१३ बैशाख २०८१, बिहीबार

तीन महिने राहतले ऋणमुक्त

कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
तीन महिने राहतले ऋणमुक्त
0 Shares

सुर्खेत

वीरेन्द्रनगर नगरपालिका—११ धुलियाविटकी ४० वर्षीया चन्द्र सुनारले तीन महिनाका लागि खाद्यान्नलगायत अत्यावश्यकीय सामग्री राहत स्वरुप प्राप्त गरेपछि ऋणमुक्त हुनुभएको छ । आफ्नो १७ वर्षे छोरो मोटरसाइकल दुर्घटनामा परी घाइते भएपछि उपचारका लागि लिएको ऋण खाद्यान्न सहयोग पाएपछि उहाँले तिर्नुभएको हो । छोराको उपचार गर्न उहाँले १८ हजार ऋण लिनुभएको थियो ।
यसैगरी भेरीगंगा नगरपालिका—११ रामघाटका सीता भण्डारीले पनि तीन महिनाका लागि अत्यावश्यकीय खाद्य पदार्थहरु राहतपाएपछि अन्य आम्दानी गर्न सफल हुनुभयो । राहत नहुँदा कमाएको रकम खाद्यान्नमै सकिने हुँदा राहत प्राप्त गरेपछि रकम बचत गर्न सफल भएको उहाँले जनाउनुभयो ।


सुनार र भण्डारीले जस्तै वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिका एक सय जना दलित, विपन्न र सीमान्तकृत महिलाले दलित महिला संघ सुर्खेतबाट तीन महिनाका लागि खाद्यान्नलगायत अत्यावश्यकीय बस्तुहरु राहत स्वरुप प्राप्त गरेका थिए । दलित महिला संघले युएन वुमनको सहयोग तथा जुरी नेपालको समन्वयमा आघातपछिको सशक्तिकरण परयोजनाबाट सो राहत उपलव्ध गराएको थियो । वीरेन्द्रनगर र भेरीगंगामा दलित महिला संघद्वारा गठित समूहमा आवद्ध अति विपन्न महिला, दलितहरुलाई राहत दिइएको छ ।
सुनारले संस्थाले दिएको राहतले तीन महिना खाद्यान्नमा खर्च हुने रकम बचाउन सफल भएको बताउनुभयो । उहाँले त्यही बचाएको पैसाले छोराको उपचारमा लागेको ऋण तिरेको जनाउनुभयो । यदि राहत प्राप्त नगरेको भए कमाएको रकम खानामै खर्च हुने र ऋण तिर्न कठिन हुने उहाँको भनाइ छ ।
उनीहरुलाई तीन महिनाका लागि पुग्ने गरी ९० केजी चामल, आठ केजी दाल, एउटा ग्याँस र चुल्हो, साबुन, मन्जन, ब्रस, साबुन, मोबाइललगायत १४ प्रकारका सामग्रीहरु उपलव्ध गराइएको थियो । दलित महिला संघका अनुसार समूहले छनौट गरेका महिलालाई सो राहत उपलव्ध गराइएको बताएको छ । दलित महिला संघ सुर्खेतका परियोजना संयोजक खगिसरा वलीले उपलव्ध गराइएको राहतले महिलाहरुलाई तीन महिनासम्म पुग्ने बताउनुभयो ।
संस्थाले समूहमा बसेका महिलालाई आयआर्जनका लागि तालिम दिनुका साथै हिंसा विरुद्धको अगुवा तालिम पनि दिएको छ । परियोजना संयोजक वलीले केही महिलाले तालिम लिएपछि सानोतिनो व्यापार व्यवसाय गरी आत्मनिर्भर पनि बन्न सफल भएको जनाउनुभयो । तीन महिनाका लागि दिइएको राहतले विपन्न दलित र सीमान्तकृत महिलाहरुका लागि जीवनयापन गर्न सहयोग पुगेको उहाँको भनाइ छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap