१७ बैशाख २०८१, सोमबार

सुरक्षित गर्भपतन सेवामा जनशक्ति अभाव

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
सुरक्षित गर्भपतन सेवामा जनशक्ति अभाव
0 Shares

तृप्ति शाही÷सुर्खेत
सुर्खेतको अवलचिङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतन सेवाका लागि जनशक्तिको व्यवस्थापन थियो । तर, कर्मचारी समायोजन पछि उक्त जनशक्ति अन्यत्र सरुवा भएपछि भने अहिले स्वास्थ्य केन्द्रले गर्भपतनसम्बन्धी सेवा प्रवाह गर्न सकेको छैन ।


यसअघि स्वास्थ्य केन्द्रमा उपलब्ध जनशक्तिमा दीपा खत्री हुनुहुन्थ्यो । उहाँ सरुवा भएर अन्यत्र जानुभयो । त्यसपछि स्वास्थ्य चौकीमा जनशक्ति भनेकै मेनका शाही हुनुहुन्छ । उहाँ पनि अहिले अध्ययन बिदामा हुनुहुन्छ । जनशक्ति नभएपछि अहिले अवलचिङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतन सेवा उपलब्ध छैन । दशरथपुर प्राथमिक स्वास्थ्य केन्द्रमा समेत यस्तै समस्या थियो । समायोजन पछि कर्मचारी हाजिर भएपछि भने यो संस्थाले अर्का एक अनमीलाई गर्भपतसम्बन्धी तालिम दिएर सेवा प्रवाह गरिरहेको छ । छिन्चु स्वास्थ्य चौकीमा भने हाल औषधिको विधिद्वारा गरिने १० हप्तासम्मको मात्र सेवा प्रवाह भइरहेको छ ।
सुर्खेतमा १९ वटा स्वास्थ्य संस्थाहरु सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत भएका छन् । जसमध्ये १२ वटा स्वास्थ्य संस्था सरकारी छन् । तर, कर्मचारी समायोजन पछि भने यी सबै सरकारी संस्थामा सुरक्षित गर्भपतन सम्बन्धीको सेवा उपलब्ध छैन । कर्मचारी समायोजन पछि स्वास्थ्य संस्थामा तालिमप्राप्त जनशक्ति अभाव भएको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले बताउनुभयो ।
सुरक्षित गर्भपतन सेवा प्रदान गर्न स्वास्थ्य संस्था र त्यहाँ कार्यरत जनशक्ति समेत सूचीकृत हुनुपर्ने हुन्छ । यो सेवा प्रदान गर्ने जनशक्तिले गर्भपतन सेवा सम्बन्धीको विशेष तालिम लिएको हुनुपर्छ । तर, सुर्खेतमा सूचीकृत भएका स्वास्थ्य संस्थामा तालिम लिएका जनशक्ति अन्यन्त्र गएपछि सेवा प्रवाहमा समस्या भएको हो । गौतमले भन्नुभयो, ‘कर्मचारी समायोजनका समयमा यस्ता खाले तालिम लिएका जनशक्तिका विषयमा समेत हेर्नु पथ्र्याे । समायोजनमा यी विषय ख्याल नगरिँदा सूचीकृत संस्था र जनशक्ति फरक परेका छन् । ’
कर्णाली प्रदेशभर हेर्ने होभने कर्णालीमा ६७ वटा बढी स्वास्थ्य संस्था सुरक्षित गर्भपतनका लागि सूचीकृत भएका छन् । जिल्लागत सूचीकृत भएका स्वास्थ्य संस्था हेर्ने होभने कालीकोटमा सबैभन्दा बढी २० वटा रहेका छन् । यस्तै, सुर्खेतमा १३, दैलेखमा १३, मुगुमा नौ, सल्यानमा ५, जुम्लामा २, हुम्लामा १, रुकुमपश्चिममा २, जाजरकोटमा १ र डोल्पामा १ स्वास्थ्य संस्था सुरक्षित गर्भपतनका लागि सूचीकृत भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ । कर्णालीभर सुरक्षित गर्भपतनसम्बन्धी कति जनाले तालिम लिएका छन् भन्ने एकीन तथ्यांक निर्देशनालयसँग छैन ।
निर्देशनालयका निमित्त निर्देशक दीपा भट्टराईका अनुसार गत वर्ष कर्णालीभर चार हजार ८६० जनाले सुरक्षित गर्भपतन गराएका छन् । यो संख्या अन्य प्रदेशको तुलनामा बढी हो । निर्देशनालयको तथ्यांकमा गर्भपतन गराउनेमा १५ वर्षमाथि र १९ वर्षमुनिका उमेर समूहका किशोरीको संख्या बढी छ । कानुनमा समेत सुरक्षित गर्भपतन सेवालाई महिलाको अधिकारका रूपमा व्याख्या गरिएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १५ ले महिलाले सुरक्षित गर्भपतन गर्न पाउने व्यवस्था गरेको छ । गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भ सुरक्षित गर्भपतन गराउन सकिन्छ । यसका साथै गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्ने वा विकलाङ बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सकको राय÷सल्लाह भएमा महिलाको मञ्जुरी बमोजिम २८ हप्तासम्मको समेत गर्भपतन गराउन सकिने ऐनमा व्यवस्था छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap