२३ बैशाख २०८१, आईतवार

वीरेन्द्रनगरको कोरोना रोकथामको यस्तो योजना

कर्णाली मुख्य समाचार समाचार
वीरेन्द्रनगरको कोरोना रोकथामको यस्तो योजना
0 Shares

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना रोकथाम र उपचारका लागि विभिन्न योजनाहरु अगाडि सारेको छ ।

हालै भारतबाट आउनेहरुले कोरोना भित्रयाउने जोखिम बढेपछि वीरेन्द्रनगर नगरपालिकाले सर्वदलीय सर्वपक्षीय बैठकबाट रोकथामको विभिन्न उपायहरु अपनाउने योजना अगाडि सारेको छ । कार्यवाहक नगरप्रमुख मोहनमाया ढकालको अध्यक्षतामा भएको बैठकले विगतमा नगरपालिकाले गरेको कामको समीक्षा गर्दै नयाँ कामहरुको योजना ल्याएको हो ।

सवै वडामा पूर्व सावधानी गृह

नगरपालिकाका सवै वडाहरुमा पूर्व सावधानी गृह बनाउने निर्णय भएको छ । अहिले वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १, ६ र ११ मात्र छ । भारतबाट आउने नगरबासीहरुलाई सुरक्षितसाथ राख्नका लागि सवै वडाहरुमा पूर्व सावधानी गृह बनाउने र उनीहरुलाई त्यहीं नै परीक्षणको व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ ।

वडाअध्यक्षहरुको संयोजकत्वमा संयन्त्र गठन गरी सावधानी गृहदेखि अन्य व्यवस्थापनको काम गरिनेछ । यस्तै सावधानी गृहहरुका लागि अहिलेलाई विद्यालयहरुलाई नै प्रयोग गरिनेछ । साथै त्यहाँ मनोविमर्श पनि दिइने बताइएको छ । आइतवारसम्म नगरपालिकाको पूर्व सावधानी गृहमा १०९ जना रहेका छन् ।

यस्तै ४२१ जना होम क्वारेन्टाइनमा रहेको, ९३१ जनालाई विभिन्न पालिकासंग समन्वय गरी पठाइएको, ३३३ जनालाई आश्रय दिइएको र २१२ जनाको आरडिटी परीक्षण गरेको जनाएको छ ।

अग्रपंक्तिका खटिनेलाई परीक्षण गर्ने

नगरपालिकाले विभिन्न काममा अग्रपंक्तिमा गरिने नगरका विभिन्न पक्षहरुलाई कोरोनाका लागि पिसिआर परीक्षण गर्ने भएको छ । रोकथामका लागि खटिने प्रहरीदेखि व्यापारी व्यवसायीलगायतलाई नमूनाका रुपमा छनौट गरेर परीक्षण गरिने कार्यवाहक नगरप्रमुख ढकालले बताइन् । त्यसका लागि हाललाई एक हजार थान कीट खरिद गरिनेछ ।

३ महिनासम्म पुग्ने खाद्य मौज्दान गरिने

नगरपालिकाले लकडाउन अवधि लम्बिँदै गएपछि आउन सक्ने खाद्य संकटलाई समाधान गर्न सुर्खेतस्थित खाद्य संस्थानसंग समन्वय गरी कम्तीमा तीन महिनालाई पुग्ने गरी खाद्यान्न मौज्दात गर्न पहल गर्नेछ ।

राहतको सट्टा रोजगारी

नगरपालिकाले विगतमा दिएको राहतलाई परिमार्जित गरी अव रोजगारी दिने योजना अगाडि बढाएको छ । नगरभित्र संचालन भएका विकासे काममा लगाएर उनीहरुलाई राहतको सट्टा रोजगारी दिइने कार्यवाहक नगरप्रमुख ढकालले बताइन् ।

फोकलपर्सनको व्यवस्था

कोरोना रोकथामका लागि नगरपालिकाले गरेको दैनिक कामको सार्वजनिक गर्न फोकलपर्सन तोकिने भएको छ । फोकल पर्सनले प्रत्येक दिन ३ बजेभित्र नगरपालिकाले गरेका कामहरुको विवरण सार्वजनिक गर्नेछ ।
२१ हजारलाई राहत

कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउनको अवधिमा नगरपालिकाले अहिलेसम्म २१ हजार परिवारलाई राहत दिएको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले अहिलेसम्म २१ हजार परिवारलाई राहत प्रदान गरिएको जानकारी दिए ।

योजनाको रकम कटाएर कोरोना कोषमा

नगरपालिकाले नगरका ठूला चार वटा र १७ वटा वडाका विभिन्न योजनाहरुको बजेट रकमान्तर गरी कोरोना कोषमा राखेको छ । चार वटा योजनाबाट ५० लाखका दरले २ करोड, १६ वटा वडाबाट पाँच लाखका दरले ८० लाख र नगरभित्र विभिन्न संघसंस्था तथा व्यक्तिहरुले प्रदान गरेको गरी ३ करोड ५० लाख रकम जम्मा भइ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । कोषलाई ५ करोडको बनाइनेछ ।

१८६ को पिसिआर परीक्षण

नगरपालिकाले कोरोना संक्रमणका विरुद्ध अग्रपंक्तिमा खटिएकाहरु गरी कूल १८६ जनाको पिसिआर परीक्षण गरेको जनाएको छ । नगरपालिकामा कार्यरत कर्मचारी, पत्रकार, उद्योग बाणिज्य संघलगायतका अग्रपंक्तिमा खटिएकाहरुलाई पिसिआर परीक्षण गरिएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap