२८ बैशाख २०८१, शुक्रबार

कर्णालीको स्वास्थ्य विकासमा उल्लेखनीय उपलब्धी

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कर्णालीको स्वास्थ्य विकासमा उल्लेखनीय उपलब्धी
0 Shares

सुर्खेत ।
कोरोना भाइरसको सङ्क्रमण मुलुकमा बढ्दै जाँदा यसले कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा केही नयाँ अवसरसमेत जुटाइदिएको छ । विगतमा झाडपखाला, हैजाजस्ता सामान्य रोगबाट समेत मृत्युवरण गर्नुपर्ने यस प्रदेशमा अहिले कोरोनाकै कारण स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय विकास भएको छ ।
डाक्टरको अनुहार नै नदेख्ने यस प्रदेशका दुर्गमका बासिन्दाहरुले अहिले विशेषज्ञ डाक्टरबाट उपचार सेवा पाउन थालेका छन् । स्वास्थ्य चौकीहरु अस्पतालमा स्तरोन्नति भएका छन् । आइसियु र भेन्टिलेटर थपिएका छन् । व्यक्तिगत सरसफाईमा सुधार आएको छ । आयुर्वेदिक उपचारप्रति पनि ध्यान गएको छ । यी सवैको विकास कोरोनाकै कारण भएको स्वास्थ्यसँग सम्बद्ध पदाधिकारीहरु बताउँछन् ।
२६ भेन्टिलेटर र ६२ आइसियु वेड
कोरोना महामारी सुरु हुनुभन्दा अघि कर्णाली प्रदेशमा आठ वटा आईसियु वेड र आठ वटै भेन्टिलेटर थिए । प्रदेश अस्पताल सुर्खेतमा पाँच वटा आईसीयू र तीन वटा मात्र तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तीन वटा आईसीयु र पाँच भेन्टिलेटर थियो । तर कोरोना सङ्क्रमण रोक्नका लागि यी दुई अस्पतालमा आईसीयु वेड र भेन्टिलेटर थपिएको छ । हाल डोल्पाबाहेक अन्य सबै जिल्ला अस्पतालमा आईसीयु र भेन्टिलेटर सेवा थप गरिएको छ । स्थापना भएको वर्षाैं वित्दा पनि आईसीयु र भेन्टिलेटर नपुगेका अस्पतालहरुमा कोरोनाले पाँच महिनाको अवधिमा आईसीयु र भेन्टिलेटर सेवा थप गर्ने अवसर पाएका छन् ।
अहिले कर्णाली प्रदेशमा २६ वटा भेन्टिलेटर र ६२ वटा आईसीयु बेड पु¥याइएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । निर्देशक रिता भण्डारी जोशीले कोरोना सङ्क्रमण रोक्नकै लागि पनि अहिले प्रदेशमा भेन्टिलेटर र आईसीयु वेड संख्या थप गरिएको बताउनुभयो । आईसीयु बेड र भेन्टिलेटर थप हुनुलाई ठूलो उपलव्धी मानिएको छ । यस्तै कर्णालीका चार स्थानमा पिसिआर परीक्षण प्रयोगशाला स्थापना गरिएका छन् । सुर्खेतको प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, दैलेख अस्पताल र रुकुम चौरजहारीमा पिसिआर परीक्षण प्रयोगशाला स्थापना गरिएका छन् । कोरोनाकै कारण प्रयोगशाला स्थापना गरिएका हुन् । कर्णालीको स्वास्थ्य क्षेत्रमा यो पनि महत्वपूर्ण उपलव्धी भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
२७ स्थानमा डाक्टरहरु उपलव्ध
कर्णालीका अस्पतलाहरुमै डाक्टरहरु बस्न नमान्ने विगतको अवस्थामा कोरोनाका कारण प्रदेशका सवै जिल्ला र मुख्य स्थानहरुमा अहिले डाक्टरहरुलाई पु¥याइएको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशका १० जिल्लाका सदरमुकाम तथा पायक पर्ने स्थानहरु छनौट गरी २७ स्थानमा डाक्टरको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोली खटाएको छ । उक्त टोली ती स्थानहरुमा बसेर जनतालाई सेवा गर्ने सामाजिक विकास मन्त्री दल रावलले बताउनुभयो । त्यो क्रम अहिले पनि जारी छ । यस्तै कोरोना रोकथाम र प्रतिकार्यका लागि करारमा १७६ जना सामुदायिक नर्स, ३२ जना हेल्थ असिस्टेन्ट र २६ जना स्टाफ नर्स तथा अनमीहरु नियुक्त गरेर जनतालाई सेवा दिइएको छ ।
व्यक्तिगत सरसफाईमा बृद्धि
कोरोना सङ्क्रमण बढ्दै जाँदा व्यक्तिगत सरसफाईमा यहाँका जनताको ध्यान बढेको छ । साबुनपानीले हात धुनुपर्छ, सेनिटाइजर लगाउनुपर्छ, घुलमिल गर्नुहुँदैन भन्ने सोचको व्यापक विकास भएको स्वास्थ्य निर्देशक रिता भण्डारी जोशीले बताउनुभयो । उहाँले कोरोनाको सङ्क्रमण हुन नदिन व्यक्तिगत सरसफाईमा ध्यान दिँदा अन्य रोगको सङ्क्रमण निकै कम भएको दावी गर्नुभयो ।
आयुर्वेदिक उपचार पद्दतिमा आकर्षण
अहिले आयुर्वेदिक उपचार पद्दतिमा पनि आकर्षण बढेको छ । जडिबुटीहरु प्रशस्त पाइने कर्णालीमा आयुर्वेदिक उपचार पद्दति विकास भएको छ । गुर्जाे, कुरिलो, अदुवा, टिम्मुर तथा बेसारको व्यापक प्रयोग गर्ने गरिएको छभने विगतको तुलनामा आयुर्वेदिक औषधिको माग पनि बढेको निर्देशक भण्डारीले बताउनुभयो । यसका साथै योगा, स्वस्थ जीवनशैली र आहारविहारको वारेमा पनि कर्णालीमा सचेतना बढेको छ । यी सवै कोरोनाले विकास गरेको अवसर भएको उहाँको भनाइ छ ।
कर्णालीका सङ्क्रमितमा लक्षण छैन
कर्णाली प्रदेशमा शुक्रवारसम्म दुई हजार ५८९ जना कोरोना सङ्क्रमित देखिएका छन् । ती मध्ये दुई हजार २३९ जना निको भएर घर फर्किएका छन् । अहिले सक्रिय सङ्क्रमितको संख्या ३३७ जना छन् । निको भएर घर गएका सङ्क्रमितहरुमा कोरोनाको कुनै लक्षण नदेखिएको र सक्रिय सङ्क्रमितहरुमा पनि कोरोनाको कुनै लक्षण नदेखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । त्यसैले लक्षण नदेखिएको हुँदा कोरोना अस्पतालमा भेन्टिलेटर र आइसियुमा राखेर उपचार गर्नुपर्ने सङ्क्रमित नभएको महाशाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक बृषबहादुर शाहीले बताउनुभयो । कर्णालीमा अहिलेसम्म करिव ६२ हजार पिसिआर परीक्षण भएको छ । लक्षण नदेखिएपनि जोखिम भने उत्तिकै रहेको उहाँको भनाइ छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap