर्नुभयो ।
कोभिडको समयमा संस्थाले तीन महिनासम्म पुग्ने खाद्य तथा गैरखाद्य सामग्रीहरु उपलव्ध गराएको थियो । तीन महिनासम्म पुग्ने राहत पाएपछि समूहका महिलाहरुले सो अवधिसम्म बचत गरेको रकमले केहीले कुखुरा, केहीले बँगुर त केहीले बाख्रा पालेको समूहका स्वयंसेवक धनसरा वादीले सुनाउनुभयो । खोलामा बालुवा निकाल्न रोक लगाउँदापनि राहतले जीवन यापन गर्न सहज भएको र सोमा खर्च हुने रकमले बचत गरी स्वरोजगार बन्न मद्धत मिलेको उहाँको भनाइ छ । आगामी दिनमा थप स्वरोजगारमूलक र आयआर्जनमा अग्रसर हुने कार्यक्रम ल्याउनुपर्ने पनि उहाँले जनाउनुभयो ।
जुरी नेपालका अनुगमन तथा मूल्याकंकन अधिकृत मुना अधिकारीले समूहमा उहाँहरुले विभेदजन्य हानिकारक प्रथाहरु, लैंगिक हिंसा अन्त्यका लागि छलफल गर्ने, बचत संकलन गर्ने गरेको बताउनुहुन्छ । सुर्खेतको वीरेन्द्रनगर, भेरीगंगा, लेकबेसी र गुर्भाकोट नगरपालिकामा सो कार्यक्रम लागू छ । ती पालिकाका आठ वटा समूहमा यस्तै समूहमा छलफल गरिन्छ ।
सामाजिक विकास मन्त्रालयका महिला विकास महाशाखा प्रमुख अनिता ज्ञवालीले सचेतनापछि व्यवहार परिवर्तन हुनुपर्ने बताउनुभयो । उहाँले लक्षित वर्गका कार्यक्रमहरु बास्तविक लक्षित वर्गसम्म पुग्नुपर्ने बताउँदै त्यस्ता कार्यक्रमले सचेतना, आर्थिक सशक्तिकरण र सकारात्मक सोचको विकास गराउने उल्लेख गर्नुभयो । मन्त्रालयकै शिक्षा महाशाखा प्रमुख बलवीर सुनारले बचतलाई सदुपयोग गर्न आग्रह गर्दै सामाजिक न्याय, आयआर्जन र आर्थिक सशक्तिकरणमा संघसंस्थाहरुले योगदान पु¥याएको बताउनुभयो ।
दलित महिला संघ सुर्खेतका अध्यक्ष मन्जु सुनारले विगतको तुलनामा अहिले बादी समुदायमा सशक्तिकरणको ठूलो विकास भएको बताउनुभयो । उहाँले आगामी दिनमा आयआर्जन, सचेतना र सशक्तिकरणको पाटोलाई सरकारी तथा गैरसरकारी संस्थाहरुले समन्वय गरेर लैजानुपर्ने सुझाव दिनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap