२९ बैशाख २०८१, शनिबार

लकडाउनपछि रगतको खपत बढ्यो

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
लकडाउनपछि रगतको खपत बढ्यो
16 Shares

सुर्खेत ।
कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लगाएको लकडाउन यता सुर्खेतमा रगतको खपत एक चौथाईले बढेको छ । उपचारका लागि लकडाउनका कारण बाहिर जान नपाएको र अस्पतालहरुमा शल्यक्रियाको दरमा बृद्धि भएपछि रगतको खपतमा पनि बृद्धि भएको हो ।

रेडक्रस उपशाखा भैरवस्थानले आयोजना गरेको रक्तान कार्यक्रममा रक्तदान गरिदैं ।

नेपाल रेडक्रस सोसाइटी सुर्खेतका अनुसार लकडाउनपछि रगतको खपत झण्डै २५ प्रतिशतले बढेको जनाएको छ । रेडक्रसका सभापति रामलाल आचार्यले उपचारका लागि बाहिर जान नपाउँदा सुर्खेतमै उपचार गर्नुपरेकोले रगतको खपत बढेको बताए । यसका साथै प्रदेश अस्पतालमा डायलोसिस सेवापनि सुरु भएकोले रगतको माग र खपत ह्वात्तै बढेको उनको भनाइ छ ।
विगतका बर्षमा मासिक ७० देखि ७५ पिन्ट रगत खपत हुने गरेकोमा लकडाउन यता त्यो संख्या बढेर १२५ पिन्टसम्म पुगेको छ । अस्पतालहरुमा विशेषगरी प्रसुति सेवा र दुर्घटनाका विरामीहरुलाई बढीमात्रामा रगतको आवश्यकता पर्दछ । तर प्रदेश अस्पतालले डायलोसिस सेवा पनि सुरु गर्न थालेपछि त्यसका विरामीहरु उपचारमा आउने र जसले गर्दा रगतको माग र खपतमा बृद्धि भएको सभापति आचार्यले जानकारी दिए । सुर्खेत प्रदेश राजधानी भएसँगै र कोरोना रोकथामको लागि लकडाउन गरेसँगै रगतको माग बढेको हो ।
रगतको मागमा बृद्धि भएपनि आपूर्तिमा भने कमी नआएको रेडक्रसले जनाएको छ । सुर्खेतमा रेडक्रसका उपशाखाहरु, जेसीज तथा लायन्स क्लवहरुलगायत अन्य सामाजिक संघसंस्थाहरुले रक्तदान शिविर संचालन गरेका कारण यहाँ रगत संकलनमा कमी नआएको सभापति आचार्यले बताए । यदि सामाजिक संस्थाहरुले रक्तदान शिविर नचलाउने होभने सुर्खेतमा रगतको अभाव हुनसक्ने उनले औंल्याए ।
त्यसो त, सुर्खेतमा पोजेटिभभन्दा नेगेटिभ रगत समूहको अभाव भने कायमै छ । एवी नेगेटिभ र ओ नेगेटिभ समूहको रगतको समस्या बढी छ । प्रदेश अस्पतालमा रहेको रक्तसंचार केन्द्रका इन्चार्ज देवेन्द्र केसीले सुर्खेतमा पोजिटिभ समूहभन्दा नेगेटिभ समूहको रकमको कमी भएको बताए । यद्यपि नेगेटिभ रगत समूहको आवश्यक परेका विरामीहरुलाई भने अभाव हुन नदिएको उनको भनाइ छ । उनले विगतको तुलनामा रक्तदान गर्नेहरुको संख्या, माग र खपत बढ्दै गएको जानकारी दिए । कुनै सामाजिक संघसंस्थाले आयोजना गरेको शिविरमा ४० देखि ५० पिन्टसम्म रगत संकलन हुने गरेको उनको भनाइ छ । अहिलेसम्म रगतको अभाव सुर्खेतमा भोग्नु नपरेको दावी गर्दै उनले दुर्गम जिल्लाहरुमा सेना, प्रहरी, स्वास्थ्यकर्मीहरुलाई आपतकालमा बोलाएर रगत लिनुपर्ने अवस्था भने नभएको जिकिर गरे ।
१६ पिन्ट रगत संकलन
यसैवीच ५८ औं नेपाल रेडक्रस दिवसको अवसरमा शुक्रवार उपशाखा भैरवस्थानको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । उपशाखा सभापति कृष्णप्रसाद गौतमका अनुसार सो कार्यक्रमबाट १६ पिन्ट बढी रगत संकलन भएको छ । कार्यक्रममा वडा नं. ४ का वडाअध्यक्ष निलकण्ठ खनाल, रेडक्रस सुर्खेतका सभापति रामलाल आचार्यले रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमले रगत संकलन गरी धेरै विरामीहरुको ज्यान बचाएको बताएका थिए । कार्यक्रम रेडक्रस सुर्खेतको समन्वय तथा भैरम सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा भएको हो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap