२० बैशाख २०८१, बिहीबार

रामघाट—दशरथपुर जोड्ने भेरी नदीको पक्की पुल शिलान्यासमै सीमित

कर्णाली प्रदेश मुख्य समाचार समाचार
रामघाट—दशरथपुर जोड्ने भेरी नदीको पक्की पुल शिलान्यासमै सीमित
0 Shares

सुर्खेत ।

पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकाको रामघाट र लेकबेशी नगरपालिकाको दशरथपुर जोड्नका लागि पाँच वर्ष अगाडि भेरी नदीमाथि निकै तामझामका पक्की पुल निर्माणको शिलान्यास गरिएको थियो । तर पाँच वर्ष नाघिसक्दा पनि अहिलेसम्म पुल बन्ने कुनै सुरसार छैन । त्यस क्षेत्रका हजारौं बासिन्दा अहिलेको जीर्ण झोलुंगे पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

झोलुङ्गे पुलको आडैमा २०७३ माघमा पक्की पुलको शिलान्यास गरिएपनि अहिलेसम्म निर्माण हुने या नहुने भन्ने कुनै टुंगो छैन् । तत्कालीन पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वकै सरकारको तत्कालिन भौतिक तथा यातायात मन्त्री रमेश लेखक र पूर्व गृहमन्त्री एवं कांग्रेस नेता पूर्णबहादुर खड्काले निकै तामझामका साथ पक्की पुलको शिलान्यास गर्दै त्यस क्षेत्रको विकासले फड्को मार्ने र नागरिकले सुरक्षित यात्रासंगै सुखको अनुभूति गर्ने’ उद्घोष गरेका थिए । तर शिलान्यासको पाँच वर्ष वित्दा न नयाँ पुल बन्यो, न पुरानो झोलुंगे पुलको मर्मत नै भयो ।
राजनीतिक दलहरुले त्यहाँ पुल बनाउने भनेर विभिन्न निर्वाचनमा निर्वाचित समेत भए । तर उनीहरुले आफ्नो वाचा पुरा नगरेको स्थानीय बासिन्दाहरु बताउँछन् । स्थानीय बासिन्दा खडानन्द तिवारीले पुल शिलान्यास गरेदेखि कोही नेताहरु यस क्षेत्रमा देखा नपरेको बताए । उनले धेरै मानिसहरुको आउजाउ हुने उक्त क्षेत्रमा पक्की पुल नबन्दा यातायातका साधनसमेत चल्न नसकेको जानकारी दिए ।
यस्तै लेकबेशी नगरपालिका— ५ की मनिता बुढाले जीर्ण झोलुँगे पुलबाट जोखिम मोलेर वारपार गर्नुपरेको बताउँछिन् । पुलका तलका पाताहरु उप्किएका छन् । छेउका जालीहरु पनि च्यातिकका छन् । भेरीगंगाका साथै लेकबेसी नगरपालिका र गुर्भाकोट नगरपालिकाका माथिल्लो क्षेत्रका बासिन्दाहरु यही रुट भएर आउने जाने गर्दछन् । २०६० सालतिर सशस्त्र द्वन्द्वको समयमा विद्रोही नेकपाले आफूहरु बच्नका लागि पुलको खम्बा नै काटेर ढालेपछि पुल पुनर्निर्माण भएपनि निकै कमजोर छन् ।
दशरथपुरबाट रामघाट पुग्न नदी पार गरेर गएमा करिव दुई मिनेट मात्र लाग्छ तर अन्यत्रबाट जानु परेमा झण्डै डेढ घण्टा लाग्छ । पक्की पुल नभएकै कारण मोटरसाइकल बाहेक अन्य सवारी साधनहरु रामघाट–दशरथपुर, दशरथपुर–रामघाट पुग्न मेहेलकुना घुमेर आउनुपर्ने बाध्यता भएको बुढाले बताइन् ।
यता पक्की पुल निर्माण गर्ने जग (फाउण्डेशन) कमजोर देखिएपछि डिजाइन रिभ्यु गर्न लगाएको निर्माण कम्पनीले पछिल्लो समय पुलको काम नगर्ने भएको छ । डिजाइन रिभ्यु गर्न पुल बन्नुपर्ने समय ३ वर्ष बढी लाग्यो । सोही बहाना देखाएर निर्माण कम्पनीले काम नगर्ने जनाएको छ । सडक डिभिजन कार्यालयका प्रमुख बिजयकुमार थापाले पहिलेकोले काम नगर्ने जनाएपछि ठेक्का तोडिएको बताए । यद्यपि पुरानो निर्माण कम्पनीले तीन करोड रकम दावी गरी अदालतमा मुद्दा हालेकोले पुलको काम अगाडि बढ्न नसकेको उनको भनाइ छ ।
२०७३ माघ ९ गते आशीष जेभी निर्माण कम्पनीसँग २० करोड बढी लागतमा सम्झौता भई ०७६ माघ १० भित्र सक्नुपर्ने थियो । तर, अहिलेसम्म प्रगति शुन्य छ । निर्माण कम्पनीले काम गर्ने भन्दै पक्की पुल निर्माणस्थलमा केही मजदुर पु¥याएपनि डिजाइन रिभ्यु गर्ने बाहनामा पन्छिदा डिजाईन रिभ्यु पश्चात् समय सिमालाई देखाउँदै घाटा लाग्ने भएपछि पन्छिएको बुझिएको छ ।
उत्तिबेला नै निर्माण कम्पनीले पेश्की वापत दुई करोड ९ लाख रुपैयाँ लिएको थियो । तर, डिजाइन रिभ्युपछि काम नगर्ने निर्माण कम्पनीलाई ब्याज सहित पाँच करोड रुपियाँ दावी गर्न सडक डिभिजन कार्यालयले पत्र काटेको छ । तर, पत्रको बेवास्ता गर्दै निर्माण कम्पनी उल्टै तीन करोड क्षतिपूर्तिको दावी गरी अदालत पुगेको छ । जसका कारण पुल बन्ने नबनेमा अन्यौल छ । सडक डिभिजन कार्यालय ठेक्का तोडेपछि अर्काे ठेक्का लगाउन अदालतको निर्णयको पर्खाइमा छ । तर, अदालतले यो मुद्धा कहिले किनारा लगाउँछ पत्तो छैन्, त्यसले अव पक्कि पुल निर्माण हुने कुनै टुंगो छैन ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap