१५ बैशाख २०८१, शनिबार

सुर्खेत उपत्यकाको खानेपानी समस्या टार्न चार अर्ब बढीको परियोजना

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
सुर्खेत उपत्यकाको खानेपानी समस्या टार्न चार अर्ब बढीको परियोजना
0 Shares

सुर्खेत।
खानेपानीको चर्को अभाव भोग्दै आएको कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकामा पानीको समस्या टार्न भेरीको पानी लिफ्ट गरेर ल्याउने परियोजना तोकिएको समयभित्रै काम सम्पन्न गर्न सुझाव दिइएको छ । वीरेन्द्रनगर नगरपालिकाले सर्वपक्षीय भेला गरी सवैले उक्त परियोजना तोकिएको अवधिभित्रै पूरा गर्न सुझाव दिएका हुन् ।


६ वर्षे परियोजनाको सम्झौता २०७९ भदौ १६ गते भएको हो । खानेपानी विभाग, वीरेन्द्रनगर नगरपालिका तथा विश्व बैंकसँग उक्त सम्झौता भएको हो । भेरी नदीको पानीलाई लिफ्ट गरेर वीरेन्द्रनगर नगरपालिका—९को अमृतडाँडामा संकलन गरी सुर्खेत उपत्यकामा वितरण गर्ने महत्वकांक्षी परियोजना तोकिएको अवधिभित्रै पूरा गर्नुपर्ने चुनौती पनि छ । अहिले उक्त परियोजनाका डिपिआर भइरहेको छ । आगामी असारमा कामको टेण्डर निकाल्ने तयारी भइरहेको छ ।
परामर्शदाता इन्जिनियर प्रशान्त मल्लले सन् २०५० सम्म सुर्खेत उपत्यकाको जनसंख्या तीन लाख ८४ हजारलाई लक्षित गरी भेरीको पानी लिफ्ट गरी ल्याउने योजना तयार भइरहेको बताउनुभयो । उहाँका अनुसार भेरी नदीमा ५.५० किलोवाट क्षमताका पाँच वटा पम्पबाट पानी लिफ्ट गरिनेछ । अमृतडाँडामा तीन हजार लिटरका तीन वटा ट्यांकी निर्माण गरिनेछ । उक्त परियोजनाका लागि चार अर्व ६५ करोड ३० लाख ६६ हजार लागत लाग्नेछ । उक्त परियोजनाका लागि ३३ केभिए विद्युत लाइन पनि आवश्यक पर्दछ । यदि ३३ केभिए विद्युत नभए भेरीको पानी लिफ्ट हुन नसक्ने इन्जिनियर मल्लले बताउनुभयो ।
आयोजना कार्यान्वयन गरिरहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका सनियर डिभिजनल इञ्जिनियर (सीडीई) मधुसुदन खनालले ठूलो लगानीको परियोजना भएकोले यसमा सवैको सुझाव आवश्यक रहेको बताउनुभयो । उहाँले यो परियोजनामा वीरेन्द्रनगर नगरपालिकाभित्र तीन वटा सामुदायिक वन र लेकबेसी नगरपालिकाभित्रको एउटा सामुदायिक वन क्षेत्र भएकोले सवैको पूर्व सहमति आवश्यक पर्ने उल्लेख गर्नुभयो ।
खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा आव २०७९÷८० देखि संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा एक सय मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अगाडि सारेको छ । जसमा संघीय सरकारले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत लगानी जुटाउनु पर्ने छ । कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले म्युचअल फन्ड अन्तर्गत प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९÷८० मा पाँच करोड रुपियाँ विनियोजन गरेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताउनुभयो ।


भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, अमृतडाँडामा रिजर्भ ट्याङ्की स्थापना गर्ने, अमृत डाडाँदेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारणलाइन विस्तार गर्ने पहिलो चरण अन्तर्गतका कार्य हुन । यसका लागि चार अर्ब खर्च हुने परामर्शदाता मल्ले जानकारी दिनुभयो ।
त्यस्तै, दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत—जुम्ला सडकको दुवैतर्फ प्रसारणलाइन विस्तार गरिनेछ । भेरीको पानी चार सय मिटरमाथि प्रशोधन गर्ने ट्याङ्कीमा खसालेपछि त्यसबाट वीरेन्द्रनगरको अमृतडाँडासम्म करिब सात किलोमिटर लामो पाइप विछ्याइने र ५५० मिलिमिटर वा योभन्दा बढी आकारको पाइप अमृतडाँडामा राखेर मुख्य ट्याङ्कीसम्म जडान गरिने छ ।
यसैवीच उक्त परियोजनाको काम तीव्र गतिमा गर्न सुझाव दिइएको छ । अहिले हप्तामा दुई पटक मात्र पानी आउने गरेको सुर्खेतमा भेरीको पानी ल्याएर समस्या टार्न परियोजना तोकिएको अवधिभित्रै सम्पन्न गर्न सुझाव दिइएको छ । पूर्व मन्त्री एवं कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेललगायत राजनीतिक दललगायत परियोजना छिटो सम्पन्न गर्न आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap