२२ बैशाख २०८१, शनिबार

यी हुन् कर्णालीका सार्वजनिक विदा

कर्णाली मुख्य समाचार
यी हुन् कर्णालीका सार्वजनिक विदा
0 Shares

सुर्खेत । कर्णाली प्रदेश सरकारले २०७७ सालमा प्रदेशभित्र छुट्टै सात दिन सार्वजनिक विदा दिने घोषणा गरेको छ । गत सोमवारको मन्त्रिपरिषदको बैठकले २०७७ सालमा विभिन्न चाडपर्वको गरी थप सात दिन प्रदेशभर विदा दिने निर्णय गरेको हो ।

असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा र चैत १२ गते जुम्लामा धान दिवस, साउन १ गते साउने सङ्क्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवसमा विदा दिने निर्णय गरेको छ । यस्तै असोज कृष्ण त्रयोदशीमा जुम्लामा लिंगो गाड्ने दिन (जुम्ला मात्रै), माघ १ गते माघी, चैते दशैं र फोत्तोलो ल्होसारमा सम्बन्धित समुदायलाई मात्र सार्वजनिक विदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताउनुभयो ।

तिथि अनुसार दिइने विदाको मिति आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई तत् समयमा निर्णय गर्ने अधिकार दिइएको छ ।
यसैगरी कोरोना महामारीबाट प्रभावित तथा संक्रमितको उद्धार तथा क्वारेन्टाइन व्यवस्थापनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै नेपाली सेनासमेत परिचालन गर्नुपर्ने भएकोले सो कार्यको स्वीकृतिका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णयपनि गरिएको छ ।

साथै पूर्वाधार विशेष कार्यक्रम कार्यान्वयनका लागि कर्णाली प्रदेश विनियोजन ऐ, २०७६ को दफा ९ बमोजिम बजेट कार्यान्वयन सहजताको लागि आदेश जारी गर्ने, कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने, कर्णाली प्रदेशमा व्यापार व्यवसायको दर्ता तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने र प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णयपनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap