४ जेष्ठ २०८१, शुक्रबार

युनियन बलियो भएमात्र महासंघमा सहज

कर्णाली प्रदेश मुख्य समाचार समाचार
युनियन बलियो भएमात्र महासंघमा सहज
0 Shares

सुर्खेत ।

नेपाल प्रेस युनियन बलियो भए मात्र पत्रकार महासंघमा सहज हुने औंल्याइएको छ । प्रेस युनियन सुर्खेतको समन्वयमा शनिवार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरिएको कर्णाली प्रदेश भेलामा युनियन बलियो बनाउनका लागि व्यक्तिगत स्वार्थ र गुटगत प्रवृत्ति त्याग्न आव्हान गरिएको छ ।
प्रेस युनियनका सल्लाहकार एवं पूर्व महासचिव शिव लम्सालले संगठनको हितका लागि युनियनको भेला छलफल जहाँ पनि गर्न सकिने बताउनुभयो । उहाँले केही व्यक्तिगत स्वार्थले गर्दा जिल्लाहरुलाई विवादित देखाएर फाइदा लिन खोजिएकोमा आपत्ति जनाउँदै त्यस्ता व्यक्तिगत स्वार्थ त्याग्न आग्रह गर्नुभयो । आगामी पत्रकार महासंघ र अकोराबको निर्वाचनमा प्रजातान्त्रिक पक्षधरहरुको पकड बनाउनका लागि प्रेस युनियन एक ढिक्का भएर लाग्ने उहाँको भनाइ छ ।
युनियनभित्रको केही असन्तुष्टिहरुलाई थाती राखी महासंघ र अकोराबको निर्वाचनमा आफ्नो पक्षबाट पार्न युनियन बलियो बनाउन जिल्लादेखि केन्द्रीय नेतृत्व लाग्नुपर्ने उहाँले बताउनुभयो । साथै महासंघ र अकोराबको निर्वाचनमा सहभागी हुने उम्मेदवारहरु केन्द्रबाट होइन, सम्बन्धित जिल्ला र प्रदेशबाटै छनौट गर्न सुझाव उहाँले दिनुभयो । जिल्ला र प्रदेशको उम्मेदवारको टुंगो केन्द्रले लगाउने होइन भन्दै उहाँले जिल्लाले जिल्ला, प्रदेशले प्रदेश र केन्द्रले केन्द्रीय उम्मेवारको टुंगो लगाउनुपर्ने उल्लेख गर्नुभयो । साथै आगामी दिनमा पत्रकारको नेता पत्रकारले नै छान्नुपर्ने बातावरण बनाउन सवैपक्षसँग उहाँले आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले विगतमा प्रेस युनियन एक भएको र आगामी दिनमा पनि एक ै हुने बताउनुभयो । उहाँले विधि, विधान र पद्धति अनुसार सवै निकाय चल्नुपर्नेमा जोड दिदैं विवादहरु आए विधि र पद्धतिबाटै समाधान खोजिनुपर्ने सुझाव दिनुभयो । मुलुक संघीय संरचनामा गएको बेला प्रेस युनियन पनि संघीय संरचनामा जानुपर्ने भन्दै उहाँले कर्णालीको भेला कर्णालीमै हुनु अस्वभाविक नभएको टिप्प्णी गर्नुभयो ।
प्रेस युनियनका केन्द्रीय सचिव खिला कार्कीले केन्द्रका केही स्वार्थी प्रवृत्तिले गर्दा जिल्ला जिल्लालाई विवादित बनाइएको आरोप लगाउनुभयो । उहाँले विवादित भएको भनेर केन्द्रमा कुनै जिल्ला विरुद्ध उजुरी नपरेको हुँदा कहीं पनि विवाद नभएको उल्लेख गर्नुभयो । उहाँले पनि कर्णालीको भेला अन्य प्रदेशमा गरिनु दुःखद भएको भन्दै सम्बन्धित प्रदेशको भेला सम्बन्धित प्रदेशकै जिल्लामा हुनु स्वाभाविक भएको बताउनुभयो ।
कार्यक्रममा युनियनको केन्द्रमा कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु राजेन्द्र कार्की, युवराज रेग्मी, खगेन्द्र भट्टराईले कर्णाली प्रदेशको भेला नेपालगन्जमा गर्न लागिएकोप्रति असहमति जनाएर कर्णालीको भेला कर्णाली प्रदेश राजधानी सुर्खेतमा नै गर्नुपरेको बताउनुभयो । उहाँहरुले अझैपनि केन्द्रीय नेतृत्वले संघीयता स्वीकार्न नसकेको टिप्पणी गर्दै सम्बन्धित प्रदेशको भेला सम्बन्धित प्रदेशकै जिल्लामा गर्न केन्द्रीय नेतृत्व उदासिन भएको उल्लेख गर्नुभयो । उहाँहरुले कर्णालीका केही जिल्लालाई विवादित देखाएर स्वार्थ लिन खोजिएको आरोप लगाउँदै विवाद समाधानका लागि कुनै पहल र अधिकार नदिएको बताउनुभयो ।
प्रेस युनियन सुर्खेतका अध्यक्ष नरेशसिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियनका सुर्खेतका साथै कालीकोट, सल्यान, रुकुम पश्चिम, जाजरकोटका सहभागी अध्यक्ष तथा प्रतिनिधिहरुले युनियनको अवस्थाका वारेमा जानकारी गराएका थिएभने दैलेख, मुगुका अध्यक्षहरुले प्राविधिक कारणले उपस्थित हुन नसकेको भन्दै भेलाको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघका कर्णाली प्रदेश उपाध्यक्ष कमल पन्त, नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य जयबहादुर विसी, जिल्ला अध्यक्ष गणेशकुमार कार्की, शिक्षक महासंघका सचिव राजेन्द्र गौतम, दलित संघका अध्यक्ष भीमबहादुर शाही परियारले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।
तीन बुँदे निर्णय
भेलाले विभिन्न तीन बुँदे निर्णय पनि गरेको छ । पत्रकार महासंघ र अकोराबको आगामी निर्वाचनमा अन्य संघसंगठनहरुसँग सहकार्य, पहल तथा छलफलका लागि युनियनको केन्द्रीय समितिको समन्वयमा कर्णालीबाट प्रतिनिधित्व गर्ने युनियनका केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिने निर्णय गरेको छ । यस्तै आगामी जेठ १३ गते युनियनको महाविधेशन तोकिएको मितिमै हुनुपर्ने निर्णय पनि भेलाले गरेको छ । साथै युनियनको केन्द्रीय नेतृत्वले विवादित देखाएका कर्णालीका सुर्खेत, दैलेख र कालीकोट जिल्लाका हकमा दुई वर्ष अगाडि अधिवेशन गराउने केन्द्रीय अध्यक्ष बरिष्ठ उपाध्यक्ष, महासचिवलगायतको पदाधिकारीहरु नै यी जिल्लामा उपस्थित भएर अधिवेशन गराएको हुँदा आफूहरु उपस्थित भएको अधिवेशन नै विवाद देखाइएकोमा भेलाले आपत्ति जनाएको छ । साथै दैलेख शाखामा केन्द्रीय समितिले अबिलम्ब सदस्यता पठाउन पनि भेलाले माग गरेको छ । भेलाले आगामी महासंघ र अकोराबको चुनावमा प्रेस युनियनका उम्मेदवारहरुलाई निर्वाचित गराउनका लागि एकढिक्का भएर लाग्ने निर्णय पनि गरेको छ ।
कर्णालीको भेला नेपालगन्जमा गरिएकोम अापत्ति
शनिवार नै नेपाल प्रेस युनियनले लुम्बिनी र कर्णाली प्रदेशको भेला तथा प्रशिक्षण नेपालगन्जमा आयोजना गरेको छ । कर्णालीको भेला कर्णालीमा नै नगरी अर्को प्रदेशमा गरिएमा आक्रोश पोखिएको छ । मुलुक संघीय संरचनामा गएको बेला कर्णाली छुट्टै प्रदेश भएको प्रेस युनियनको केन्द्रीय नेतृत्वलाई अझै थाहा नभएको भन्दै व्यंग्य गरिएको छ । कर्णालीका विभिन्न जिल्लाका युनियन सम्वद्ध पदाधिकारीलाई नेपालगन्जमा बोलाइ कार्यक्रममा सहभागी गराइएको छ । तर कर्णालीका बहुमत जिल्लाले नेपालगन्जमा नगइ शनिवार सुर्खेतमै गरिएको भेलामा सहभागी भइ आक्रोश पोखका छन् । युनियनका केन्द्रीय सचिव सचिव खिला कार्कीले कर्णाली प्रदेशको भेला सम्बन्धित प्रदेशमै गर्न लागिएकोले आफूहरु प्रदेशका साथीहरुलाई साथ दिन कर्णाली प्रदेशको भेलामा आएको बताउनुभयो । प्रेस युनियन सुर्खेतका अध्यक्ष नरेश सिंह थापाले कर्णाली प्रदेशको भेला अर्को प्रदेशमा गरिएको हुँदा आफूहरु त्यसमा असहमति जनाएर सुर्खेतको समन्वयमा यहीं गर्नुपरेको बताउनुभयो । उहाँले सुर्खेतमा गरिएको कार्यक्रम कुनै छुट्टै नभएको भन्दै कर्णालीको युनियनको प्रतिष्ठता बचाइएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap