१ जेष्ठ २०८१, मंगलवार

शहीद पार्क बन्यो, सुरक्षाको जिम्मा कसको ?

कृषि / पर्यटन प्रदेश मुख्य समाचार समाचार
शहीद पार्क बन्यो, सुरक्षाको जिम्मा कसको ?
15 Shares

सुर्खेत
कर्णाली प्रदेश सरकारले प्रदेश प्राप्तिका लागि शहीद भएकाहरुको सम्झनामा वीरेन्द्रनगर नगरपालिका वडा नं ४ मा निर्माण गरेको शहीद स्मृति पार्कको सुरक्षा र संरक्षण कसले गर्ने भन्नेमा अन्यौल देखिएको छ । वन तथा वातावरण निर्देशनालयले भ्याट बाहेक एक करोड १३ लाख ५१ हजारको लागतमा पार्क निर्माण गरेको हो ।
पार्कको पहिलो चरणको काम गत असोजमा सकिएको हुँदा सुरक्षा र संरक्षण कसले गर्ने भनी अन्यौलता छाएको छ । पार्क निर्देशनालयले निर्माण गरेको, प्राविधिक सहयोग वीरेन्द्रनगर नगरपालिकाले गरेको र स्थानीय भैरम सामुदायिक वनभित्र रहेको हुँदा कुन निकायले संरक्षण गर्ने भन्ने तोकिएको छैन । अभियान निर्माण सेवा कालीकोटले गत असोजमा पार्कको काम सकेको हो । त्यसपछि संरक्षण कसले गर्ने भन्ने अन्यौल छ ।
निर्माण कम्पनीले दुई महिना रेखदेख गर्न भनी भैरम सामुदायिक वनलाई २२ हजार रुपियाँ दिएको थियो । वनका अध्यक्ष अमरबहादुर कार्कीले निर्माण कम्पनीले दिएको रकमले कात्तिक र मङ्सिर महिनामा एक जना पाले राखेर रेखदेखको जिम्मा दिए पनि पुसदेखि कसरी बजेट व्यवस्थापन गर्ने र बजेट नभएमा कसले संरक्षण गर्ने भन्ने अन्यौल छाएको बताउनुभयो । उहाँले संरक्षणका लागि बजेटको व्यवस्था गरिदिन निर्देशनालय, नगरपालिकासँग आग्रह गरिएको बताउँदै यदि संरक्षण हुन नसकेका टुटफुट हुने जोखिम रहेको उल्लेख गर्नुभयो ।
संरक्षण र सुरक्षा हुन नसक्दा पार्कभित्र रहेको पानीको फोहोराहरुमा केटोकेटीहरु पौडी खेल्ने, गमलाहरु टुटफुट हुनसक्ने जोखिम बढी छ । पार्क सुरक्षाका लागि वरिपरि पर्खाल लगाउन थालिए पनि पुरा भएको छैन । वनभित्र भएकोले जोकोही पनि सजिलै जान सक्ने र पाले नहुँदा सामानहरु चोरिने, तोडफोड हुनसक्ने बढी जोखिम रहेको वन समूहका अध्यक्ष कार्कीले बताउनुभयो । सुरक्षा दिन नसक्ने होभने पार्कको अवस्था भताभुंग हुनसक्ने उहाँको भनाइ छ ।
यता प्रदेश वन तथा वातावरण निर्देशनालयले भने अर्को व्यवस्था र पार्क पूरा नभएसम्मको लागि पार्क निर्माण भएको क्षेत्र भैरम सामुदायिक वन उपभोक्ता समितिले नै संरक्षण गर्नुपर्ने बताएको छ । निर्देशक शिवराम अधिकारीले वन समूहको कार्ययोजनामा नै पार्क स्वीकृति गरी पर्यटक भित्र्याउने भनिएकोले अर्को व्यवस्था नभएसम्मका लागि सामुदायिक वन समूहले नै सुरक्षा र संरक्षणको जिम्मा लिनुपर्ने बताउनुभयो । उहाँले पाँच वर्षभित्र पूर्णरुपमा पार्क निर्माण गरिसक्ने भएकोले पहिलो चरणको काम सकिएको र अर्को चरणको लागि बजेट माग गरिएको जानकारी दिनुभयो ।
पहिलो चरणमा पार्क, स्तम्भ, बगैर्चा, पर्खाल निर्माणको काम भइरहेको छ । दोस्रो चरणमा बनस्पति उद्यानलगायत निर्माण गरिनेछ । निर्देशक अधिकारीले वन समूहको हाताभित्र भएकोले यसको सुरक्षा र संरक्षणको पाटो पनि वन समूहकै भएको जिकिर गर्नुभयो ।
पार्क संरक्षणका लागि कुनै बजेट छैन । पारिश्रमिक विना कसैले पनि संरक्षण र सुरक्षा दिन सक्दैन । पार्क पनि हस्तान्तरण गरिएको छैन । हस्तान्तरण गरिए भए सोही अनुसार संरक्षण हुनसक्थ्यो । निर्देशनालयका निर्देशक अधिकारीले अहिले पार्क हस्तान्तरण नभएकोले थप सुरक्षा र संरक्षणका लागि वन समूहले नै गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap