१६ बैशाख २०८१, आईतवार

क्यान्सरपीडित छोराको उपचार खर्च जुटाउन बाबु भारत, आमा माइतीघर

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
क्यान्सरपीडित छोराको उपचार खर्च जुटाउन बाबु भारत, आमा माइतीघर
0 Shares
सुर्खेत ।
बर्दिया मधुवन नगरपालिका–१ का १८ वर्षीय पुष्कर खड्का क्यान्सरले विरामी भएपछि बाबु उपचार खर्च जुटाउन भारत जानुभएको छ । विरामी छोरालाई बाँकेको खजुरा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा छोडेर आमा प्रतिमा खड्का भारती पनि उपचार खर्चको जोहो गर्न माइती घर सुर्खेत आउनुभएको छ ।
एक वर्षदेखि छोराको उपचारमा खटिनुपरेका खड्का परिवार रकम अभाव भएपछि बाबु जीतबहादुर खड्का खर्च जुटाउन कामको खोजीमा गत साउनमा भारत जानुभएको हो । कक्षा १२ मा पढ्दै गर्दा बिरामी भएका पुष्करलाई पिशाव नली र कलेजोमा क्यान्सरले छोएको छ । उपचार खर्च जुटाउन माइतीघर सुर्खेत आउनुभएका आमा प्रतिमाले सुरुमा आफ्नै सम्पत्तिबाट उपचार खर्च गरेपनि अव भने अवस्था कठिन भएकोले उपचारमा खर्च अभाव भएको बताउनुभयो । छोराको उपचारमा रकम सकिएपछि  खर्चको जोहो जुटाउन श्रीमानलाई कामको खोजीमा भारत पठाउनुपरेको उहाँको भनाइ छ ।
अहिलेसम्म उपचारमा करिव ४५ लाख खर्च भइसकेको छ । करिव ३० लाख आफ्नै सम्पत्तिबाट र अरु  आफ्ना साथीभाइ र आफन्तको सहयोगबाट खर्च जुटाइएको उहाँले जनाउनुभयो । अहिले बाँकेमा उपचार भइरहेको अव भने थप उपचारका लागि भारत लैजान भनिएको छ । भारत लैजानका लागि रकम अभाव भएपछि अहिले सवैसँग सहयोगको याचना गरिरहेको आमा प्रतिमाले बताउनुभयो ।
अमेरिका बस्ने सुर्खेतीहरुको सहयोग
यसैवीच क्यान्सर पीडित पुष्कर खड्कालाई थप उपचारका लागि अमेरिका बस्न सुर्खेतीहरुले डेढ लाख बढी आर्थिक सहयोग गरेका छन् । अमेरिकाको टेक्सासमा बस्ने सुर्खेतका सीता कार्कीलगायतको टोलीले खड्काको थप उपचारका लागि एक लाख ५० हजार ७० रुपियाँ सहयोग गरेका हुन् । सो रकममा नवज्योति केन्द्र सुर्खेतका कर्मचारीहरुले पनि केही थप गरी कूल एक लाख ७२ हजार ६२५ रुपियाँ विरामी खड्काका आमा प्रतिमा खड्का भारतीलाई हस्तान्तरण गरिएको छ ।
अमेरिकामा रहेका सुर्खेतका सीता कार्कीसहित इसा, विभा ढकाल, सरिता थापा, सिर्जना केसी, सिन्धु आचार्य, स्मृति खड्का, संगीता रावत, संगीता रिसाल, भावना भण्डारी, उर्मिला बानियाँ, सुरज कार्की, सुनिता केसी, रमेश खड्का र सिसिलियाबाट रकम संकलन गरिएको थियो ।
सुर्खेतमा रहनुभएकी कार्कीका दिदी देवी कार्की, नवज्योति केन्द्रका कार्यकारी निर्देशक सिस्टर रोसिटाले प्रतिमा खड्का भारतीलाई हस्तान्तरण गर्नुभयो । केन्द्रका तर्फबाट १५ हजारसहित कर्मचारीहरु जरमाया बाँठा, हेमा गिरी, कमला थापाबाट थप रकम संकलन गरिएको थियो । नवज्योति केन्द्रका कार्यकारी निर्देशक सिष्टर रोसिटाले उपचारमा थोरै भएपनि टेवा पुगोस् भनेर सहयोग गरिएको बताउनुभयो । विरामी खड्काका आमा प्रतिमाले सवैको सहयोगबाट छोराको उपचारमा टेवा मिलेको र स्वास्थ्य अवस्थामा पनि सुधार आउँदै गरेको जनाउनुभयो । विरामी खड्काको उपचारमा सहयोग गर्न चाहनेले आमा प्रतिमा खड्का भारतीको नाममा नेपाल बैंक लिमिटेड ठाकुरद्वारा बर्दियाको खाता नं. २७७०११०७१२३६२३०००००१ मा सहयोग गर्न सक्ने जनाइएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap