४ जेष्ठ २०८१, शुक्रबार

ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्ने मै हुँ, अहिले पछुतो भइरहेको छः नेपाल

कर्णाली प्रदेश मुख्य समाचार समाचार
ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्ने मै हुँ, अहिले पछुतो भइरहेको छः नेपाल
0 Shares

सुर्खेत ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाहाल—नेपाल समूहका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय नमानेर पार्टी भन्दा माथि हुन खोजेकोले आफूहरु अलग भएको बताउनुभएको छ । उहाँले ओलीको गुटगत प्रवृत्ति र स्वेच्छाचारिताका विरुद्ध अलग भएर उनीविरुद्ध आन्दोलनमा उत्रिएको उल्लेख गर्नुभयो ।

विहीवार सुर्खेतमा आयोजना गरिएको विरोधसभामा बोल्दै अध्यक्ष नेपालले पार्टीमा तानाशाहको जन्म भएको, जसले पार्टीको सुझाव मान्दैन, जसले पार्टीको विधान भन्दा माथि छु भन्छ, उसैले पार्टी र देशलाई संकटमा पार्न लागेको हुँदा पार्टी र देशलाई बचाउन आफूहरु ओलीबाट अलग भएको बताउनुभयो । उहाँले ओलीले आफूहरुलाई दास बनाउने, हनुमान बनाउन खोजेको हुँदा त्यसको प्रतिवाद गर्न अलग हुनुको विकल्प नरहेको उल्लेख गर्नुभयो । उहाँले ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने व्यक्ति आफू नै भएकोले अहिले पछुतो लागेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, मैले नै हो ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने, तर के गर्नु, अहिले पछुतो लागिरहेको छ ।
अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर संवैधानिक कु गरेको आरोपसमेत लगाउनुभयो । उहाँले आफ्नो कुर्सीको आयु लम्ब्याउनका लागि संसद भंग गरेको भन्दै चुनाव हुन्छ भनेर भ्रमसमेत फैलाइरहेको आरोप लगाउनुभयो । बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नै संविधानमा छैन भन्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले संविधान मिचेर भंग गरेको तर अदालतले न्याय दिने आशा व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीलाई बारम्बार सुध्रने मौका दिइएको र प्रयास पनि गरेको तर नमानेका कारण पार्टीलाई भड्खालोमा हाल्न लागेको देखेर आफूहरु अलग भइ संकट समाधान गर्न लागेको जिकिर अध्यक्ष नेपालले गर्नुभयो । संसद पुनस्र्थापना भएमा ओलीलाई बाईबाई गर्ने उहाँको भनाइ छ । पार्टीले तीन दिन अघि ओलीलाई कारबाही गरेको पत्र बालुवाटार पठाउँदा पनि नबुझेको जानकारी दिदैं नेता नेपालले अव पार्टीको साधारण सदस्यबाट समेत निकालिने बताउनुभयो ।
पार्टीभित्र, संसदभित्र आफूहरु नै बहुमतमा रहेकोले बास्तविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफूहरु नै भएको दावी नेता नेपालले गर्नुभएको छ । ओली अल्पमतमा परेकोले सामना गर्ने आँट नभएको भन्दै नेता नेपालले ओलीको पक्षमा नलाग्न कार्यकर्ताहरुलाई सुझाव दिनुभयो । विगतमा पनि ओली पार्टीको लागि समस्या बनेको स्मरण गर्दै नेता नेपालले अहिले पार्टी र देशका लागि नै समस्या बनेको टिप्पणी गर्नुभयो । ओलीलाई विगतमा आफूले दुई महिना डेरामा बसालेर भात खुवाएको स्मरणसमेत नेता नेपालले गर्नुभयो ।
पुष्पकमल दाहाल प्रचण्डको पिठ्युँ चढेर ओली प्रधानमन्त्री भएको र अहिले प्रचण्डलाई लात्ती हानेर फालेको नेता नेपालले बताउनुभयो । देश बनाउने, विकास गर्ने भनेर ओलीले जति पनि भनेका छन्, ती सवै झुठ भएको भन्दै नेता नेपालले ओलीको झुठको पुलिन्दाको विश्वास नगर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । पार्टीभित्र आफूहरुलाई काम गर्न दिइएन भनेर ओलीले गरेको प्रचार गलत भएको भन्दै नेता नेपालले झुठ नबोल्न, नक्कली कुरा नगर्न, विधिविधान मान्न आग्रह गरेको बताउनुभयो । आफ्नो समूहसहित प्रतिपक्ष कांग्रेस, जनता समाजवादी पार्टी सवै आन्दोलनमा भएको हुँदा ओली अहिले एक्लै भएको टिप्पणी उहाँको छ । नेता नेपालले भाषणको धेरैजसो समय प्रधानमन्त्री ओलीलाई गाली गर्नमै खर्चनुभएको थियो ।
कार्यक्रममा नेकपा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको विरोध गर्नुभयो । उहाँले देश र जनताको अभिमतलाई समेत लत्याएर संविधान कुल्चेको भन्दै त्यसका विरुद्ध आन्दोलनको विकल्प नरहेको बताउनुभयो । पार्टी एकता विथोल्ने काममा प्रधानमन्त्री ओली लागेको स्मरण गर्दै उहाँले ओलीकै कारण अहिले देश र पार्टीमा संकट आएको जिकिर गर्नुभयो ।
नेकपा सुर्खेतका अध्यक्ष धु्रवकुमार शाहीको अध्यक्षतामा भएको विरोधसभामा निवर्तमान वन मन्त्री शक्ति बस्नेत, पार्टीका सहइन्चार्ज एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, नेताहरु कालीबहादुर मल्ललगायतले सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap