११ बैशाख २०८१, मंगलवार

राउटे शिशुको ज्यान जोगाउनै मुस्किल

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
राउटे शिशुको ज्यान जोगाउनै मुस्किल
0 Shares

सिर्जना बुढाथोकी ।

दैलेखको नारायण नगरपालिका–८ मा रहेको राउटे युवती २५ वर्षीया सिलंगी शाहीको ०७८ पुस महिनामा तीन महिने छोराको मृत्यु भयो । सुर्खेतको गुर्भाकोट नगरपालिकामा वस्ती बसेको बेला उहाँले छोरा गुमाउनुभयो । ‘पछिल्लो समय वन मासिँदै गयो,’ सामाजिक सेवा केन्द्र (सोसेक) का जोडी शिक्षक दुर्गा खत्रीले भन्नुभयो, ‘वनका कन्दमुल खानेहरु अहिले समुदायमा गएर मदिरा सेवन गर्छन्, अहिले वनका गिठा, भ्याकुर र फलफूल पाइँदैनन् अनि महिलाले पेटभरी पनि खान पाउँदैनन् ।’
सुर्खेतको लेकवेशी नगरपालिकाको जंगलमा बसोबास गर्दै आएको बेला २०७७ साल भदौ ३ गते राउटे समुदायकी सुविधा शाहीले छोरालाई जन्म दिनुभयो । सरकारले दिने भत्ता पाएको दिन छोरा जन्मिएकोमा उहाँको नाम सरकारी शाही राखियो । तर सरकारीले आवश्यक स्याहसुसार नपाउँदा अकालमै ज्यान गुमाए । जन्मिएको एक महिना १७ दिन पुगेको बेला उनको ज्यान गयो ।
दैलेखको गुराँस गाउँपालिकामा बसोबास गर्ने बेला राउटे समुदायकै मिनु शाहीले दुई छोरीलाई जन्म दिनुभयो । उनीहरु पनि एक महिनासम्म पनि बाँचेनन् । एक छोरीको नौ दिन र अर्कोको एक महिना पुग्दा मृत्यु भयो । उनीहरु दुवै जनाले पनि स्यारसुसारकै कमीले गर्दा ज्यान गुमाए ।
राउटे समुदायमा ज्यान गुमाउने शिशुहरुको संख्या बढ्दै गएको छ । समुदायमा जन्मिएका शिशुहरु मध्ये ५० प्रतिशतले ज्यान गुमाइरहेका छन् । आवश्यक स्याहार सुसार नपाउँदा शिशुहरुको ज्यान जोखिममा परेको हो ।
राउटे समुदायमा लागु भएको परियोजना सामाजिक सेवा केन्द्र (सोसेकका)जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार २०७५को असार १७ गतेदेखि हालसम्म राउटे समुदायका १६ जना शिशुको अकालमै ज्यान गुमेको छ । यसबीचमा २६ जना शिशु जन्मिएकोमा १६ जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।
राउटे समुदायका महिलाहरुले बच्चाहरुको हेरचाहमा वेवास्ता गर्दा उनीहरुको मृत्यु हुने दर बढेको स्वास्थ्यकर्मी समेत रहेका जोडी शिक्षक खत्री बताउनुहुन्छ । ‘नवजातशिशुलाई आमाले गर्नुपर्ने स्याहार गर्दैनन्,’ उहाँले भन्नुभयो, ‘राउटे समुदायले भत्ता पाउँछन्, उक्त भत्ताले मदिरा किनेर सेवन गर्छन्, हामीले समुदायमै बसेर यस्तो गर्नुहुँदैन भनेर धेरैपटक सम्झाउछौँ तर उनीहरु मान्दैनन्, राउटे समुदायका महिलाहरु धेरै मदिरा पिएर घर बाहिर नै बढी बस्छन् । बच्चाको वास्ता गर्दैनन् ।’ उहाँले भन्नुभयो ।
बच्चालाई चिसो÷तातो के भइरहेको छभन्ने आमाहरुले ख्याल नगर्दा शिशुहरुको मृत्यु हुने गरेको खत्रीको भनाइ छ । राउटे समुदायका बच्चाहरु सबै जंगलमै जन्मिन्छन् । अहिलेसम्म जन्मिएका सबै बच्चाहरु जंगलमै जन्मिएका जोडी शिक्षक खत्रीले बताउनुभयो । आफूहरुले स्वास्थ्य संस्थामा सुत्केरी गराउनका लागि जोड दिएपनि उनीहरु नमान्ने खत्रीले जनाउनुभयो ।
राउटे समुदायमा मृत्यु भएका शिशुहरुको एकीन सरकारी तथ्यांक छैन । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले आफूहरुले यसबारे तथ्यांक संकलन गरेको बताउनुभयो । राउटे समुदायमा शिशुहरुको मात्र नभएर अन्यको पनि मृत्युदर बढ्दै गएको छ । यो समुदायमा अकालमै ज्यान गुमाउने महिला तथा पुरुषको संख्यापनि उत्तिकै छ । अत्यधिक मात्रामा मदिरा सेवन गर्नाले उनीहरुको ज्यानजाने गरेको जोडी शिक्षक खत्री बताउनुहुन्छ । उनीहरु अधिकांश समयजंगलका भिरपाखामा शिकार खेलेर बिताउने भएकाले पनि भिरबाट लडेर, रुखबाट खसेर पनि मृत्यु हुने गरेको उहाँको भनाइ छ ।
२०७५ असार यता अहिलेसम्म राउटे समुदायका १४ जनाले अकालमै ज्यान गुमाएको जोडी शिक्षक खत्रीले जानकारी दिनुभयो । सरकारले आर्थिक वर्ष २०६५÷०६६ बाट राउटे समुदायलाई प्रतिव्यक्ति मासिक चार हजारका दरले भत्ता उपलब्ध गराउँदै आएको छ । यो रकम उनीहरुले सबै मदिरा सेवनमै खर्च गर्ने गरेका छन् ।
मदिरा सेवकै कारणले राउटेहरुले ज्यान गुमाउन थालेपछि आफूहरुले यसलाई गम्भीर रुपमा लिएको दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताउनुभयो । ‘यो विषयमा के गर्ने भन्ने बारे छलफल भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘अवलोकनको लागि नजिकै सुरक्षाकर्मीहरु खटाउने तयारीमा छौँ, राउटेलाई मदिरा खानबाट रोक्न सम्भव छैन तर मदिरा बेच्नेलाई पहिचान गरी कारवाही गर्नेछौँ ।’
जंगलमाफिरन्ते जीबनबिताउने राउटे समुदायहाल दैलेखको दुल्लु नगरपालिका— १०नाभीस्थानमा बस्दै आएका छन् । अहिले ४० घरपरिवार रहेका राउटे समुदायको जनसंख्या १४२रहेको छ ।

 

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap