१५ बैशाख २०८१, शनिबार

सुर्खेतमा १३७ महिला घरमै सुत्केरी

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
सुर्खेतमा १३७ महिला घरमै सुत्केरी
0 Shares

सिर्जना बुढाथोकी/सुर्खेत

कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत स्वास्थ्यका दृष्टिले निकै सुगम छ । प्रदेश अस्पताल–सहित दुई वटा ठूला सरकारी अस्पताल, स्वास्थ्य चौकी ४७, आधारभूत स्वास्थ्य सेवा केन्द्र ४५, प्रयोगशाला भएका स्वास्थ्य संस्था २६ वटा छन् ।


कूल ९९ वटा वडा रहेको सुर्खेतमा स्वास्थ्य संस्था नभएको वडा छैन । सवै वडामा स्वास्थ्य संस्था छ तर गत आर्थिक वर्षमा १३७ जनामहिला घरमै सुत्केरी हुन पुगेका छन् । स्वास्थ्य संस्थामा सुरक्षितरुपमा प्रसुति गराउन विभिन्न कार्यक्रमहरु संचालन भएपनि प्रदेश राजधानी भएको जिल्लामा समेत त्यो जनचेतना पुग्न सकेको छैन । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतसँग गत आर्थिक वर्षमा १३७ जना महिला घरमै सुत्केरी भएको तथ्यांक छ ।
नौ वटा स्थानीय तह रहेको सुर्खेतमा विशेषगरी ग्रामीण र दुर्गम पालिकामा घरमै सुत्केरी हुने पाइएको छ । पश्चिमको पालिका चौकुनेमा सवैभन्दा धेरै ५१ जना महिला घरमै सुत्केरी भएका छन् । त्यसपछि भेरीगंगा नगरपालिकामा २२ जना, पंचपुरी नगरपालिकामा २० जना बराहताल गाउँपालिकामा १६ जना महिला घरमै सुत्केरी भएका छन् । यद्यपि प्रदेश अस्पतालसमेत रहेको वीरेन्द्रनगर नगरपालिकार्म १३ जना महिला घरमै सुत्केरी भएको कार्यालयले जनाएको छ ।
कार्यालयका उदय विसीले सो अवधिमा पाँच वर्ष मुनिका ५१ जना बालबालिका र दुई जना आमाको पनि मृत्यु हुनपुगेको बताउनुभयो । घरमा सुत्केरी गराउँदा जोखिम हुन्छ भन्ने जान्दाजान्दै पनि लापरबाही, हेलचेक्र्याईले गर्दा अझैपनि घरमै सुत्केरी हुने चलन कायमै रहेको उहाँले जनाउनुभयो । उहाँले सवै सुत्केरीलाई स्वास्थ्य संस्थामा प्रसुति गराउने लक्ष्य भएपनि पूरा गर्न नसकिएको दुःखेसो पोख्नुभयो । यसमा पनि दुर्गम पालिकाका बालबालिका नै पाँच वर्ष नपुगी मृत्यु भएको छ । सवैभन्दा धेरै बराहताल गाउँपालिकामा १५ जना, चौकुने र सिम्ता गाउँपालिकामा ११/११ जना बालबालिकाको मृत्यु भएको उहाँले जनाउनुभयो ।
यतिमात्र होइन, सुर्खेतमा २० वर्ष मुनि सुत्केरी हुनेको संख्या २१ प्रतिशत छ । २० वर्ष नपुगी विहे गर्नुहुँदैन भनिएपनि सुर्खेतमा २० वर्ष मुनि नै सुत्केरी हुने २१ प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । यसलाई कार्यालयले चिन्ताजनक अवस्था मानेको छ । कार्यालयका प्रमुख गणेशभक्त गौतमले विहे नगर्ने उमेरमा सुर्खेतमा सुत्केरी हुने चलन रहेको बताउनुभयो । उमेर नपुग्दै सुत्केरी भएमा महिला तथा शिशुको स्वास्थ्य जोखिममा पर्ने उहाँको भनाइ छ । यस्ता विषयमा थप कार्यक्रम गर्नुपर्ने र ग्रामीण तहसम्म जनचेतनाको विकास गराउनुपर्ने जिम्मेवारी बढेको उहाँले जनाउनुभयो ।
सुर्खेतमा बालबालिकाको खोप कभरेज भने निकै राम्रो रहेको कार्यालयको दावी छ । सुर्खेतमा खोप कभरेज १११ प्रतिशत रहेको जनाइएको छ । कार्यालय प्रमुख गौतमले सवै बालबालिकाले लक्ष्यभन्दा पनि बढी खोप पाएको जानकारी दिनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap