३० बैशाख २०८१, आईतवार

सुर्खेत विमानस्थल धावनमार्ग विस्तार प्रक्रिया शुरु, ३०० मीटर थप्ने निष्कर्ष

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार समाचार
सुर्खेत विमानस्थल धावनमार्ग विस्तार प्रक्रिया शुरु, ३०० मीटर थप्ने निष्कर्ष
61 Shares

सुर्खेत ।
सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार तथा स्तरोन्नतिको प्रक्रिया शुरु गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा विमानस्थल धावनमार्ग विस्तारको प्रक्रिया शुरु भएको हो । विहीवार सरोकारवालाहरुको बैठक बसी धावनमार्ग तीन सय मीटर थप गर्ने औपचारिक निष्कर्ष निकालिएको छ ।
हालको एक हजार २५५ मीटरको धावनमार्गलाई तीन सय मीटर थप गरी एक हजार ५५५ मीटर बनाउने निष्कर्ष निकालिएको हो । बैठकले धावनमार्ग एक हजार ५५५ मीटर बनाउने निर्णय गरेपछि औपचारिक रुपमा हालको धावनमार्गमा तीन सय मीटर थपिने भएको हो ।
संघीय मन्त्रिपरिषदको बैठकले गत मंसिरको दोस्रो साता सुर्खेत विमानस्थलका लागि ३० विघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुमति दिएको थियो । जसलाई आधार मानेर सुर्खेत विमानस्थलको धावनमार्ग तीन सय मीटर थप्ने जनाइएको छ । धावनमार्ग उत्तरतर्फ विस्तार गर्न सुझाव दिइएको छ । बैठकले हालको एक हजार २५५ मीटरको धावनमार्गलाई तीन सय मीटर थप गरी एक हजार ५५५ मीटर बनाउने र रात्रीकालीन उडान गर्न सकिने विमानस्थलको रुपमा विस्तार गर्ने निर्णय गरेको छ ।
यस्तै धावनमार्ग विस्तारका लागि नेपाल सरकारले तोकेका प्रारम्भिक अधिकारीले प्रस्तावित जग्गा अधिग्रहण क्षेत्रको जग्गाको कित्ता विवरण (क्षेत्रफल र तीनपुस्ते) यथासिघ्र तयार गरी जग्गा रोक्का प्रक्रिया अघि बढाउने, धावनमार्ग विस्तार एवं स्तरोन्नत्तिका क्रममा आउनसक्ने विविध समस्या समाधान गर्न कर्णाली प्रदेश सरकारले सर्वदलीय एवं सर्वपक्षीय समिति गठन गर्ने पनि बैठकले गरेको छ ।
यसैगरी धावनमार्ग विस्तारका लागि जग्गा प्राप्ति प्रक्रियया सिघ्र अघि बढाउन प्रमुख जिल्ला अधिकारीले तीन दिनभित्र मूल्यांकन समितिको वैठक आव्हान गरी काम अघि बढाउने, विमानस्थल विस्तारका लागि मुआव्जा वितरणमा लाग्ने कूल लागतको ५० प्रतिशत रकम कर्णाली प्रदेश सरकारले व्यहोर्ने सहमति भए अनुसार त्यस मध्यको पाँच प्रतिशत लागत रकम वीरेन्द्रनगर नगरपालिकाले व्यहोर्ने निर्णय गरिएको छ ।
बैठकमा सहभागी वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले विमानस्थल विस्तारको कामलाई छिटोभन्दा छिटो अगाडि बढाउने निष्कर्षसहित काम गर्न सुझाव दिइएको बताए । उनले कूल लागतको ५० प्रतिशत प्रदेश सरकारले व्यहोर्ने र त्यसको पनि पाँच प्रतिशत प्रदेश राजधानीको वीरेन्द्रनगर नगरपालिकाले व्यहोर्ने निर्णय गरिएको जानकारी दिए । विगतमा धावनमार्गका लागि कति क्षेत्रफल विस्तार गरिने भन्ने कुनै एकीन नभएकोले बुधवारको बैठकले सरकारले अनुमति दिएको ३० विघाभित्र पर्ने गरी तीन सय मीटर थप गर्ने निष्कर्ष निकालिएको उनको भनाइ छ ।
सुर्खेत नागरिक उड्डयन प्राधिकरणले विमानस्थल धावनमार्ग विस्तारका लागि उत्तरतर्फ र लाइटिङका लागि दक्षिणतर्फ विस्तार गर्न प्रारम्भिक खाका निकालेको छ । उत्तरतर्फ ४६० मीटर, दक्षिणतर्फ दुई सय मिटर र चौडाई १६० मीटर जग्गा अधिग्रहण गर्नुपर्ने प्राधिकरणको प्रारम्भिक खाका छ ।
२०२३ सालमा निर्माण गरिएको सुर्खेत विमानस्थलको धावनमार्ग एक हजार मीटर थियो । छ वर्ष अगाडि २५० मीटर विस्तार गरिएको थियो । अहिले फेरि तीन सय मीटर थप्नुपर्ने निष्कर्ष निकालिएको छ । पटक पटक थप गर्नुभन्दा एकै पटक विस्तार गर्न आवाज उठेको छ । धावनमार्ग छोटो र साँघुरो हुँदा ठूला जहाजहरुले हवाई सेवा गर्न सकेका छैनन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap