३० बैशाख २०८१, आईतवार

बेतबाँसका सामग्रीको माग बढ्दो

कर्णाली कृषि / पर्यटन प्रदेश समाचार
बेतबाँसका सामग्रीको माग बढ्दो
0 Shares

सुर्खेत ।

कर्णाली प्रदेशमा बेतबाँस तथा निगालोका सामग्रीहरुको माग बढ्दो छ । स्थानीय सामग्री प्रयोग गरेर बनाइएका सामग्रीहरु बलियो, टिकाउ हुने भएकोले बजारहरुमा यसको माग बढेको हो । बजारको मागलाई पूर्ति गर्नका लागि सुर्खेतका दुई वटा सामुदायिक वन समूहमा आवद्ध उपभोक्ताहरुलाई भैरव वेतबाँस उद्योगले बेतबाँस तथा निगालोको सामग्री उत्पादन गर्ने तालिम दिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ४ का भैरम सामुदायिक वन र जनजागरण सामुदायिक वनमा आवद्ध करिव २० जना महिलालाई उद्योगले नगरपालिका तथा स्याक नामक संस्थासँग समन्वय गरी एक महिने तालिम दिएको हो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बेतबाँस र निगालोका सामग्रीहरुको माग अत्यधिक भएकोले तालिम लिएकाहरुलाई ती सामग्रीहरु उत्पादन गर्न सुझाव दिनुभयो । उहाँले आवश्यक कच्चा पदार्थ बेतबाँस तथा निगालो बृक्षारोपणमा सहयोग गर्ने र उत्पादित सामग्रीहरुलाई बजारीकरणमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै सामग्रीहरु उत्पादन गरिरहन आग्रह गर्नुभयो ।

वडा नं. ४ का वडाअध्यक्ष निलकण्ठ खनालले बाहिरबाट आउने सामग्रीलाई अव बेतबाँस र निगालोका सामग्रीहरुले प्रतिस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले बेतबाँसका सामग्रीहरुको माग वीरेन्द्रनगरको बजारमा रहेकोले बिक्री हुँदैन कि भनेर चिन्ता नगर्न आग्रह गर्नुभयो । बजारमा विक्ने सीप सिकेको भन्दै अव त्यसबाट स्वरोजगार बनी आयआर्जनमा सरिक हुन उहाँले सुझाव दिनुभएको छ ।
वेतबाँसका सामग्री उत्पादनको तालिममा सहभागी पुष्पा गौतमले तालिम प्रशिक्षण बढाए र कच्चा पदार्थको उपलव्धता भएमा सामग्रीहरु उत्पादन गर्न सकिने बताउनुभयो । उहाँले आफूहरुले उत्पादन गरेका सामानहरुको बजारीकरणमा पनि सहयोग गरिदिन माग गर्नुभयो ।
भैरव बेतबाँस उद्योगका अध्यक्ष अमरबहादुर कार्कीले एक महिनाको आधारभूत तालिमबाट जुत्ता राख्ने ¥याक, टोकरी, बास्केट, टि टेबुल, कुर्सीहरु बनाउन सकिएको बताउनुभयो । उहाँले प्रशिक्षणकै क्रममा व्यापारीहरुले सामानको माग गरिसकेको भन्दै यसबाट हौसला मिलेको उल्लेख गर्नुभयो । आगामी दिनमा बजारको मागका आधारमा बेतबाँस र निगालोका सामग्रीहरु उत्पादन गरिने जानकारी दिनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap