१४ बैशाख २०८१, शुक्रबार

कहाँ हराउँछन् कर्णालीका बालबालिका ?

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य
कहाँ हराउँछन् कर्णालीका बालबालिका ?
0 Shares

सिर्जना बुढाथोकी ।

हुम्लाको अदानचुली गाउँपालिका–५ का कुल टमटाले ०७७ मा आफ्नो छोरालाई राम्रो पढाइदिने आस देखाएपछि आफन्तकै जिम्मामा काठमाडौं पठाउनुभयो । तर उहाँले आफ्नो छोरामाथि शारीरिक शोषण भएको कुरा पत्तै पाउनुभएन । ‘हामीसँग कुरा पनि हुन दिएनन्,’ उहाँले भन्नुभयो, ‘राम्रो होस्टलमा बसालेर पढाइदिन्छु भनेपछि पठाइयो तर छोराले पेटभरि खान पनि नपाएको रहेछ ।’
उहाँका छोरासहित बालगृहमा रहेका विभिन्न जिल्लाका ११ जना जोखिम अवस्थाका बालबालिकालाई बूढानीलकण्ठ नगरपालिका–११ ले उद्धार गरी हिमाली नवीन समाज संस्थालाई जिम्मा लगाएको थियो ।


राम्रो पढाई र सेवा सुविधाको आशमा आफन्तकै फन्दामा परी शोषण भोगेका केही बालबालिकालाई विभिन्न संघ संस्थाले उद्धार गरी फर्काएपनि रुकुम पश्चिमको मुसीकोट नगरपालिका–३ का गोपाल विकलाई कसैले फर्काउन सकेको छैन । साथीसँग सदरमुकाम खलंगा जान्छु भनेर घरबाट हिँडेका उनी अहिलेसम्म फर्किएका छैनन् । उनका बुवा उमलालले छोराका खोजीका लागि धेरै निकाय धाउनुभयो तर सनुवाई भएन । ‘चिनेजानेकादेखि प्रहरी–प्रशासनसम्मलाई हारगुहार गरियो,’ उहाँले भन्नुभयो, ‘छोराकै खोजीमा काठमाडौं, नेपालगन्ज, दाङ सुर्खेतलगायत भारतका विभिन्न ठाउँ पनि पुगेँ तर छोरा भेटिएन ।’ छोराकै पर्खाईमा रहेकी उमलालकी पत्नी पनि छोराकै वियोगमा मानसिक रोगको सिकार हुनुभएको छ । ‘पलपल छोराको सम्झनाले पिरोल्छ, अहिलेसम्म म¥यो या जिउँदो छ, कुनै खबर आएन, उहाँले भन्नुभयो ।’
कर्णालीमा वर्षेनी बालबालिकाहरू हराउने क्रम बढिरहेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो साढे ३ वर्षको अवधिमा कर्णालीमा १ हजार २२५ जना बालबालिका हराएका छन् । यस बिचमा ६६७ जना बालिका र ५५८ बालक हराएको प्रहरीले जनाएको छ । प्रहरीको खोजतलासमा १ हजार १६ बालबालिका भेटिएपनि बाँकीको अवस्था अज्ञात छ ।
कर्णालीमा आर्थिक वर्ष २०७६÷०७७ मा ३२८ जना बालबालिका हराएका थिए । तीमध्ये १६२ बालक र १६६ जना बालिका छन् । त्यसमध्ये १५१ बालक र १५१ जना बालिका फेला परेको परेका छन् । १५ जना बालिका र ११ जना बालक भने अझैं फेला परेका छैनन् ।
आर्थिक वर्ष २०७७÷०७८ मा ३७४ जना बालबालिका हराएका थिए । त्यसमध्ये ३० जना बालिका र १३ जना बालक अझै भेटिएका छैनन् । यसैगरी २०७८÷०७९ मा ४११ जना बालबालिका हराएकोमा १९ बालक र १५ जना बालिका फेला परेका छैनन् । यो वर्ष पनि ११२ जना बालबालिका हराएकोमा ३१ बालक र ४६ बालिका नभेटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यो अवधिमा २०९ जना फेला नपरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधवप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले हराएका बालबालिकाको विवरण खोजतलासका लागि भारतीय सीमा नाका रुपैडिहामा पठाइएको जानकारी दिनुभयो ।
हराएका धेरै बालबालिका भारत जाने गरेको एसएसपी श्रेष्ठले बताउनुभयो । ‘बोर्डर नजिकै भएकाले पनि बालबालिका भारततिर पस्छन्,’ उहाँले भन्नुभयो,‘अभाव, गरिबी, साथीभाइको लहैलहै, विभिन्न प्रलोभनलगायत कारण बालबालिका हराउने क्रम बढेको हो ।’
कर्णालीका बालबालिकालाई सुविधासम्पन्न ठाउँमा लालनपालन र शिक्षा दिने बहानामा सुर्खेत, काठमाडौं, धनगढी, दाङलगायतका विभिन्न गन्तव्यमा लैजाने गरिएको छ । कर्णालीबाट करिब ६० प्रतिशत नागरिक मजदुरीका लागि भारत जाने गरेका छन् । सोही समयमा बालबालिका पनि केही अभिभावकसँगै मजदुरी गर्छन् भने केहीलाई विभिन्न जोखिमपूर्ण काममा लगाउने गरिन्छ । कैलालीको गौरीफन्टाबाट अवैध रूपमा भारत जान लागेका कर्णालीका ७४ बालबालिकालाई चालु आर्थिक वर्षमा रोकिएको माइती नेपालको तथ्यांकमा उल्लेख छ । तीमध्ये ३३ जना बालिका छन् ।
माइती नेपालले गत आर्थिक वर्ष १५७ बालबालिकालाई अवैध रूपमा भारत जान रोकेको थियो, जसमध्ये ५३ जना बालिका थिए । भारत जान खोज्नेमा १३ देखि १५ वर्षका विद्यालय छोडेका बालबालिका धेरै हुने गरेको माइती नेपाल कैलालीले जनाएको छ । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार यही वर्ष गड्डाचौकी नाकाबाट भारत पस्न लागेका कर्णालीका ५१ बालबालिकालाई फर्काइएको छ । माइती नेपालले बाँकेको रुपैडिया नाकाबाट भारत जान लागेका कर्णालीका ६२७ बालबालिकालाई चालु आर्थिक वर्षमा उद्धार गरेको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap