१५ बैशाख २०८१, शनिबार

औषधिको जथाभावी प्रयोगबाट सुसुप्त महामारीको संकेत

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
औषधिको जथाभावी प्रयोगबाट सुसुप्त महामारीको संकेत
0 Shares

 

सिर्जना बुढाथोकी ।

सामान्य बिरामी परेपनि चिकित्सकको सल्लाह नै नलिएर बारम्बार प्रयोग गर्ने औषधिले विश्वमै सुसुप्त महामारीको रुप लिन थालेको तथ्य सार्वजनिक भएको छ । बिरामीले एन्टिबायोटिकका रुपमा प्रयोग गर्ने विभिन्न औषधिले पछिल्लो समय काम गर्न छाड्दै गएपछि प्रतिजैविक प्रतिरोध (एएमआर) बढ्दै गएपछि स्वास्थ्य संकट निम्तिन सक्ने जोखिम बढेको हो ।


बुधबार वीरेन्द्रनगरमा युएसएआईडीको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको एन्टिमाइक्रोबाएल रेजिस्टेन्स (एएमआर)सम्बन्धी कार्यशालामा प्रस्तुति दिँदै युएसएडको एमट्याब्स परियोजनाका सिनियर टेक्निकल एड्भाइजर डा. सन्तोष दुलालले एन्टिबायोटिकको जथाभावी प्रयोग नरोक्ने होभने महामारी फैलन समय नलाग्ने बताउनुभयो ।
उहाँका अनुसार विश्वमा एक वर्षको अवधिमा ७७ लाख मानिसले एन्टिवायोटिकको जथाभावी प्रयोगका कारण ज्यान गुमाइरहेका छन् । ‘धेरै वर्ष अगाडिदेखि हामीले प्रयोग गर्दै आएका एन्टिवायोटिकले अब काम गर्न छाडीसकेका छन्,’ उहाँले भन्नुभयो, ‘त्यसैले नै अब प्रतिजैविक प्रतिरोध बढ्दै गएको छ, यसैका कारण नै एएमआरको अवस्था आएको हो अर्थात् औषधिले काम गर्न छाडे ।’ पहिला कीटाणु मार्न प्रयोग हुने एन्टिवायोटिकले नै अहिले काम गर्न छाडेपछि जनस्वास्थ्यमा नै संकट देखिएको उहाँको भनाइ छ ।
बढ्दै गइरहेको एएमआरको अवस्था बढ्दै गएको खण्डमा सन् २०५० सम्ममा विश्वका एक करोड मानिसले ज्यान गुमाउन सक्ने तथ्य रिभ्यू अन एन्टिमाइक्रोवियल रेसिस्टेन्स, २०१४ मा भएको अध्ययनले देखाएको छ । उक्त अध्ययनमा सन् २०५० सम्मएसियामा मात्रै ४७ लाख ३० हजार नागरिकले ज्यान गुमाउने उल्लेख गरिएको डा. दुलालले जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एएमआरलाई विश्वव्यापी जनस्वास्थ्य खतराहरुमध्ये एक खतरामा राखेको छ । नागरिकले प्रयोग गर्ने कुल एन्टिवायोटिकमध्ये ५० प्रतिशत एन्टिवायोटिक अनावश्यक रुपमा प्रयोग भइरहेको एएमआरसम्बन्धी भएको विश्वव्यापी अध्ययनले जनाएको छ । ग्लोबल रिसर्च अन एन्टिमाइक्रोवियल रेसिस्टेन्स (ग्राम) का अनुसारविश्वमा व्याक्टेरियाको संक्रमणका कारण विश्वमा आठमध्ये एक जनाको मृत्यु भइरहेको छ । चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक औषधिका सेवन गर्दा विश्वमा वर्षेनी रुपमा १२ लाख २७ हजारको मृत्यु भइरहेको छ ।
विश्व वैंक ग्रुपले सन् २०१७ मा गरेको अध्ययनले सन् २०३० सम्ममा थप दुई करोड ४० लाख मानिस चरम गरिबीमा पुग्ने उल्लेख गरेको छ । अध्ययनको बारेमा जानकारी दिँदै डा. दुलालले विश्व अर्थतन्त्रमा सय खर्ब अमेरिकी डलर आर्थिक भार पर्ने बताउनुभयो । सन् १९४० देखि सन् २०२० सम्म मात्रै विभिन्न १४ प्रकारका एन्टिवायोटिक काम नलाग्ने भएको उहाँको भनाइ छ ।
कार्यक्रममा एएमआर रोकथामका लागि सबैको ऐक्यवद्धता हुनुपर्नेमा पनि जोड दिइएको छ । जुनसुकै एन्टिवायोटिक चिकित्सकको सिफारिसमा मात्रै प्रयोग गर्ने, बाँडेर नखाने, सरसफाईमा ध्यान दिने र बिरामीसँग दुरी कायम गर्नेबारे कार्यक्रममा जानकारी दिइएको थियो ।
कार्यक्रममा एन्टिवायोटिक डा. विवेका श्रेष्ठले एएमआरले लैङ्गिक दृष्टिकोणबाट पनि असर पार्ने जानकारी दिनुभयो । उहाँका अनुसार विश्वव्यापी रुपमा अग्रपंक्तिमा काम गर्ने ७० प्रतिशत महिला स्वास्थ्यकर्मी एएमआरको जोखिममा हुने गरेका छन् । लैंगिक हिंसा हुने ठाउँमा यौन रोग र एएमआरको जोखिम हुने उहाँको भनाइ छ । ‘कुन व्यक्तिले के काम गर्छ भन्ने कुराले पनि शंका निर्धारण गर्छ,’ उहाँले भन्नुभयो, ‘उपचारमा हुने लैङ्गिक भेदभावले पशुबाट सर्ने संक्रमण र एएमआर दुबै बढाउन भुमिका खेल्दछ, कतिपय ठाउँमा अहिले पनि छोरीलाई भन्दा छोरालाई बढी प्रोटिनयुक्त खानेकुरा दिइन्छ त्यसैले पशुमाहुने एन्टिबायोटिक रेसिस्टेन्स छोरामा सर्ने जोखिम धेरै हुन्छ ।’
शिक्षा तथा जनचेतनाको अभावका कारणले सामान्य स्वास्थ्य समस्यामा पनि एन्टीबायोटिक औषधि सेवन गर्ने चलन रहेको भन्दै उहाँले नेपालको सन्दर्भमा महिलाहरू बढी मात्रामा पीडित हुनु परेको बताउनुभयो । ‘पुरुषहरू पनि यसको असरबाट पीडित भएपनि महिला तुलनात्मक रुपमा बढी रहेका छन्,’ उहाँले भन्नुभयो, ‘यसको बिक्री वितरण तथा सेवनमा रोक लगाउन आवश्यक छ ।’
कार्यक्रममा डा. दुलालले विश्वभर खपत हुनेमध्ये एक तिहाई एन्टिवायोटिक पशुमा प्रयोग हुने जानकारी दिनुभयो । उहाँका अनुसार ६६ दशमलव ४ प्रतिशत एन्टिवायोटिकमध्ये पशुमा ३३ दशमलव ६ प्रतिशत एन्टिवायोटिक प्रयोग हुन्छ । पशुपन्छीको स्याहारसुसार प्रयोग हुने एन्टिमाइक्रोबियल नै जनावरहरूमा औषधिको असर नहुने ब्याक्टेरियाको विकास हुने र प्रत्यक्ष सम्पर्क वा संक्रमित पशुको मासु, अन्डा र दुध खाँदा मानिसमा पनि असर गर्ने उहाँले बताउनुभयो । प्रतिरोधी ब्याक्टेरियाबाट हुने संक्रमणको उपचार गर्न निकै गाह्रो र महँगो हुँदा यसले जनस्वास्थ्यमा गम्भीर असरहरू निम्त्याउने डा. दुलालको भनाइ छ ।
कार्यक्रममा कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्काले एन्टिबायोटिक औषधिको प्रयोगले मान्छेमा रोग प्रतिरोधी क्षमतामा कमी आउन थालेको र यसले मृत्युदर पनि बढाएको बताउनुभयो । एन्टिबायोटिक औषधिको जथाभावी सेवन गर्ने प्रवृत्तिका कारणले औषधिले पनि काम गर्न बन्द गर्ने गरेको उहाँको भनाइ छ ।
पहिला विश्वमा एन्टीबायोटिक औषधि बनाउनमा वैज्ञानिकहरु लागेको र अहिले त्यो औषधिका कारणले विश्वमा स्वास्थ्य समस्या रुपमा रहेको युएसएआइडी एमट्याप्स कार्यक्रम नेपालका कन्ट्रि प्रोजेक्ट निर्देशक डा. बिर्ना ट्र्यापले बताउनुभयो । ‘अहिले विश्वमा एन्टिबायोटिक औषधि प्रयोगले भयावह रुप लिएको छ,’ उहाँले भन्नुभयो, ‘यो औषधि प्रयोगका विषयमा विश्व सचेत हुन आवश्यक छ कि एन्टीबायोटिक औषधि जथाभावी प्रयोग गर्न हुँदैन ।’
युएसएआइडीका अर्जुन अधिकारीले एएमआरका विषयमा खोजमुलक स्टोरी प्रकाशन गरी समाजमा यसबारे जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो । पत्रकारले लेखेका समाचारले पछिल्लो समय साइलेन्ट रुपमा महामारीको रुप लिँदै गरेको एएमआरबारे नागरिकले थाहा पाएर जथाभावी एन्टिवायोटिक प्रयोग गर्नबाट सजग गराउने उहाँको भनाइ छ ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap