१७ बैशाख २०८१, सोमबार

कठ्याङ्ग्रिदो चिसोमा भूकम्प प्रभावितलाई न्यानो कपडा, अपांगता भएकाहरुलाई सहायता सामग्री, महिलालाई मनोपरामर्श

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कठ्याङ्ग्रिदो चिसोमा भूकम्प प्रभावितलाई न्यानो कपडा, अपांगता भएकाहरुलाई सहायता सामग्री, महिलालाई मनोपरामर्श
0 Shares

सुर्खेत ।

भूकम्पबाट प्रभावित रुकुम पश्चिमको आठविसकोट नगरपालिका—१२ का ठूलीबार्कुका दृष्टिविहीन खगेन्द्र कामी लुगलुक काँपेर लठ्ठी टेक्दै वडा कार्यालयमा आउनुभयो । भूकम्पले घर चर्किएर बस्न नमिल्ने भएपछि उहाँ अहिले त्रिपालमा बस्दै आउनुभएको छ । हिउँदको चिसोले त्रिपालभित्र शीतको पानी झर्ने गरेको छ । त्रिपाल र एक बोरा चामल राहत सहयोग पाएपनि उहाँसँग जाडो छेक्ने न्यानो कपडा छैन । राती अवेरसम्म आगो ताप्ने र त्यसपछि त्रिपाल मुनि जसोतसो निदाउनुपर्ने बाध्यता उहाँलाई छ ।
सोही वडाका विर्सना पुनमगरलाई पनि हिउँदको जाडोले ज्यानै जान्छ कि भन्ने चिन्ता छ । अस्थायी टहरामा बसेपनि न्यानो कपडा नहुँदा रात परेपछि कसरी सुत्नेहोला भन्ने उहाँ सोचिरहनुहुन्छ । भूकम्पले घर चर्केपछि घरभित्र पस्नै उहाँ डराउनुहुन्छ । हिउँद कटाउने न्यानो लुगा नहुँदा आफूलगायत केटाकेटी र परिवारका अन्य सदस्यहरुलाई पनि लुगलुक काँप्नुपर्ने अवस्था छ ।
आठविसकोट नगरपालिका वडा नं. १२ मा ९५० घरधुरी छन् । सो वडामा भूकम्पबाट घर भत्केर तीन जनाको मात्र मृत्यु भएपनि भौतिक संरचनाको क्षति बढी भएको छ । सरकारी तथा विभिन्न सहयोगी संस्थाहरुले सुरुमा त्रिपाल र केही खाद्यान्न उपलव्ध गराएपनि न्यानो कपडाको अभाव थियो । त्यही अभाव समाधान गर्न आईएनएफ नेपाल साइनिङ अस्पताल सुर्खेतले प्रत्येक परिवारलाई पुग्ने गरी सो वडामा न्यानो कपडा प्रदान गरेको छ ।
साढे चार सय बढी परिवारलाई न्यानो कपडा
पाँच जनाको परिवारसम्मलाई एक सेट र छ जनाभन्दा माथिको परिवारलाई दुई सेट न्यानो कपडा वितरण गरेपछि सो वडाका भूकम्प प्रभावितहरुले औधि खुसी व्यक्त गरेका छन् ।

एक सेटमा एक थान सिरानी, एक थान डसना, एक थान फाइबरको सिरक, ऊनीको टोपी र तन्ना छ । हिउँदको कठ्याङ्ग्रिदो जाडोसँगै भूकम्पबाट प्रभावितहरुको अवस्था झनझन कष्टकर बन्दै गएको बेला आफूहरुले पहिलो पटक यति धेरै न्यानो कपडा पाएको प्रतिक्रया उनीहरुले दिएका छन् । सो वडामा २६० घरपरिवारलाई न्यानो कपडा वितरण गर्ने लक्ष्य भएपनि साढे चार सय बढी परिवारले कम्तीमा एक÷एक सेट न्यानो कपडा पाएका छन् ।
दृष्टिविहीन खगेन्द्र कामीले पहिलो पटक न्यानो कपडा पाएको बताउनुभयो । उहाँले यो न्यानो कपडाले अहिलेको चिसो थेग्ने जनाउनुभयो । सो वडाका अन्य प्रभावितहरुले सरकारसँग हिउँदमा न्यानो कपडा उपलव्ध गराउन माग गरेका छन् । कम्मे कुसारीले पुस माघमा अझ बढी जाडो हुने भएकोले सरकारी तथा गैरसरकारी संस्थाबाट न्यानो कपडा उपलव्ध गराउनुपर्ने माग गर्नुभएको छ । भूकम्पबाट बचेपनि न्यानो कपडाको अभावमा जाडोबाटै मर्ने हो कि भन्ने चिन्ता सवैलाई लागेको उहाँले बताउनुभयो ।
आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीले प्राथमिकताका आधारमा प्रभावितहरुलाई खाद्यान्नलगायत अन्य लताकपडाहरु उपलव्ध गराइएको दावी गर्नुभयो । उहाँले सो नगरपालिकाका वडा नं. ११, १३ र १४ भूकम्पबाट बढी प्रभावित भएको हुँदा त्यसमा केन्द्रीत भएपछि अहिले अन्य वडाहरुमा पनि लगत लिइ प्राथमिकताका साथ राहत वितरणका साथै अस्थायी टहरा निर्माणको काम जारी राखिएको जानकारी दिनुभयो । सहयोगी संघसंस्थाहरुलाई पनि नगरपालिकाको सुझावका आधारमा राहत वितरण गर्न निर्देशन दिइएको भन्दै उहाँले न्यानो कपडा पहिलो पटक प्रभावितहरुलाई उपलव्ध गराइएको उल्लेख गर्नुभयो ।

आईएनएफ नेपाल साइनिङ अस्पताल सुर्खेतका विपद परियोजना संयोजक शुक्र विकले वडा नं. १२ का विभिन्न बस्तीका साढे चार सय बढी परिवारलाई न्यानो कपडा प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले जाडो बढ्दै जाँदा भूकम्प प्रभावितहरुको दैनिक थप कष्टकर भएको स्थलगत अध्ययनपछि नगरपालिकाको समन्वयमा सो वडामा आईएनएफले न्यानो कपडा कार्यक्रमबाट उक्त सामग्री प्रदान गरिएको बताउनुभयो । त्यसअघि छिमेकी जाजरकोटको नलगाड नगरपालिकाका ४१० घरपरिवारलाई सोही सामग्री प्रदान गरिएको उहाँले जनाउनुभयो ।
अपांगता भएका व्यक्तिलाई सहायता सामग्री
सो क्रममा आईएनएफले भूकम्प प्रभावित अपांगता भएका व्यक्तिहरुलाई सहायता सामग्री पनि प्रदान गरेको छ । आईएनएफ नेपाल साइनिङ अस्पतालका फिजियोथेरापिष्ट मनोजसिंह ठकुरीले अपांगता भएका व्यक्तिहरुलाई जाँच गरी आवश्यक सहायता सामग्री प्रदान गरेको आईएनएफ नेपाल साइनिङ अस्पतालका कुष्ठरोग इन्चार्ज उदयनाथ योगीले बताउनुभयो ।

उहाँका अनुसार ४९ वटा सहायता सामग्री प्रदान गरिएको छ । धेरैजसोलाई लठ्ठी र बैशाखी प्रदान गरिएको छ । सहायता सामग्रीले अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरुलाई हिंडडुल गर्न सहज हुने विश्वास उक्त व्यक्त गर्नुभयो । जटिल समस्या भएका व्यक्तिहरुलाई भने सुर्खेतस्थित साइनिङ अस्पतालमा आउन भनिएको फिजियोथेरापिष्ट मनोजसिंह ठकुरीले बताउनुभयो ।
महिलालाई मनोपरामर्श
यसैगरी न्यानो कपडा वितरण गर्ने क्रममा उपस्थित महिला तथा किशोरीहरुलाई मनोपरामर्श दिइएको छ ।

साइनिङ अस्पतालका मनोपरामर्शकर्ता अनिता क्षेत्रीले दुई दिनको अवधिमा करिव ५० जना महिला तथा किशोरीहरुलाई सामूहिक तथा एकल रुपमा मनोपरामर्श दिएको बताउनुभयो । उहाँले महिला तथा किशोरीहरुमा अझैपनि भूकम्पको त्रास हट्न नसकेको पाइएको जनाउनुभयो । घर कसरी बनाउने, परिवारको लालनपालन कसरी गर्ने, भूकम्प आइरहेको जस्तो महसुस हुने समस्या देखिएको क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार अझैपनि भूकम्प प्रभावितहरुलाई मनोपरामर्शको आवश्यकता रहेको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap