२१ बैशाख २०८१, शुक्रबार

कर्णालीमा कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्दै, १० दिनमा ४६ जनामा कोरोना पुष्टि

कर्णाली मुख्य समाचार समाचार
कर्णालीमा कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्दै, १० दिनमा ४६ जनामा कोरोना पुष्टि
0 Shares

सुर्खेत । १० दिनको अवधिमा भारतबाट १४ हजार कर्णालीबासी भित्रिएका छन् । जेठ ६ गतेदेखि बुधवारसम्मको अवधिमा १४ हजार बढी बासिन्दा कर्णाली भित्रिएका हुन् । यही अवधिमा भित्रिएका उनीहरुमध्ये अहिलेसम्म ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको सीमा नाका सुर्खेतको बबईमा भारतबाट आएका कर्णालीबासीहरु चढेका बसको लर्को ।

भारतले रेल सेवा खुल्ला गरेपछि अहिले विशेषगरी मौसमी रोजगारका लागि भारत गएकाहरु फर्कनेको ओइरो लागेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार कर्णाली प्रदेशको सीमा नाका सुर्खेतको बबईमा दैनिक एक हजार बढी आइरहेका छन् । बबईमा मानिसहरुको ओइरो लाग्ने गरेको छ ।

बबईमै आरडीटी परीक्षणको पनि व्यवस्था मिलाइएको छ । मन्त्रालयका सूचना अधिकारी कृष्ण रोकायले भारतबाट आउनेहरु बबईमा रोकेर परीक्षण गरेपछि मात्र भित्रिन दिइएको जानकारी दिनुभयो । उहाँले जेठ ६ गते यता दैनिक एक हजारदेखि दुई हजारसम्म कर्णालीबासी भित्रिने गरेको बताउनुभयो । कर्णालीमा २५ हजार बढी भित्रिने अनुमान गरिएको छ ।

कर्णाली प्रदेशमा विहीवारसम्म कोरोना पुष्टि भएका ४६ जना सवै यही अवधिमा भारतबाट आएकाहरु हुन् । भारतबाट आउनेहरुका कारण कोरोना सङ्क्रमण दर तीव्र गतिमा फैलिएको छ । जेठ महिनाअघिसम्म सङ्क्रमित नदेखिएको कर्णालीमा अहिले दैनिकजसो सङ्क्रमण देखिएको छ । विहीवार मात्रै दैलेखका थप आठ जनामा कोरोना पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा सवैभन्दा धेरै सुर्खेतमा कोरोना पुष्टि भएको छ । विहीवारसम्म सुर्खेतका २८ जनामा पुष्टि भएको छ । त्यसपछि दैलेखका १६, बझाङका एक र ठेगाना नखुलेका एक जना रहेका छन् । भारतबाट आएकाहरुलाई बबई नाकामा राखेपछि सुर्खेतकालाई त्यही आरडीटी परीक्षण गरिएको छभने अन्य जिल्लाका लागि बसमा राखेर सम्बन्धित जिल्लाको नाकामा परीक्षणको व्यवस्था मिलाइएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार दुर्गम हिमाली जिल्लाका बासिन्दालाई पनि सुर्खेतमै क्वारेन्टाइनमा बसालेर स्वाव परीक्षण गर्ने गरिएको छभने दैलेख, सल्यान, रुकुम, कालीकोटलगायतका जिल्लाका बासिन्दालाई बसमा राखेर सम्बन्धित जिल्लामै पु¥याई परीक्षणको व्यवस्था मिलाइएको छ ।

यता भारतबाट दैनिक हजारौं बासिन्दा आउन थालेपछि क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनको कामका लागि सेना परिचालन गर्न संघीय सरकारसंग प्रदेश सरकारले स्वीकृति माग गरेको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले जनपद र सशस्त्र प्रहरी परिचालन गरिएपनि अन्य सुरक्षाका काम गर्नुपर्ने हुँदा र भारतबाट आउनेहरुको चाप बढेकोले महामारीको रुप लिनसक्ने भयले क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनका लागि सेना परिचालन गर्ने स्वीकृति संघीय सरकारसँग माग गर्ने निर्णय गरिएको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले क्वारेन्टाइन व्यवस्थापनमा सेना परिचालन गर्न संघीय सरकारसँग स्वीकृति माग गरिएको जानकारी दिनुभयो ।

कर्णालीमा कोरोना सङ्क्रमित पुष्टि भएका सवैलाई सुर्खेतस्थित प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेनमा राखिएको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काले सीमा नाकामा तत्काल क्वारेन्टाइन निर्माण गर्नुपर्ने र त्यो काम नेपाली सेनालाई दिनुपर्ने बताउनुहुन्छ । उहाँले भारतबाट कर्णाली प्रदेश भित्रिनेहरुका कारण कोरोना फैलने भएकोले समयमै सावधानी नआपनाएमा कर्णाली प्रदेशले इटालीको झैं नियति भोग्नुपर्ने ट्वीट गर्नुभएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap