१५ बैशाख २०८१, शनिबार

सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारमा एकमत

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारमा एकमत
0 Shares

सुर्खेत ।

सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार गर्न यहाँका निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज एकमत भएका छन् । वीरेन्द्रनगर नगरपालिकाले मंगलवार विमानस्थल विस्तार सम्वन्धमा आयोजना गरेको सर्वपक्षीय बैठकमा धावनमार्ग विस्तार गर्न एकमत भएका हुन् ।

विमानस्थल धावनमार्ग विस्तारको च्याप्टर सकिएको भन्दै विभिन्न टिकाटिप्पणी भइरहेका बेला नगरपालिकाले मंगलवार सर्वपक्षीय र सर्वदलीय बैठकको आव्हान गरेको थियो । बैठकमा सहभागी संघीय तथा प्रदेशसभाका जनप्रतिनिधिहरु, राजनीतिक दल, निजी क्षेत्र, नागरिक अगुवा सवैले धावनमार्ग विस्तारको काम अविलम्ब सुरु गर्न समेत सुझाव दिएका छन् ।
नागरिक अगुवा पीताम्बर ढकालले सुर्खेत विमानस्थलमा धेरै लगानी लागिसकेको हुँदा अव अन्तिम पटक उत्तरतर्फ धानवमार्ग विस्तार गर्ने काममा ढिलो नगर्न आग्रह गर्नुभयो । उहाँले उत्तरतर्फ रहेको अमरज्योति माविलाई अन्यत्र स्थानान्तरण गरी सरकारले नै विद्यालय निर्माण गर्नुपर्ने, पीडितहरुलाई सरकारी दरभन्दा पनि चलनचल्तीको क्षतिपूर्ति दिएर धावनमार्ग विस्तार गर्न सुझाव दिनुभयो । यस कामको सुरुवात गर्न नगरपालिकालाई आग्रह गर्दै उहाँले अव विगतको कुरा नहेरी भविष्यतर्फ मोडिन ध्यानाकर्षण गराउनुभयो ।
अमरज्योति माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्णप्रसाद पौडेलले प्रभावित बासिन्दाहरुलाई न्यायोचित क्षतिपूर्ति र विमानस्थल पायक पर्ने स्थलमा स्थानान्तरण गरी निर्माण गरिदिएमा धावनमार्ग विस्तार सम्भव भएको बताउनुभयो । उहाँले पटक पटक धावनमार्ग विस्तार गर्ने भन्दै जनतालाई तनाव दिने काम भइरहेको टिप्पणी गर्नुभयो ।
अमरज्योति माविका प्रधानाध्यापक खगेन्द्र थापाले विद्यालय कहिल्यैपनि विमानस्थल विस्तारको बाधक नभएको बताउनुभयो । उहाँले उपयुक्त स्थानमा जग्गा र भवन बनाइदिएमा विमानस्थल विस्तार गर्न सकिने उल्लेख गर्नुभयो । साथै उहाँका अनुसार विमानस्थल विस्तारको कामको जिम्मा संघीय सरकारले लिनुपर्नेछ ।
वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान प्रमुख देवकुमार सुवेदीले आफू विमास्थल धावनमार्गको सँधै पक्षमा रहेको बताउनुभयो । उहाँले आफू नगर प्रमुख हुँदा धावनमार्ग विस्तार नहुने देखिएपछि प्रभावितहरुको आग्रह अनुसार नगरपालिकाले विस्तारको फाइल क्लोज गर्नुपरेको प्रष्ट्याउनुभयो । यद्यपि उक्त निर्णय सच्याउन आग्रह गर्दै सुवेदीले अवले यस विमानस्थल धावनमार्ग विस्तारका लागि सक्ने सहयोग गर्ने जनाउनुभयो ।

नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले विगतमा तीन तहका सरकारले विमानस्थल धावनमार्ग विस्तारको मुद्धालाई प्राथमिकतामा नपरेको बताउनुभयो । उहाँले प्राविधिहरुको राय अनुसार कति मिटर विस्तार गर्नुपर्छ एकीन गर्न समेत सुझाव दिनुभयो । सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले प्रदेशको समृद्धि र विकासमा राजनीति इगो नराख्न आग्रह गर्नुभयो ।
पूर्वमन्त्री एवं कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलले धावनमार्ग विस्तारलाई साझा बनाएर अगाडि बढिएको बताउनुभयो । उहाँले सुर्खेत विमानस्थललाई नाफाको विमानस्थल बनाउनका लागि सवैवीच एकता हुनुपर्ने औंल्याउनुभयो । प्रतिनिधिसभा सदस्य हृदयराम थानीले सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारमा आफू विगतदेखि अहिलेसम्म पनि लागिरहेको बताउनुभयो । उहाँले यो विमानस्थलको स्तरोन्नतिका लागि सवैलाई एकैठाउँमा आउन पनि उहाँले आव्हान गर्नुभयो ।
नगरपालिकाका अवधारणा
यसैवीच विमानस्थल धावनमार्ग विस्तारका सम्वन्धमा वीरेन्द्रनगर नगरपालिकाले आफ्नो अवधारणा सार्वजनिक गरेको छ । नगर प्रमुख मोहनमाया ढकालले यी अवधारणाहरुलाई नगरपालिकाको आगामी कार्यपालिका बैठकबाट पारित गर्ने बताउनुभयो । जस अनुसार सुर्खेत विमानस्थलको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन अति आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश सरकार मार्फत संघीय सरकार सँग माग गर्ने, सुर्खेत विमानस्थलमा सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन सुर्खेत विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिने जग्गा र भौतिक संरचनाको चलनचल्तीको मूल्यमा स्थानीयवासीहरुलाई उचित मुआब्जा उपलब्ध गराउने गरी नीति बनाउन प्रदेश सरकार मार्फत संघीय सरकार सँग माग गरिने भएको छ ।
यस्तै अमर ज्योति नमूना माध्यमिक विद्यालयमालाई सुर्खेत विमानस्थलको विस्तार कार्यलाई सहज र छिटो छरितो गर्नका लागि उक्त विद्यालयलाई उपयुक्त स्थानमा तत्काल स्थानान्तरण गर्न योजना र कार्यक्रम सहित पहलकदमी लिन प्रदेश सरकार सँग सम्झौता गर्ने, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर र कर्णाली प्रदेश अन्तर्गत रहेका विमानस्थल र नजिक रहेका विमानस्थलमा सुर्खेत विमानस्थलवाट नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकार सँग माग गर्ने र आवश्यक पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गर्ने, विमानस्थलमा यात्रु विश्रामदेखि अन्य भौतिक संरचनाको व्यवस्था नभएको हुँदा तत्काल टर्मिनल भवन, यात्रु वस्ने स्थान, व्यवस्थित शौचालय लगायत आवश्यक भौतिक संरचना निर्माण गर्न नेपाल उड्डन प्राधिकरण सँग माग गर्ने र यस सर्वदलीय तथा सर्वपक्षीय वैठकवाट गरिएका निर्णयहरु कार्यपालिकाको बैठक मार्फत कार्यान्वयनका लागि अगाडि वढाउन सम्वन्धित निकायमा अनुरोध गरिने भएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap