३१ बैशाख २०८१, सोमबार

९ वर्षपछि सिटी बसपार्क

कर्णाली प्रदेश मुख्य समाचार समाचार
९ वर्षपछि सिटी बसपार्क
0 Shares

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सुर्खेत सिटी बसपार्क निर्माण कार्य थालिएको ९ वर्षपछि सञ्चालनमा आएको छ । अदालतसम्म पुगेको विवाद सुल्झिएपछि सोमबारबाट औपचारिक रुपमा बसपार्क सञ्चालनमा आएको हो ।
२०६८ सालदेखि निर्माण कार्य थालिएको सिटी बसपार्क दुई वर्षमै सम्पन्न हुनेगरी सम्झौता भएको थियो । तर बसपार्क निर्माणको जिम्मा पाएको कम्पनीले राम्रोसँग काम गर्न नसकेपछि २०७२ माघदेखि निर्माण कार्य अघि बढेको थियो ।
यो बीचमा पनि दुई पटक म्याद थप गरेपछि गत वर्ष असारमा बसपार्क निर्माणको काम सकिएको थियो । नगरपालिकाले बसपार्क व्यवस्थापनको जिम्मेवारी निजी कम्पनीलाई दिने तयारी गरेपछि सोही स्थानमा निर्माण पूर्वव्यवसाय गरिरहेका व्यवसायीहरु अदालत पुगेका थिए । कहिले व्यापारीहरुको झमेला अदालतसम्म पुग्नु त कहिले कोरोना महामारीका कारण बसपार्क निर्माण भएपनि संचालनमा ढिलाई भएको थियो ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बसपार्क सञ्चालनमा देखिएका सबै विवाद सुल्झिएको बताउँदै बस व्यवसायी, प्रशासन, ट्राफिक प्रहरी लगायतसंग छलफल गरेर बसपार्क सञ्चालनमा ल्याएको जानकारी दिइन् । ‘सिटी बसपार्क सञ्चालनका लागि प्रक्रियागतगत, प्राविधिक समस्याहरु पनि थिए । उनले भनिन्, अहिले ती समस्याहरु समाधान भइसकेका छन् र अब निरन्तर रुपले अगाडि जान्छ ।’ उनका अनुसार सिटी बसपार्कमा ठूला, साना गरेर १०० सवारी साधन सञ्चालनमा आउने छन् ।
बसपार्क सञ्चालनको जिम्मा पाएको भक्तपुरको पीआर कन्स्ट्रक्सनले नगरपालिकालाई मासिक ३१ लाख १५ हजार रुपैयाँ तिर्नुपर्ने छ । सिटी बसपार्क सञ्चालनसम्बन्धी नगरपालिकाले बनाएको कार्यविधिमा यस्तो व्यवस्था गरिएको छ । सटरहरुको भाडा निर्धारण गर्ने जिम्मा कन्स्ट्रक्सनलाई नै दिइएको छ । कन्स्ट्रक्सनले बसपार्क भित्रका ५४ वटा सटरहरुसँगै त्यहाँका ग्यारेज, रेष्टुरेष्ट तथा प्रवेश र पार्किङ शुल्क उठाउन पाउने नगरपालिकाको कार्यविधिमा उल्लेख रहेको छ ।
बसपार्कमा ५४ सटर, ग्यारेज, टिकट काउन्टर, शौचालय, पार्किङस्थल निर्माण गरिएको छ । त्यस्तै यात्रुलाई बस्नका लागि बेग्लाबेग्लै टर्मिनल, गाडी मर्मतका लागि वर्कसप भवन, टिकट काउन्टर, शौचालय निर्माण गरिएका छन् । बसपार्क संचालनका लागि पटक पटक मिति तोकिएको थियो । बसपार्क निर्माण कार्य थालिएपछि क्याम्पस नजिक र मंगलगढी नजिकबाट अस्थायीरुप बसपार्क तोकी संचालन गरिएको थियो ।
यसैवीच यातायात व्यवसायीहरुले नयाँ बसपार्कबाटै सोमवार गाडी छुटाएका छन् । विभिन्न यातायात समितिहरुले आ—आफ्ना काउण्टर राखेर नयाँ बसपार्कबाटै गाडी छुटाएका हुन् । नयाँ सिटी बसपार्क संचालनमा आएपछि पुरानो अस्थायी बसपार्कलाई पार्किङ स्थल बनाउने तयारी थालिएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap