२७ बैशाख २०८१, बिहीबार

सालका रुखमा झुसिलकिराको प्रकोपः रुखहरु नाँगै, रोकथामको पहल भएन

कर्णाली प्रदेश मुख्य समाचार समाचार
सालका रुखमा झुसिलकिराको प्रकोपः रुखहरु नाँगै, रोकथामको पहल भएन
0 Shares

सुर्खेत ।
यतिबेला बनमा रहेका सालका रुखहरु हराभरा हुनुपर्ने हो । तर सुर्खेतको वीरेन्द्रनगरस्थित उत्तरी जलाधार क्षेत्रमा भएका सालका रुखजति सवै नाँगै छन् । सालका रुखका पातहरु एउटै छैनन् । बालीनाली खाने जस्तै झुसिल किरा सालको रुखका पातमा बसेर पात खाएपछि रुखहरु नाँगै बनेका हुन् ।
किराले पातभरी सवै खाएपछि अहिले उत्तरी जलाधार क्षेत्रमा रहेका सालका रुखहरुको जंगल चैत बैशाख महिनाझैं उजाड र नाँगो बनेको छ । वीरेन्द्रनगर ४ स्थित भैरम सामुदायिक वन समूहका अध्यक्ष अमरबहादुर कार्कीले साना ठूला सालका रुखको पात अहिले झुसिलकिराले खाएर उजाड बनेको बताउनुभयो । उहाँले विगतमा यस्तै कहिल्यै नभएको स्मरण गर्दै करिव एक महिनादेखि जंगल उजाडलाग्दो भएको उल्लेख गर्नुभयो ।
किराले सालको पातमै लार्भा पार्ने र त्यही ठूलो भएपछि पातजति जम्मै सखाप पार्ने गरेको छ । अहिले सालको रुख मुनि किरैकिरा मात्रै छन् । यससम्वन्धमा डिभिजन बन कार्यालयलाई पनि जानकारी गराइएको उहाँले बताउनुभयो । अझै बर्षातको पानी परिरहेकोले बनजंगल हराभरा हुनुपर्नेमा उजाड बनेको अध्यक्ष कार्कीले जनाउनुभयो । वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्रमा पर्ने जंगलमा अधिकांश साल प्रजातिका रुख तथा बोट विरुवा छन् । अहिले ती सवैमा झुसिलकिरा भरिएका छन् ।
अर्का स्थानीय कुमार पन्तले सालका रुखका पातहरु नाँगै हुँदा पनि सम्बन्धित निकायले रोकथामको पहल गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले किराको प्रकोप यस्तै बढ्दै गएमा सालका रुखहरु काम नलाग्ने अवस्था पुग्ने आशंका गर्नुभयो । जतिसक्यो छिटो किराको प्रकोप हटाउन उहाँले माग गर्नुभयो ।
यता डिभिजन बन कार्यालयले सालका रुखका पात खाने किराको बिषयमा माथिल्लो तहमा जानकारी गराइएको तर कुनै प्रतिक्रिया नआएको जनाएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी टेकबहादुर रावलले सालका रुखका पात खाने किराको प्रकोप बढेको र वन उपभोक्ता समूहहरुले पनि दिनदिनै जानकारी गराउने गरेको बताउनुभयो । उहाँले उत्तरी जलाधार क्षेत्रमा भएका सालका रुखहरुको अनुगमन गरेको र त्यहाँ झुसिलकिरोको प्रकोप बढेको जानकारी दिनुभयो । ती किराले विशेषगरी सालका नयाँ पात र पालुवा नष्ट गर्ने गरेको छ । यस बिषयमा के गर्ने भनेर माथिल्लो निकायलाई जानकारी गराइएको र केही दिनभित्र खबर आउन सक्ने उहाँको भनाइ छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap