८ बैशाख २०८१, शनिबार

सदरमुकामकै सामुदायिक विद्यालयको दुरावस्थाः एउटै कोठामा कार्यालय र कक्षा ५ को पढाई

अर्थ कर्णाली कला / साहित्य / खेलकुद प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
सदरमुकामकै सामुदायिक विद्यालयको दुरावस्थाः एउटै कोठामा कार्यालय र कक्षा ५ को पढाई
0 Shares

सुर्खेत ।

सामुदायिक विद्यालयको दुरावस्था हेर्न र बुझ्न कर्णालीका विकट र दुर्गम स्थान जानैपर्दैन । सुगम मानिएका ठाउँमै रहेका सामुदायिक विद्यालयको दुरावस्था दुर्गमको भन्दा कम छैन । प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. १ मै रहेको दीपमाला आधारभूत विद्यालयको अवस्था कुनै दुर्गमको भन्दा फरक छैन ।


दुई वटा जीर्ण भवन छन् । एउटा बाल विकास केन्द्र छ । ती सवै गरेर पाँच वटा कोठा मात्र छन् । बालविकास केन्द्रदेखि कक्षा ५ सम्म पढाई हुने सो विद्यालयमा कोठा अभाव भएपछि कक्षा ५ र कार्यालय एउटै कोठामा छ । एउटा कोठाको आधा भागमा प्रधानाध्यापकको कुर्सीसहितको कार्यालय छभने आधा भागमा कक्षा ५ का १५ जना विद्यार्थीहरुलाई पढाइन्छ । कूल विद्यार्थी १५० जना छन् । त्यसमा दलित समुदायका मात्रै ९० जना छन् । शिक्षक चार जना मात्रै छन् ।
विद्यालयका प्रधानाध्यापक मन्जु सुनारले सुगम ठाउँमै भएर पनि विद्यालयको सुधार्नतर्फ कसैको ध्यान जान नसकेको गुनासो गर्नुहुन्छ । एउटा भवन चुहिने छ । नयाँ भवन निर्माणका लागि पहल गरिएपनि कहीँ कतै सुनुवाई हुन नसकेको उहाँले बताउनुभयो । सदरमुकाम वीरेन्द्रनगर नजिकै भएपनि भवनको भौतिक पूर्वाधार विकासमा न अभिभावक, न सम्वन्धित निकायको आँखा नै पुग्न सकेको छ ।
विद्यालयमा धेरैजसो दलित तथा विपन्न परिवारका छोराछोरी अध्ययन गर्छन् । जनजाति समुदायको वीचमा सो विद्यालय छ । उनीहरुका छोराछोरी धेरैजसो निजी विद्यालय तथा बाहिर पढ्छन् । त्यसैले विद्यालयको पूर्वाधार विकासमा विद्यालय रहेको समुदायको चासो छैन । अभिभावकहरु दिनभर मजदुरीमा जाने हुँदा अभिभावकहरुले पनि विद्यालयको विकासमा योगदान दिन नसकेको प्रअ सुनारले बताउनुभयो ।
विद्यालयमा बालविकास सहयोगी कार्यकर्तासहित चार जना शिक्षक छन् । शिक्षक थप गर्न, भौतिक पूर्वाधारमा पहल गर्न कतैबाट पनि सहयोग नपाएको उहाँको भनाइ छ । बाल विकासमा ३३ जना, कक्षा १ मा ३२ जना, कक्षा २ मा ३२ जना, कक्षा ३ मा २२ जना, कक्षा ४ मा १६ जना र कक्षा ५ मा १५ जना विद्यार्थी अध्ययरत छन् । विद्यालयसँग चार कठ्ठा जग्गा छ । कक्षा कोठा निर्माण गर्न सक्ने जग्गा भएपनि भवन बनाउने बजेट नहुँदा पूर्वाधार विकास गर्न नसकेको प्रअ सुनारले बताउनुभयो ।
सहयोगी, शिक्षक, विव्यस सवै महिला
सो विद्यालयमा कार्यालय सहयोगीदेखि शिक्षक तथा विद्यालय व्यवस्थापन समिति सवै महिला छन् । विद्यालयमा चार जना शिक्षक सवै महिला छन् । कार्यालय सहयोगी पनि महिला छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्ष पनि महिला नै छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुना नेपालीले विपन्न गरीव, दलित मजदुरका छोराछोरी पढ्न विद्यालय भएकोले कसैले विकासको चासो दिन नसकेको अनुमान गर्नुभयो । सवै पदाधिकारी महिला भएको विद्यालयलाई प्रोत्साहन गर्नुपर्नेमा त्यो हुन नसकेको उहाँको भनाइ छ ।
अमेरिका बस्ने नेपालीबाट सहयोग
सरकारी तवरबाट विद्यालयमा कुनै सहयोग नभएपनि सामाजिक संघसंस्थाहरुले विभिन्न सहयोग गर्ने गरेका छन् । अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संस्था नासो कम्युनिटी अमेरिकाले विद्यालयमा अध्ययनरत बालबालिका र विद्यार्थीलाई प्रशासनिक कामका लागि दुई लाख रुपियाँ सहयोग गरेको छ ।

सो रकमबाट विद्यालयलाई एक थान कम्प्यूटर, प्रिन्टरसहित विद्यार्थीहरुका लागि किताव तथा स्टेशनरी सहयोग गरिएको छ । कम्युनिटीका नेपाल संयोजक सन्जुसिंह विश्वकर्माले विद्यालय र विद्यार्थीहरुको दुरावस्था देखेर अमेरिका बस्ने नेपालीहरुको संस्थाबाट केही रकम संकलन गरेर स्टेशनरी तथा कम्प्यूटर प्रिन्टर सहयोग गरिएको बताउनुभयो । आगामी दिनमा पनि यस्तै सहयोग जारी रहने उहाँले जनाउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap