३० बैशाख २०८१, आईतवार

घरमा बसेका कोरोना संक्रमितलाई भिडियोबाट चिकित्सकको परामर्श

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
घरमा बसेका कोरोना संक्रमितलाई भिडियोबाट चिकित्सकको परामर्श
8 Shares

सुर्खेत ।
कर्णाली प्रदेशमा होम आइसोलेशनमा बसेका कोरोना संक्रमितलाई घरमै स्वास्थ्य सम्बन्धी परामर्श सेवा दिन थालिएको छ । प्रदेश अस्पतालले होम आइसोलेशनमा बसेका कोरोना सङ्क्रमितहरुको उपचार सहज गराउन विहीवारदेखि टेलिमेडिसिन सेवा शुरु गरेको छ । यसै सेवाबाट संक्रमितहरुलाई चिकित्सकले उपचारलगायतको सेवा प्रदान गर्नेछन् ।
कोरोना सङ्क्रमितले भिडियो मार्फत चिकित्सकहरुसंग परामर्श लिन सक्ने छन् । अहिले लक्षण नदेखिएका अधिकांश सङ्क्रमितहरु घरमै बसेका छन् । सेवाको सुरुवात गर्दै प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रबिन खड्काले होम आइसोलेशनमा बसेका बेला जटिल लक्षण देखिएका कोरोना संक्रमितलाई टेलिमेडिसिन सेवाबाट चिकित्सकले उपचार गर्ने हुनाले सहज हुने अपेक्षा व्यक्त गरे । उनले कर्णाली जस्तो जटिल भौगोलिक अवस्था भएको स्थानका लागि टेलिमेडिसिन सेवाले कोरोना संक्रमितहरुको उपचारको लागि सहयोग सावित हुने विश्वास व्यक्त गरे ।
प्रदेश अस्पतालका निमित्त निर्देशक डा. गणेश थापाले यस सेवाले होम आइसोलेशन बस्नेलाई सहयोग गर्ने बताए । उनले परामर्श सेवाका लागि राखिएको टेलिफोन नम्बर सधैं उठाउन चिकित्सकलाई सुझाव दिदैं टेलिमेडिसिन सेवा प्रभावकारी हुने उल्लेख गरे ।
कर्णालीमा टेलिमेडिसिन सेवाका संयोजक डा. नवराज केसीले चिकित्सकहरुले टेलिमेडिसिन सेवामार्फत संक्रमितहरुको स्वास्थ्य अवस्था बुझ्ने, सल्लाह दिने र जटिल अवस्था आएपछि तत्काल एम्बुलेन्स पठाएर अस्पताल ल्याउने व्यवस्था गर्ने जानकारी दिए । घरमा बस्दा गाह्रो हुने कोरोना सङ्क्रमितको सहजताका लागि यो सेवा शुरु गरिएको उनको भनाइ छ । चिकित्सकहरुसँगको परामर्शका लागि सङ्क्रमितले प्रदेश अस्पतालको फोन. ९८५८०७०२४६ र ९८५८०७०२४८ मा सम्पर्क गर्नुपर्ने हुन्छ । सात वटा प्रदेशमध्ये कर्णालीमा सवैभन्दा पहिला टेलिमेडिसिन सेवा सुरु गरिएको हो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap