३१ बैशाख २०८१, सोमबार

मालपोतको सेवा सहज बनाउन पालो सिस्टम लागू

कर्णाली प्रदेश मुख्य समाचार समाचार
मालपोतको सेवा सहज बनाउन पालो सिस्टम लागू
4 Shares

सुर्खेत ।
मालपोत कार्यालयमा दैनिक सेवाग्राहीको अत्यधिक भीड बढेपछि पालो सिस्टम लागू गरिएको छ । आइतवारदेखि लागू हुने गरी कार्यालयले सूचना प्रकाशित गरेर पालो अनुसार काम गर्ने जनाएको हो ।
सूचना अनुसार कार्यालयमा मंगलवारदेखि शुक्रवारसम्म वीरेन्द्रनगर नगरपालिका भित्रको काम गर्ने र आइतवार तथा सोमवार चौकुने गाउँपालिका, बराहताल गाउँपालिका, चिंगाड गाउँपालिका, लेकबेसी नगरपालिका, पंचपुरी नगरपालिका र भेरीगंगा नगरपालिकाको काम गरिनेछ । कार्यालय प्रमुख लक्ष्मी खत्रीले सेवाग्राहीको चाप अत्यधिक बढ्दा र कोभिड—१९ को जोखिमलाई कम गर्न पालो अनुसार काम गर्ने प्रणाली लागू गरिएको बताइन् । उनका अनुसार हाल दैनिक सयौं सेवाग्राही आउँदा कार्यालयमा थामि नसक्नुको भीड हुने गरेको छ । सेवाग्राहीले पनि सेवा असहज, ढिलो भएको गुनासो आएपछि पालो अनुसार काम गर्दा केही सहज र छिटो हुने विश्वासले यसो गर्न लागिएको उनको भनाइ छ ।
दुई कर्मचारी आए
कार्यालयमा उपकरण तथा जनशक्तिको पनि अभाव छ । जनशक्ति तथा उपकरणको माग सम्बन्धित कार्यालयहरुसँग माग गरिएको भन्दै उनले आएमा केही सहज हुने उल्लेख गरिन् । कार्यालयले काम गर्दा भीड बढेको, ढिलासुस्ती भएको भन्दै गत बुधवार वीरेन्द्रनगर नगरपालिकालाई दुई जना कम्प्यूटर अपरेटरसहित कम्प्यूटर र बायोमेट्रिक फिंगर क्यामेरासहित उपलव्ध गराइदिन पत्र लेखेको थियो । जस अनुसार आइतवार नगरपालिकाले दुई जना प्राविधिक मालपोत कार्यालय पठाएको छ । मालपोत अधिकृत खत्रीले नगरपालिकाबाट जनशक्ति आएकोले उपकरणहरु जोडेर तत्काल काम थालिहाल्ने जानकारी दिइन् । साथै अव काममा केही सहज र छिटो हुने अपेक्षा उनले व्यक्त गरिन् ।
पुरानो नापीको भवन रित्तै
यसैगरी मालपोतलाई भवन पनि अभाव भएको छ । कार्यालय नजिक रहेको पुरानो नापी कार्यालयको भवनलाई प्रयोग गर्न भूमि सुधार मन्त्रालय तथा कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई पनि आग्रह गरिएको छ । मालपोत अधिकृत खत्रीले कार्यालयसँगै रहेको साविकको नापी कार्यालयको भवनलाई प्रयोग गर्न पत्राचार गरेको तर केन्द्रले प्रदेश सरकार मातहतको भएको हुँदा प्रदेशसँग समन्वय गर्न भनेको बताइन् । उक्त कार्यालयमा अहिले उद्योग पर्यटन तथा वन वातावरण मन्त्रालयको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र रहेको छ । उक्त कार्यालयमा एक जना कर्मचारी बसिरहेका छन् । मालपोत कार्यालयको साँघुरो भवनमा सेवाग्राहीको अत्यधिक भीड लाग्ने गरेको छभने नजिकै सडक प्रशिक्षण केन्द्र रित्तै रहेको छ । प्रदेश सरकार मातहतमा प्रशिक्षण केन्द्र रहेकोले त्यसको वारेमा प्रदेश सरकारले नै निर्णय गरेको भए राम्रो हुने मालपोत अधिकृत खत्रीले बताइन् ।
पश्चिममा मालपोत कार्यालय माग
केही समय अघि जिल्ला मालपोतमा अत्यधिक भीड हुने गरी पूर्वी क्षेत्रको सेवाग्राहीका लागि गुर्भाकोट नगरपालिकाको मेहेलकुनामा मालपोत कार्यालय स्थापना गरिएको छ । सो कार्यालय हालको सिम्ता गाउँपालिका र गुर्भाकोट गाउँपालिका हेर्ने गरेको छ । अव पश्चिम क्षेत्रमा पनि मालपोत कार्यालय स्थापना गर्न सकिए पश्चिम क्षेत्रका बासिन्दाका लागि सहज हुने त्यहाँका बासिन्दा बताउँछन् । स्थानीय तिलकराम अधिकारीले पूर्वको मेहेलकुनामा कार्यालय स्थापना भएझैं पश्चिम क्षेत्रमा पनि स्थापना गर्न आवश्यक रहेको बताए । उनले पश्चिममा पनि स्थापना गर्न सकिए त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने र वीरेन्द्रनगरको मालपोत कार्यालयमा भीड कम हुने उल्लेख गरे । मालपोत अधिकृत लक्ष्मी खत्रीले पश्चिम क्षेत्रमा पनि कार्यालय स्थापना गर्न सकिने भएपनि त्यसको निर्णय केन्द्रबाटै हुनुपर्ने बताइन् । पश्चिममा पनि कार्यालय स्थापना गरिए त्यहाँका बासिन्दालाई वीरेन्द्रनगर आउन नपर्ने र यहाँको भीड पनि कम हुने उनको भनाइ छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap