४ जेष्ठ २०८१, शुक्रबार

बल्ल व्युँझियो कांग्रेस

प्रदेश मुख्य समाचार समाचार
बल्ल व्युँझियो कांग्रेस
8 Shares

सुर्खेत ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जनताका समस्याहरु बोकेर बल्ल सडकमा उत्रिएको छ । संघीय तथा प्रदेश निर्वाचनमा प्रतिपक्षमा गएपछि कांग्रेसले जनताको समस्या न संसदमा न सडकमा खरोरुपमा बोल्न नसकेको आरोप लागिरहेका बेला सोमवार ७७ वटै जिल्लामा सडकमा उत्रिएर वर्तमान सरकारको गतिविधिका विरुद्ध बोलेका छन् ।
यसैक्रममा नेपाली कांग्रेस सुर्खेतको आयोजनामा सोमवार वीरेन्द्रनगरमा विरोधसभाको आयोजना गरिएको छ । मंगलगढी चोकबाट विभिन्न नारा लगाउँदै बजार परिक्रमा पनि पिपलचौतारीमा सभामा परिणत भएको थियो । सभामा कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शिवराज जोशीले दुई तिहाईको कम्युनिष्ट सरकारले जनताको पक्षको कुनै काम गर्न नसकेको बताए । उनले स्थिर सरकार हुँदा पनि नेकपा आफ्नै पार्टीभित्र कुर्सी तानातानको खेलमा लागेको भन्दै कोरोना महामारीमा पनि सरकार चुकेको उल्लेख गरे । अहिले अन्याय, भ्रष्टाचार, बेथिति बढेको भन्दै उनले मुलुको समृद्धि र दिगो शान्तिका लागि कांग्रेसको आवश्यकता रहेको दावी गरे ।
कांग्रेस सुर्खेतका पूर्व सभापति एवं पूर्व राज्यमन्त्री तप्तबहादुर विष्टले कम्युनिष्ट पार्टीको झगडाले नेपाली जनता आत्तिसकेको बताए । उनले केपी ओली नेतृत्वको सरकारले जनतामाथि ज्यादति लादेको भन्दै अव कांग्रेसको आवश्यकता बढेको बताए । सभामा महिला संघका केन्द्रीय कोषाध्यक्ष जानकी सिंहलगायतले वर्तमान सरकारको निरंकुश कार्यशैलीको विरोध गरेका थिए ।
नेपाली कांग्रेसले सोमवारको विरोधसभालाई प्रभावकारी बनाउन विभिन्न जिल्लाहरुमा केन्द्रीय स्तरका नेताहरु खटाएको थियो । कर्णाली प्रदेश राजधानी सुर्खेतमा भने केन्द्रीय नेतृत्वले केन्द्रीय नेताहरु पठाउन आवश्यक ठानेन । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काकै गृह जिल्लामा प्रभावशाली नेताहरुलाई अन्यत्र पठाइयो । महामन्त्री खड्का आफू आएको भए विरोधसभा प्रभाकारी हुन्थ्यो । त्यति नभए सुर्खेतबाटै प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य हृदयराम थानीलाई वक्ता तोकेको भए हुन्थ्यो । थानीलाई जाजरकोटको वक्ताको रुपमा पठाइयो । पार्टीको केन्द्रीय नेतृत्वमा रहने नेताले गृह जिल्लालाई नै बेवास्ता गरेको देखिएको छ । केन्द्रीय नेतृत्वले कुनै वक्ता नखटाएपछि पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शिवराज जोशीलाई सोमवारको विरोधसभाको प्रमुख वक्ताको रुपमा बनाइएको थियो ।
सत्तामा सवैभन्दा धेरै समय रहँदा केही गर्न नसकेको र प्रतिपक्ष हुँदा जनताको आवाज सडक र संसदमा प्रभावकारी रुपमा राख्न नसकेको आरोप कांग्रेसले खेप्दै आएको छ । कोरोना महामारी प्रभावकारी रुपमा नियन्त्रणमा ल्याउन नसकेको, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको, पार्टी भित्रको किचलोले सरकार अस्थिर जस्तै भएको, महँगी, बलात्कार तथा अराजकता बढेको बेला कांग्रेसले सडकमा उत्रिनुले ढिलै भएपनि व्युँझिएको महसुस गरेका छन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap