१२ श्रावण २०८१, शनिबार

आमाको हत्या, बाबु जेलमा, नाबालक छोराछोरी बेसहारा

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
आमाको हत्या, बाबु जेलमा, नाबालक छोराछोरी बेसहारा
0 Shares

सुर्खेत ।

गत मङ्सिर २० गते पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका—३ सालकोट तोक्माका अमर आले मगरले आफ्नो श्रीमती मीना आले मगरको हत्या गर्नुभयो । उक्त दिन दिउँसै घरायसी विवादले श्रीमान अमरले श्रीमती मीनाको घाँटी रेटेर हत्या गरी टाउको झोलामा बोकेर प्रहरीको आत्मसमर्पण गर्नुभयो ।


श्रीमती हत्या गर्ने श्रीमान अमर अहिले पुर्पक्षका लागि सुर्खेत कारागार हुनुहुन्छ । तर अमर र मीनाका दुई नाबालक छोराछोरी भने यतिबेला सहाराविहीन बनेका छन् । आमाको हत्या, बाबु जेलमा भएपछि ११ वर्षीया छोरा दिनेश आले र आठ वर्षीया छोरी देविका आले यतिबेला सहाराविहीन बनेका हुन् । उनीहरु अहिले ७८ वर्षीय हजुरआमा भविसरा आलेको भरमा छन् ।
नजिकैको नेराप्रावि तोक्माका कक्षा ४ मा अध्ययनरत दिनेश र कक्षा ३ मा अध्ययनरत देविकाको जीवनयापनमा निकै समस्या देखिएको छ । हजुरआमा भविसराले पाउने वृद्धभत्ताबाट उनीहरुको लालनपालन चलेको छ । हजुरआमा भविसरा पनि कान्छा छोराबुहारीकोमा बस्नुहुन्छ । हजुरआमा भविसराले यी अबोध बालबालिकाको विचल्ली भएकोमा दुःख मनाउ गर्नुहुन्छ । काम कम सुन्ने भविसराले बालबालिकाको उच्च शिक्षा तथा लालनपालन गर्न धौ—धौ भएको बताउनुभयो । तीन÷चार महिनाको फरकमा पाउने बृद्धभत्ताबाट उनीहरुलाई लताकपडा लगायतका कापीकलम किनिदिने गरेको उहाँको भनाइ छ ।
विद्यालयमा दिनेश र देविकाको पढाई पनि राम्रो छ । विद्यालयका शिक्षक गौरीकुमारी आचार्यले देविकालाई छात्रा छात्रवृत्ति दिने गरेको बाहेक अन्य कुनै सहयोग नभएको बताउनुभयो । उहाँले दुवैजनाको पढाई राम्रो भएको बताउँदै बाबुआमा नभएपछि उनीहरुको पढाई वीचमै रोकिने हो कि भन्ने चिन्ता बढेको जनाउनुभयो । आमाको हत्या र बाबु जेल गएपछि ती बालबालिकाको मनोअवस्थामा निकै फरक आएको उहाँको भनाइ छ । ती बालबालिकाको पढाई तथा लालनपालनमा कुनै सहयोगी निकायको खाँचो रहेको उहाँले बताउनुभयो ।
दिनेश र देविकासहित हजुरआमा भविसरा अहिले कान्छी बुहारी मनिसराको बस्नुहुन्छ । मनिसरालाई पनि सवैको गर्जो टार्न गाह्रो छ । मनिसराका श्रीमान बैदेशिक रोजगारमा हुनुहुन्छ । उहाँले अहिले आफ्ना दुई सन्तानसहित सासु भविसरा, दिनेश र देविका तथा साईँला जेठाजुका दुई सन्तान पनि पाल्नु परेको छ । सवै जनालाई एकै पटक पाल्नुपर्दा दिनेश र देविकाले उचित स्याहार तथा पढाईमा राम्रो वातावरण पाउन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, आमाको हत्या भएपछि बाबु जेल जाँदा उनीहरु मसँग बसे, उनीहरुलाई पनि पाल्नुप¥यो ।
उनीहरुको गत घटना भएदेखि बन्द छ । कोहीपनि बस्दैनन् । बालबालिका पनि जाँदैनन् । मनिसराका अनुसार उक्त घरमा कोही नबस्दा सुनसान छ । घटनालगत्तै केही संघसंस्थाले सामान्य राहत दिएपनि उनीहरुले अहिलेसम्म त्यस्तो कुनै ठूलो सहयोग पाउन नसकेका छैनन् । बालबालिकालाई उचित लालन पालन र शिक्षादीक्षामा सहयोगको खाँचो छ । उनीहरुको अवस्थाको अनुगमन गर्न इन्सेक तथा मानवअधिकार रक्षक संजालको टोली घरमै पुगेको थियो ।
यता पञ्चपुरी नगरपालिकका प्रमुख लालवीर भण्डारीले कार्यविधि बनाएर जोखिमपूर्ण बालबालिकाकाको उचित संरक्षण र स्याहारको योजना ल्याउन लागिएको जनाउनुभयो । यद्यपि उनीहरुलाई नगरबाट अहिलेसम्म कुनै सहयोग नपाएको उहाँको भनाइ छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap