६ बैशाख २०८१, बिहीबार

फेरिँदै मौसम ः समस्यामा राउटे महिला

कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
फेरिँदै मौसम ः समस्यामा राउटे महिला
0 Shares

चाँदनी कठायत (सुर्खेत)

राउटे महिला गमला शाहीको जीबनशैली १५–२० वर्ष अगाडिको भन्दा निकै फेरिएको छ । जंगलमा फिरन्ते जीबन बिताउँदै हिँड्ने राउटे समुदायकी गमला करिब डेढ दशक अगाडिको आफ्नो जीबन सम्झिनुहुन्छ । ‘वस्ती छेवैमा खोलामा पानी हुन्थ्यो,’ उहाँ भन्नुहुन्छ, ‘अहिले हामी पानी नै पाउँदैनौँ । पानी बोक्न टाढा–टाढा जानुपर्छ । त्यहीभएर जता नजिक पानी हुन्छ त्यतै बसाईँ सर्छौँ ।’

दैलेखकाे नारायण नगरपालिका ८ मा रहेका राउटे महिला तथा पुरुष

बसाईं सर्दै जाने क्रममा ०६१ मा राउटे समुदाय सुर्खेतको लेकवेशी नगरपालिका–१ स्थित रातेखोलामा पुगे । खोलामा पानीको मुल भएकाले वस्तीबाट टाढा–टाढा हिँडेर जानुपरेन । मुलमा नै राउटेले धारा बनाए जुन धारालाई अहिले पनि राउटे खोला भन्ने गरिएको सोही ठाउँका स्थानीय प्रेमबहादुर कठायतले बताउनुभयो । ‘त्यतिबेला त खोलामा पानी आउँथ्यो,’ उहाँले भन्नुभयो, ‘अहिले त खोला नै बगर जस्तो भएको छ, वर्खामा मात्रै थोरै थोरै पानी आउँछ ।’ त्यतिबेला त्यस ठाउँमा करिब दुई महिना बसेर राउटे सुदूरपश्चिम बसाईँ सरे । घुम्दै फिर्दै पुनः सोही रातेखोलामा १४ वर्षपछि पुग्दा राउटे समुदायका महिलालाई पानीको निकै सास्ती भयो । ‘०७५ सालमा आएको बेला त पानी नै थिएन,’ स्थानीय कठायतले भन्नुभयो, ‘त्यहीभएर होला उनीहरु त्यतिबेला धेरै बसेनन्, केही दिन बसेर अर्को ठाउँ गए ।’

पानी बाेक्दै राउटे महिला

०७६ असोजमा गुराँस गाउँपालिकास्थित धरमपोखरा बसाईं सरेका राउटे सुमदाय एक सातापनि बसेनन् । त्यहाँ पानीको मात्र होइन काठको पनि समस्या झेल्नुप¥यो । विशेष गरी राउटे समुदायमा काठको छाप्रो बनाउने काम महिलाले गर्छन् । जंगलको डाँडामा बसाईं सरेका राउटे समुदायले पानीको मुहान त भेट्टाए तर पानी पाएनन् । ‘हामी बस्ने छाप्रो बनाउने काठ पनि पाइएन,’ सम्झना भन्नुहुन्छ, ‘हाम्रो बाउआमाको पालामा त जताततै मुल हुन्थ्यो भन्छन् खै हाम्रो पालामा त पानीको मुल नै छैन ।’ धरमपोखरामा पनि पानी र काठको अभाव भएपछि राउटे महिलाको आग्रहमा मुखियाले अन्यत्रै बसाईं सर्ने निधो गरे । ‘पानी भएन, काठ पनि छैन कसरी बस्ने ?’ राउटे मुखिया सुर्यनारायण शाहीले भन्नुहुन्छ, ‘हाम्रा जनताले दुःख भयो भन्यो त्यसपछि हामीले अर्को ठाउँ गयौँ ।’
फेरि पनि बसाईं सरेर ०७७ भदौमा दैलेखको गुराँस गाउँपालिकास्थित हिउँपोखरी आएका राउटे समुदायले त्यहाँ मुस्किलले १५ दिन पनि बिताउन सकेनन् । उनीहरु बसाईं सरेको दुई सातामै अन्यत्रै बसाइँ सार्न बाध्य भए ।

नारायण नगरपालिका ८ मा रहेकाे राउटे वस्ती

राउटे फिरन्ते जीवन बिताउने समुदाय हो । उनीहरु एक ठाउँमा एक महिनादेखि तीन महिनासम्म बस्छन् । त्यही बीचमा उनीहरूका कुनै सदस्यको मृत्यु भएमा भने तुरुन्त बसाइँ सर्छन् । तर पछिल्लो समय राउटे समुदाय पानी र काठको अभावमा पटक–पटक बसाईं सार्न बाध्य छन् । यो समुदायमा पानी ल्याउने र खाना बनाउने प्राय महिलाले नै गर्ने गर्छन् । पानीकै अभाव भएपछि राउटे महिलाहरुले आफूहरुलाई दुःख भएको राउटे मुखियासमक्ष कुरा राखेपछि मुखियाले बसाइँ सार्ने निर्णय गर्छन् । ५३ वर्षीया राउटे महिला तुलसी शाही पानीसँगै दाउराको पनि निकै दुःख भएको सुनाउनुहुन्छ । ‘उ माथि पुगेर दाउरा ल्याउँछ हामी,’ उहाँ भन्नुहुन्छ, ‘छाप्रो नजिकै दाउरा नै छैन, तीन घण्टा हिँडेर दाउर ल्याएर आउँछौ मेरो छोरी र म । मेरो श्रीमान छैन ।’
प्रायःजसो एक वर्षमा ५ देखि ६ पटकसम्म बसाईं सर्ने राउटे समुदाय ०७७ मा मात्रै १२ पटक भन्दा बढी बसाईं सरेका छन् । दशक अघिसम्म राउटे बसाईं सार्ने स्थानमा पानी प्रशस्त हुन्थ्यो तर, सोही ठाउँमा अहिले फर्किएर जाँदा समुदायका ठालू भनिने लोकेन्द्रबहादुर शाही बताउनुहुन्छ । ‘हामी पहिला जहाँ जान्थ्यौँ त्यहाँ पानी धेरै हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘तर अहिले त पानीको मुल सबै सुकिसक्यो के गर्ने अब ?’
गत असोजमा दैलेखको भगवतीमाई गाउँपालिका–२ बेस्तडा बजार नजिकै बसेको राउटे त्यहाँ पनि एक महिना मात्रै टिक्न सके । वस्ती नजिकै पानीको मुहान नहुँदा राउटे महिला करिब डेढ घण्टा हिँडेर पानी बोक्नुपर्ने बाध्यता भयो । ‘हामी त तल–तल जानुपथ्र्यो पानी लिन,’ राउटे महिला दुर्गी शाही भन्नुहुन्छ, ‘अनि हामीले मुखियलाई भन्यो दुःख भयो भनेर, अनि मुखियाले अर्को ठाउँ ल्यायो ।’

पानीकै अभाव भएपछि करिब डेढ महिनाअघि राउटे सुमदाय दैलेखकै नारायण नगरपालिका–८ मा वस्ती सरेर आएको छ । अहिले बसाईं सरी आएको स्थानमा पनि पानीको मुल नजिकै त छ तर पानी कम छ । मानव अधिकार अधिकृत किरण बरमले अहिले सबैभन्दा ठूलो समस्या नै राउटे समुदायका लागि खानेपानीको संकट भएको बताउनुभयो । ‘सामान्यतया पानी बोक्ने काम राउटे समुदायका महिलाले गर्छन्,’ उहाँले भन्नुभयो, ‘महिलाहरु टाढा–टाढाबाट पानी बोकेर ल्याउँदा उनीहरुको प्रजनन स्वास्थ्यमा समेत असर परेको छ, तातो हुने भएकाले अहिले डाँडामा आएर बसेका छन् तर पानी भने छैन ।’
सामाजिक सेवा केन्द्र (सोसेक) को राउटे परियोजनाअन्तर्गत जोडी शिक्षकको रुपमा राउटे समुदायमा काम गर्दै आएकी दुर्गा खत्रीले पछिल्ला वर्षहरुमा राउटे समुदाय धेरै बसाईं सार्ने गरेको बताउनुभयो । ‘हामीले समुदायमै बसेर काम गर्न थालेको पाँच वर्ष भयो,’ उहाँले भन्नुभयो, ‘हामी पनि राउटे समुदाय बसाईं सार्दा उनीहरुसँगै बसाईं सार्नुपर्ने हुन्छ, हामीले देखेका छौँ, पानी र काठको निकै समस्या हुन्छ ।’

राउटेहरुको अर्को विशेषता भनेको उनीहरु बगेको पानी खाँदैनन्, मुलको पानी मात्रै खान्छन् । जलवायु परिवर्तन मामिला विज्ञ अजय दीक्षितले नेपालका हिमाल, पहाड तथा चुरे क्षेत्रका समुदायको खानेपानी, पशुपक्षी, कृषि, जैविक विविधता, पर्यटन तथा तीर्थाटन र सांस्कृतिक पर्व मूल र मुहानमा आधारित रहेको बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय मुहानमा पानीको मात्रा घट्ने र मुहान सुक्ने क्रम बढ्दो छ । यसका लागि स्थानीय स्तरमा भइरहेका मानवीय हस्तक्षेपका साथै जलवायु परिवर्तन जस्ता बाह्य कारण जिम्मेवार रहेको उहाँको भनाइ छ ।पानी पर्ने चरित्रमा परिवर्तन भएको छ,’ उहाँले भन्नुभयो, ‘यसमा वैज्ञानिक आधारहरु विकास गर्न अँझै बाँकी छ तर जलवायु परिवर्तनका संकेतहरु देखिएकै आधारमा हामी बोल्छौँ ।’ जलवायु परिवर्तन मामिला विज्ञ दीक्षीतले तापक्रम बढ्दै गएपछि पानीको मुल सुक्दै गएको उहाँको भनाइ छ ।
एक वर्षअघि नेपाल पानी सदुपयोग फाउन्डेशन (एनडब्लूसीएफ) ले एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (ईसीमोड) सँगको सहकार्यमा तराई–मधेश बाहेक नेपालका तीन सय पालिकामा गरेको सर्वेक्षणले करीब ७४ प्रतिशत पालिकामा पानीका मूल सुक्ने समस्या पाइएको थियोभने ५८ प्रतिशत पालिकामा मूल सरेको पाइएको थियो। अध्ययनअनुसार भौगोलिक विभाजनका आधारमा हिमाली क्षेत्रमा (६४%) भन्दा चुरे क्षेत्रमा (७९%) मुहान सुक्ने समस्या उच्च छ।
जाडो र गर्मीले सताउँदै
बाह्रैमास घलेकको भरमा आधा जीउ ढाक्ने राउटेहरुलाई पछिल्ला केही वर्ष यता गर्मी र जाडो दुवैले उत्तिकै सताउने थालेको छ । राउटेले चिसोमा ह्वात्तै चिसो, गर्मीमा ह्वात्तै गर्मीको महसुस गर्ने गरेका छन् । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार, कर्णालीमा पछिल्लो समय तापक्रम वृद्धि हुँदै गएकोे छ । कार्यालय प्रमुख रामविकेश यादवले पछिल्लो दशकमा तीव्र रुपमा तापक्रम वृद्धि भइरहेको जनाउनुहुन्छ ।
कार्यालयका अनुसार कर्णालीको हिमाली भू–भागमा प्रतिवर्ष ०.०७४ सेन्टिग्रेट र दैलेख, सल्यान, जाजरकोट र सुर्खेतका भूभागमा ०.०६ सेन्टीग्रेटका दरले तापक्रम बढ्दै गइरहेको छ । ‘कर्णालीमा जति उपल्लो भूभाग उति तापक्रम वृद्धि भइरहेको छ’ उहाँले भन्नुभयो, ‘तापक्रम वृद्धिसँगै यो क्षेत्रमा अतिवृष्टि र अनावृष्टि पनि भइरहेको छ ।’

राउटे वस्तीका अधिकांश व्यक्तिहरु शिकार खेल्न जंगल गएपछि खाली भएकाे वस्ती

जलवायु परिवर्तनका कारण पछिल्लो समय मुख्य रुपमा खडेरी र बाढीको समस्या देखिएको जलवायु परिवर्तनसम्बन्धी अध्ययन गरिरहेका गोपाल काफ्ले बताउनुहुन्छ । खडेरी र बाढीका कारण पानीका मुहान सुक्ने समस्या देखिएको उहाँको भनाइ छ । अहिले वनका गिठा, भ्याकुर र फलफूल पाईँदैनन् अनि महिलाले पेटभरी पनि खान पाउँदैनन् ।’ वन मासिँदै गएपछि राउटे समुदायहरु अन्य समुदायसँग नजिक हुने गरेका छन् ।
पहिले जंगलबीचका खोला किनारमा बस्ने राउटेहरु पछिल्लो समय अन्य समुदाय नजिक बस्ने गरेका छन् । जसले गर्दा पुरुषहरु मदिरा सेवनमै व्यस्त हुन्छन् । ‘अहिले महिलाको काँधमा कामको बोझ थपिएको छ,’ काफ्ले भन्छन्, ‘अहिले महिला घरमा साना बच्चा छोडी छोडी वनमा खाने कुरा खोज्न जानुपर्छ त्यतिबेला बच्चाको सुसार गर्ने कोही हुँदैन त्यसैले दुधे बच्चाहरुको मृत्यु भइरहेको छ ।
२०७७ देखि हालसम्म राउटे बस्तीमा १७ जना राउटेको मृत्यु भइसकेको छ । जसमध्ये ६ जना बालबालिका छन् । हाल राउटेको संख्या १४४ रहेको छ ।
राउटे समुदायका विषयमा अनुसन्धान गरिरहेका काठमाडौं विश्वविद्यालयका प्राफेसर डा. लालबहादुर पुनले जलवायु परिवर्तनको असर भोग्नेमा राउटे समुदाय पनि एक भएको बताउनुभयो । ‘राउटेहरुको खानपान परिवर्तन भएको छ,’ उहाँले भन्नुभयो, ‘उनीहरु जंगलमा जुन वस्तुहरुसँग निर्भर हुन्थे अहिले ती सबै लोप हुन थालिसके, जंगलमा पाइने कन्दमुल, फलफुल, जडिबुटी, काठ सबै उत्पादन हुनै छाडिसके त्यसकारण राउटे समुदायनजिक बस्न थाले ।’ पानीको मुल नै नहुँदा राउटे महिलाहरुको कार्यभार बढेको उहाँको भनाइ छ । ‘महिलाहरु आफ्नो समस्याबारे खासै भन्दैनन्,’ डा. पुनले भन्नुभयो, ‘तर महिलाहरुको प्रजनन स्वास्थ्य पनि प्रतिकूल बनेको छ ।’
राउटे समुदाय जंगलका पात पतिंगर हागाबिंगा, प्लाष्टिक, त्रिपालहरू प्रयोग गरेर छाप्रो बनाएर बस्छन् । यस्ता छाप्रोहरुले बढ्दो तापक्रम, मुसलधारे पानी, हावाहुरी सहन सक्दैनन् । जसका कारण छाप्रा मर्मत गर्ने कार्यबोझ बढ्ने, भएका खाद्यान्नको क्षति हुने र महिला बालबालिका तथा वृद्धहरु थप संकटमा परिरहेका राउटेलाई सामाजिकीकरणका लागि काम गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) का कार्यकारी प्रमुख हिरासिंह थापाले बताउनुभयो ।
जलवायु परिवर्तनको असर लोपोन्मुख जाति राउटेमा पनि परिरहेको बताउँदै उहाँले वन जंगल मासिँदै जाँदा उनीहरुको पेसा संकटमा परेको बताउनुभयो । ‘पहिला वनजंगलमा पाइने जडीबुटी खाने उनीहरु धेरै बिरामी पनि हुँदैनथे,’ उहाँले भन्नुभयो, ‘अहिले मदिराको प्रयोग पनि अत्यधिक छ, अब आमनागरिकहरूसँगै राउटे नागरिकहरूलाई वन जोगाउने र जडीबुटी संरक्षण गर्ने लगायतका विषयमा सचेतना जगाउनुपर्छ ।’
कार्यान्वयन भएन नीति
कर्णाली प्रदेश सरकारले ‘राउटे नीति’ बनाउने घोषणा गरेको डेढ वर्षसम्म पनि उक्त नीति कार्यान्वयन हुन सकेको छैन । फिरन्ते राउटे जातिलाई नागरिकता दिने र स्थायी बसोबासको प्रबन्ध गर्न लोपोन्मुख राउटे जातिलाई राज्यको मुल प्रवाहमा ल्याउने र उनीहरूको भाषा तथा संस्कृतिको संरक्षण गर्ने घोषणा गरिएको नीति कार्यान्वयन हुन नसकेको हो ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले एक वर्ष अघि अति लोपोन्मुख राउटे समुदायको मूल प्रवाहीकरण नीति, २०७८ को मस्यौदा तयार पारेको थियो । नीति बनाउन मन्त्रालयले सामाजिक विकास समिति र प्रदेश योजना आयोगलगायतका सरोकारवाला निकायसँग छलफल समेत ग¥यो । तर, नीति निर्माणको कामले पूर्णता पाउन सकेको छैन ।
सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी रामप्रसाद उपाध्यायले राउटेको उत्थान र शसक्तिकरणका लागि मन्त्रालयले धेरै काम गरिरहेको जानकारी दिउनुभयो । उहाँले राउटे नीतिको मस्यौदा तयार भएको र केही प्रक्रियागत कामहरु भइरहेको बताउनुभयो ।

(सवै तस्बिरहरू ः चाँदनी कठायत)

(यो आलेख युकेएअाइडीको सहयोग प्राप्त ब्रिटिस काउन्सिलको रोड टु कप अभियान अन्तर्गत जलवायु परिवर्तनमा महिला रिपोर्टर अनुदानको सहयोगमा तयार पारिएको हो ।)

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap