३० बैशाख २०८१, आईतवार

३० विगाह जग्गा अधिग्रहणको स्वीकृतिपछि सुर्खेत विमानस्थल दोस्रो पटक विस्तार हुने निश्चित

अर्थ कर्णाली प्रदेश मुख्य समाचार समाचार
३० विगाह जग्गा अधिग्रहणको स्वीकृतिपछि सुर्खेत विमानस्थल दोस्रो पटक विस्तार हुने निश्चित
0 Shares

सुर्खेत ।
सुर्खेत विमानस्थल धावनमार्ग विस्तारका लागि मन्त्रिपरिषद बैठकले ३० विगाह जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति पाएसँगै दोस्रो पटक विस्तार हुने निश्चित भएको हो । मन्त्रिपरिषदले स्वीकृति दिएपछि सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार गर्न बाटो खुलेको छ ।
एक हजार २५५ मिटर लम्बाई रहेको विमानस्थल साँघुरो र धावनमार्ग छोटो भएको भन्दै कम्तीमा तीन सय मिटर विस्तार गर्न आवाज उठिरहेको थियो । मन्त्रिपरिषदको बैठकले जग्गा अधिग्रहण गर्न स्वीकृति दिएपछि अव धावनमार्ग कम्तीमा एक हजार पाँच सय मिटर लामो गराउन सकिनेछभने साना तथा ठूला जहाज पनि उडान तथा अवतरण गर्न सकिने विश्वास गरिएको छ ।
मन्त्रिपरिषदले जग्गा अधिग्रहण गर्न स्वीकृति दिएपछि विमानस्थल विस्तारमा केही चुनौती देखिएको छ । दक्षिणतर्फ रत्न राजमार्ग र काँक्रेविहार डाँडा रहेको छभने उत्तरतर्फ विद्यालय तथा बाक्लो बस्ती छ । दक्षिणमा काँक्रेविहारको डाँडाले गर्दा सम्भव नभएकोले उत्तरतर्फ विद्यालय तथा बस्ती हटाएर भए पनि विस्तार गर्नुपर्ने आवाज विगतमा उठेको थियो । धावनमार्ग विस्तारका लागि गत असोजमा संघीय सरकार र कर्णाली प्रदेश सरकारवीच गत असोज १५ गते सम्झौता भएको थियो । जसमा दुवै सरकारले ५०÷५० प्रतिशत लगानी गर्ने उल्लेख छ । जग्गा अधिग्रहणका लागि लाग्ने रकममा प्रदेश र संघीय सरकारले आधा आधा व्यहोर्ने बताइएको छ ।
सुर्खेत विमानस्थल विस्तारको माग गर्दै आएको निजी क्षेत्रले पनि मन्त्रिपरिषदको निर्णयको स्वागत गर्दै अव जग्गा अधिग्रहणको कामसँगै विस्तारको काम पनि थाल्न आग्रह गरेको छ । सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले धावनमार्ग विस्तार गर्दा उत्तरतर्फ गर्न सुझाव दिनुभयो । उहाँले दक्षिणतर्फ पनि सम्भावना भएको तर सडक र काँक्रेविहारको डाँडाले गर्दा केही कठिनाइ हुने उल्लेख गर्नुभयो । यद्यपि प्राविधिकरुपमा जता सहज हुन्छ त्यस्ता गर्नुपर्ने उहाँको भनाइ छ । वर्षौंदेखि निजी क्षेत्रले सुर्खेत विमानस्थलको विस्तारको माग गर्दै आएको र अहिले विस्तार गर्न जग्गा अधिग्रहण गर्न स्वीकृति दिएपछि प्रदेशमा हवाई यातायातको चाप बढ्नेछ । यहाँको धावन मार्ग सानो हुँदा ७२ सिटे जहाज आउन नसकेको र निजी क्षेत्रको एउटा ४२ सिटे जहाजले महँगो भाडा लिने गरेको छ । धावनमार्ग विस्तार भएपछि मध्यम जहाजहरु आउने र भाडा पनि सस्तो हुने महासचिव कँडेलले बताउनुभयो ।
सुर्खेत नागरिक उड्डयन प्राधिकरणले हालको धावनमार्गको उत्तरतर्फ विस्तार गर्न सकिने प्रारम्भिक खाका निकालेको छ । प्राधिकरण प्रमुख उमेशकुमार पन्थीले केन्द्रको टोलीले विस्तारको अध्ययन गर्दा लम्बाई उत्तरतर्फ ४६० मिटर, दक्षिणतर्फ करिव दुई सय मिटर र चौडाई १६० मिटर क्षेत्र अधिग्रहण गर्न सकिने प्रारम्भिक निष्कर्ष निकालेको बताउनुभयो ।
दक्षिणतर्फ राजमार्ग भएकोले त्यसभन्दा तलतिर पनि जग्गा अधिग्रहण गरिनेछ । धावनमार्ग भन्दा पनि रात्री उडानका लागि आवश्यक पर्ने बत्तीहरु राख्नका लागि दक्षिणतर्फ पनि अधिग्रहण गर्नुपर्ने प्राविधिहरुले बताएको जानकारी पन्थीले दिनुभयो । उत्तरतर्फ भने बाक्लो बस्ती र विद्यालय छ । यसकासाथै विमनस्थलको मूल गेटनेर टर्मिनल हलपनि बनाइने बताइएको छ । अधिग्रहणको लागि स्वीकृति पाएपछि केन्द्रको टोली आएर सर्वपक्षीय छलफल गरी काम अघि बढाइने उहाँले बताउनुभयो । २०२३ सालमा स्थापना भएको सुर्खेत विमानस्थलको लम्बाई एक हजार मिटर रहेको थियो । छ वर्ष अघि २५० मिटर विस्तार गरी एक हजार २५५ मिटर पु¥याइएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap