४ जेष्ठ २०८१, शुक्रबार

कानुन कार्यान्वयन नहुँदा जातीय विभेद कायमै

कर्णाली प्रदेश मुख्य समाचार समाचार
कानुन कार्यान्वयन नहुँदा जातीय विभेद कायमै
0 Shares

सुर्खेत ।

कानुनमा जातीय छुवाछूत तथा विभेदको अन्त्य भए पनि व्यवहारमा कायमै रहेको पाइएको छ । ५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाउने क्रममा सहभागी दलितहरुले अझैपनि जातीय छुवाछूत तथा विभेद भोग्नुपरेको बताएका छन् ।

उनीहरुले जातीय विभेदकै कारण धेरै दलितहरुले अनाहकमा ज्यान समेत गुमाउनु परेको बताए । बीरेन्द्रनगर नगरपालिका—२ का बालिका सुनारले दलित भएकै कारण अहिले पनि आफूहरु समाजमा पछाडि परेको बताउनुभयो । उहाँले कानुनले हटाएपनि व्यवहारमा छुवाछूत भइरहेकोले अन्त्य कहिले हुन्छ भनी प्रश्न गर्नुभयो । उहाँले संविधानले दलितहरुका हक अधिकार स्थापित गरेको भएपनि त्यो केवल कागजमै सीमित भएको गुनासो गर्नुभयो ।
यस्तै लालबहादुर नेपालीले मानवले मानवलाई विभेद गर्ने परिपाटी अहिले सम्म पनि हट्न नसकेको भन्दै त्यसतर्फ राज्यको नजर जानुपर्ने आंैल्याउनुभयो । जातीय विभेद विरुद्धको दिवस मनाइ रहदाँ पनि जातीय छुवाछूत तथा भेदभाव अझै कायमै रहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । यसैगरी मिरा सुनारले स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रसम्म दलितको प्रतिधित्व भएपनि दलितहरुको आवाज अझैपनि सरकारले नसुनेको आरोप लगाउनुभयो । कार्यक्रममा सहभागी दलित समुदायका व्यक्तिलाई सबै क्षेत्रबाट विभेद रहेको, शहरमा घरभाडामा नपाउने, प्रहरीले जातीय विभेदका घटना दर्ता गर्न नमान्ने जस्ता समस्या रहेको बताएका थिए ।
दलित महिला संघका अध्यक्ष मन्जु सुनारले अहिलेको समयमा पनि दलितहरु मान्छे भएर बाँच्न नपाउने अवस्था रहेको बताउँदै दलितका पक्षमा बनेका कानुनहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कानुन प्रभावकारी कार्यान्वयन नहुँदा दलितमाथि विभेद कायमै रहेको बताउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशसभाका सदस्य सीता नेपालीले संघीयतापछि देशमा राजनीतिक परिवर्तन भएपनि दलितप्रति हेर्ने सोच र चिन्नत परिवर्तन हुन नसकेको बताउनुभयो । उहाँले संविधानको मौलिक हकमै दलितहरुको हक र अधिकारको व्यवस्था प्रष्टै लेखेपनि कार्यन्वायन हुन नस्कदा समस्या भएको उल्लेख गर्नुभयो । दलित र महिलाका मुद्धा आफूले सदनमा पटकपटक उठाउँदा पनि सुनुवाई हुन नसकेको उहाँको गुनासो छ । २४ प्रतिशन दलितहरुको बसोबास रहेको कर्णालीमा जनसंख्याको आधारमा प्रतिनिधित्व हुन नसकेको उहाँले बताउनुभयो ।
यस्तै बीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले दलितहरुको हक अधिकारको लागि स्थानिय सरकार सधै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउनुभयो । कार्यक्रम दलित महिला संघ, जातीय भेदभाव तथा छुवाछूत समन्वय समितिलगायतले मनाएका थिए । त्यसअघि मंगलगढी चोकबाट सचेतना ¥याली निकालिएको थियो । यसैबीच कर्णाली प्रदेशमा गतबर्ष १८ वटा जातीय विभेदका घटना भएको इन्सेकको तथ्याङ्क छ । विद्यालय, सार्वजनिक स्थान र पानी पँधेरामा समेत जातीय विभेदको ज्यादती हुने गरेको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap