४ जेष्ठ २०८१, शुक्रबार

सुर्खेत उपत्यका खानेपानीद्वारा मनपरी धारा वितरण

कर्णाली प्रदेश मुख्य समाचार समाचार
सुर्खेत उपत्यका खानेपानीद्वारा मनपरी धारा वितरण
0 Shares

सुर्खेत ।

सहज रुपमा खानेपानी आपूर्ति गर्न नसकिरहेको गुनासो आइरहेको बेला सुर्खेत उपत्यका खानेपानी संस्थाले मनपरी धारा वितरण गरेको पाइएको छ । संस्थाले मनपरी धारा वितरण गरेपछि संस्थाकै पदाधिकारीले आपत्तिसमेत जनाएका छन् ।

उनीहरुले संस्था भित्र भएको बेथित तथा पुरानो सम्झौतालाई कार्यान्यवन गर्न माग गर्दै शुक्रवार जिल्ला प्रशासन कार्यालय सहित विभिन्न ठाँउमा ज्ञापनपत्र समेत बुझाएका छन् । संस्थाका उपाध्यक्ष दिपे सार्की, सचिब चन्द्रबहादुर सुनार र कोषाध्यक्ष रामबहादुर गौतमद्वारा हस्ताक्षरित ज्ञापनपत्र सम्बन्धित निकायमा बुझाइएको हो ।
उनीहरुले विगत तीन बर्ष अघिदेखि नयाँ धारा जडानका लागि दर्ता गरिएका आवेदन फारामहरुको रोलक्रम अनुसार धारा वितरण नगरी आफू निकटकालाई वितरण गरिएको आरोप लगाएका छन् । संचालक समितिको अवधि सकिँदापनि पदाधिकारीले संस्थाको सम्पत्ति दुरुपयोग गरेको आरोप पनि उनीहरुको छ । संस्थाका कोषाध्यक्ष रामबहादुर गौतमले खानेपानी उपभोक्ता समितिमा देखिएको समस्या समाधानका लागि छलफल गरिदिन यहाँका राजनीतिक दल,नागरिक समाज, प्रदेश सरकार तथा जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्नुभएको छ ।
उहाँले संस्थामा उत्पन्न विवादका कारण सुर्खेत उपत्यकावासीले आवश्यकता अनुसारको खानेपानीको उपभोग गर्न नपाएको बताउनुभयो । संचालक समितिको अबधि सकिएको दुई बर्ष भइसकेको अवस्थामा पनि मनपरी रुपमा संस्थाको गतिविधि भइरहेको उहाँको भनाइ छ । यसअघि संस्थामा उत्पन्न विवादलाई संवाद समूहको समन्वयमा जिल्लास्थित सर्वदलीय सर्वपक्षीय बैठक आयोजना गरेर संस्थाको कामलाई प्रभावकारी बनाउने निर्णय गरिएको थियो । यस्तै संस्थाको आर्थिक भार कम गर्न स्थानीय तह वा प्रदेश सरकारलाई हस्तान्तरण गरी तीन महिनाभित्र संचालन गर्ने निर्णय भएपनि हालसम्म कार्यान्वयनमा भएको छैन ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap