१५ बैशाख २०८१, शनिबार

लक्षित वर्गका लागि बजेट छुट्याउन अझै कन्जुस्याईँ

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
लक्षित वर्गका लागि बजेट छुट्याउन अझै कन्जुस्याईँ
0 Shares

सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिकाका महिला तथा दलित महिला जनप्रतिनिधिहरुले लक्षित वर्गका लागि बजेट छुट्याउन अझै कन्जुस्याईं गरिएको आरोप लगाएका छन् । नगरपालिकाले भौतिक पूर्वाधार विकासलाई मात्र प्राथमिकता दिने तर लक्षित वर्गका लागि बजेट छुट्याउन कन्जुस्याईँ गर्दा संघर्षमा उत्रनुपरेको उनीहरुको भनाइ छ ।


दलित महिला संघ सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा आयोजना गरेको तीन दिने दलित विपन्न महिला तथा जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि तालिमको समापनमा महिला तथा दलित जनप्रतिनिधिहरुले लक्षित वर्गका लागि बजेट पर्याप्त छुट्याउनुपर्ने मागसमेत गरेका छन् ।
नगरपालिकाको सामाजिक विकास समितिका संयोजक टिका घलेले लक्षित वर्गको लागि कहिल्यै पनि पर्याप्त बजेट नपाइने गरेको स्मरण गर्नुभयो । उहाँले महिला, दलित, आदिवासीको क्षेत्रमा बजेट छुट्याउने, योजना प्राथमिकतामा पार्नका लागि आफूहरुको भूमिका थप क्रियाशील रहने बताउनुभयो ।
नगर कार्यपालिका सदस्य तृप्ति विकले पूर्वाधारको विकासलाई मात्र विकास ठान्ने सोचले लक्षित वर्गहरु ओझेलमा परेको बताउनुभयो । उहाँले लक्षित वर्गमा बढी बजेट छुट्याउनका लागि आफूहरु अग्रसर भएको जनाउनुभयो ।
महिला सदस्य सरस्वती रोकायले विगतको तुलनामा अहिले केही सुधार भएपनि पर्याप्तमात्रामा बजेट नछुट्याउने गरेको पाइएको उल्लेख गर्नुभयो । उहाँले नगरपालिका तथा वडाअध्यक्षहरु लक्षित वर्गको सवालमा संवेदनशील हुनुपर्ने सुझाव दिनुभयो । नगर कार्यपालिका सदस्य सन्ध्या परियारले पनि लक्षित वर्ग अझै प्राथमिकतामा पर्न नसकेको दावी गर्नुभयो । लक्षित वर्गलाई उकास्न सके पो सवै क्षेत्रको सशक्तिकरण हुने हुँदा नीति निर्माणमा बस्नेहरुले लक्षित वर्गप्रति संवेदनशील हुनुपर्ने उहाँले जनाउनुभयो ।


दलित महिला संघका अध्यक्ष मन्जु सुनारले नीति निर्माण गर्ने तहमा लक्षित वर्गको पहुँच नहुँदा पछाडि पारिएको जिकिर गर्नुभयो । दलित, महिला, आदिवासीहरुको पक्षमा आवाज उठाउन महिला तथा दलित जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने हुँदा उनीहरुलाई सशक्तिकरण गर्न क्षमता अभिवृद्धिको तालिमको आयोजना गरिएको जनाउनुभयो । आगामी स्थानीय तहमा पनि वीरेन्द्रनगरमा महिला वडाअध्यक्षहरुको संख्या बढाउन पनि उहाँले सुझाव दिनुभयो ।
तीन दिनसम्म आयोजना गरिएको तालिममा उमाशंकर आचार्य, अधिवक्ता गीता कोइराला, मन्जु सुनार, तेजप्रसाद रिमाल, टंकप्रसाद लामिछानेले नेतृत्व विकास, योजना तर्जुलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । तालिममा वीरेन्द्रनगर नगरपालिकाका १६ वटा वडाका दलित महिला सदस्य, महिला सदस्य तथा कार्यपालिकाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap