७ बैशाख २०८१, शुक्रबार

यस्तो छ कर्णाली प्रदेश सरकारको आव २०७७-०७८ को नीति तथा कार्यक्रम

अर्थ कर्णाली मुख्य समाचार
यस्तो छ कर्णाली प्रदेश सरकारको आव २०७७-०७८ को नीति तथा कार्यक्रम
0 Shares

सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम शुक्रवार सार्वजनिक गरिएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सभाको बैठकमा सो नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नीति तथा कार्यक्रमले कोरोना भाइरसबाट उत्पन्न अवस्थालाई निराकरण गर्न स्वास्थ्य क्षेत्रको विकास स्तरोन्नति, कृषि, उत्पादन तथा रोजगार, पर्यटन र भौतिक पूर्वाधारलाई उच्च प्राथमिकता दिएको छ ।

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी ।

प्रदेश सरकारले अन्यभन्दा स्वास्थ्य क्षेत्रमा बढी केन्द्रीत नीतिहरु ल्याएको छ । प्रदेशका सवै जिल्ला अस्पतालमा ५० देखि १०० शय्याको आइसोलेशन, पाँच वटा आइसीयु र एउटा भेन्टिलेटरको व्यवस्था मिलाउने, सुर्खेतको प्रदेश अस्पताल र जुम्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विशिष्टिकृत सेवा प्रदान गर्ने केन्द्रको रुपमा विकास गर्ने, मास्क तथा सेनिटाइजर उत्पादन गर्ने उद्योगहरु खोल्न प्रोत्साहन गर्ने जनाएको छ । साथै क्वारेन्टाइनमा बसेकाहरुलाई निर्वाह भत्ता दिने भनिएको छ ।

यसैगरी दैलेखको राकम कर्णालीमा ट्रमा सेन्टर स्थापना गर्ने, सवै जिल्ला अस्पतालमा विशेषज्ञ सेवा प्रदान गर्ने, प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्ने, सवै स्थानीय तहमा कम्तीमा १५ शय्याको अस्प्ताल बनाउन स्थानीय तहसँग सम्वन्य गर्ने, गर्भवतीहरुको ज्यान बचाउन हवाई उद्धार कार्यक्रम निरन्तरता दिइ कर्णालीलाई स्वस्थ प्रदेश बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कर्णालीको परनिर्भरता हटाउनका लागि युवा लक्षित कार्यक्रमहरु ल्याइने, जमीन बाँझो नराख्ने कार्यक्रमहरु ल्याउने, फलफूल, तरकारी तथा जडिबुटी उत्पादन कार्यक्रमहरुलाई पनि नीति तथा कार्यक्रममा जोड दिइएको छ । एक स्थानीय तह, पाँच प्राविधिक जनशक्ति कार्यक्रम संचालन गर्ने, प्राविधिक तथा स्वरोजगामूलक उत्पादनलाई बढवा दिने, एक स्थानीय तह एक अन्न भकारी स्थापना गर्ने, शीतभण्डार निर्माणको कामलाई जोड दिने, श्रममूलक कामहरुलाई प्राथमिकता दिने नीति तथा कार्यक्रमले जनाएको छ ।

यहाँको रैथाने बाली र अर्गानिक उत्पादनलाई ब्राण्डिङ गर्ने काम पनि हुनेछभने पेट्रोलियम पदार्थको भण्डारणको व्यवस्था मिलाउन संघ सरकारसँग पहल गरिने, जलस्रोतको गुरुयोजना बनाउने, विद्युत नपुगेका स्थानीय तहमा लघुजलविद्युत तथा बैकल्पिक ऊर्जाको माध्यमबाट उज्यालो दिइ कर्णाली उज्यालो कार्यक्रमलाई निरन्तार दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सुर्खेतको भेरी बबई डाइभर्सन आयोजना र डोल्पाको जगदुल्ला जलविद्युत आयोजना निर्माणमा प्रदेश सरकारले उचित लगानी गर्ने, भेरी बबईको बाँधलाई प्रयोग गरी प्रदेशकै स्वामित्वमा रहने गरी जलविद्युत आयोजना निर्माण गर्ने, सुर्खेत हिल्सा सडकको स्तरोन्नति तथा विकास गर्नका लागि संघीय सरकारलाई स्रोत पहिचान गर्न सघाउने, स्थानीय तहदेखि जिल्ला सदरमुकाम र जिल्लादेखि प्रदेश राजधानी जोड्ने सडक निर्माणको कामलाई पनि प्राथमिकता दिइने जनाइएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतका लागि पनि विशेष कार्यक्रमहरु प्रदेश सरकारले ल्याउने जनाएको छ । बाहिरी चक्रपथ निर्माणको काम अगाडि बढाउने, साइकल लेन र पदमार्गको विकास गर्ने, हरित शहर बनाउने, विद्युतीय सवारी साधन संचालनको लागि पहल गरिने, खानेपानीको समस्या समाधान गर्न भेरी लिफ्ट खानेपानी आयोजना बनाउन संघ सरकारलाई आग्रह गर्ने र चिंगाडखोला खानेपानीको विस्तृत अध्ययन प्रतिवेदन बनाउने कार्यक्रम नीतिमा उल्लेख छ ।

कर्णालीको पर्यटनलाई प्राथमकिता दिन पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनेछ । यसमा पूर्वाधार विकासका लागि होमस्टेलगायतको पर्यटनसँग रोजगार र आयआर्जनलाई जोडिने कार्यक्रम ल्याइने बताइएको छ । प्रदेश राजधानी सुर्खेतसहित अन्य जिल्लाका विमानस्थलको स्तरोन्नति गर्ने, सिंजा र दुल्लामा सांस्कृतिक संग्रहालय निर्माण गर्ने, जमीन बाँझो नराखी सक्नेलाई खेती गर्न दिइनेछ ।

सुर्खेतका बाढीपीडितहरुको आवास निर्माणको काम सम्पन्न गर्ने, पत्रकार स्वास्थ्य वीमा र स्नात्तकोतर छात्रवृद्धि कार्यक्रमलाई निरन्तरता दिने, संचार माध्यम दर्ता, नियमनको कानुन निर्माण गर्ने, सरकारी कामकाजलाई प्रविधिमैत्री बनाउने, प्रदेशका कर्मचारीहरुको सामूहिक दुर्घटना वीमालाई निरन्ता दिने र छोरा तथा छोरीवीची विभेद हटाउन ल्याइएको बैंक खाता छोरीको सुरक्षा जीवनभरीको कार्यक्रमलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पाँच करोड माथिका योजनाहरुको अनुगमन गर्नका लागि उच्चस्तरीय संयन्त्र निर्माण गर्ने, दलित महिला आयआर्जन कार्यक्रम संचालन गर्ने, घाइते, शहीदपरिवारलगायतको जीवनस्तर उकास्न रोजगारमूलक कार्यक्रम प्रदेश सरकारले ल्याउने कार्यक्रममा उल्लेख छ । प्रदेशलाई समतामूलक बनाउनका लागि खाना, नाना र छाना कार्यक्रम अगाडि सारिएको छ । गरीवी निवारणका लागि एकीकृत कार्यक्रम ल्याइनेछ ।
प्रदेश सरकारले छोटो समयमा धमाधम काम गरिरहेको र विकास देखिने बेला कोरोना भाइरसले अवरोध पु¥याएको हुँदा थप जिम्मेवारीका साथ आफ्नो काममा अगाडि बढिरहेको जनाएको छ । संघीय राजधानीसँग प्रदेश राजधानीको सिधा हवाई सम्पर्क भएको, प्रदेशका जनशक्तिको टुंगो लागेको, प्रदेश आधारपत्र निर्माण गरी कर्णालीको प्राथमकिता पहिचान गरिएको, प्रदेशबासीको सामूहिक दुर्घटना वीमा गरिएको, छोरी बैंक खाता संचालन गरिएको, छोरी बुहारी छात्रवृत्ति कार्यक्रम ल्याइएको, सडक मानवको उद्दार तथा संरक्षण गरिएको, प्रदेशका महत्वपूर्ण सडक निर्माणको कामको सुरुवात भएको, अर्गानिक उत्पादनका कामहरु धमाधम भइरहेको, परियोजना बैंक निर्माण गरिएको कामलाई प्रदेश सरकारले अहिलेसम्म गरेको उपलव्धी मानेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक औषधि, उपकरणको पर्याप्तता बनाइनेछभने अग्रपंक्तिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी र संचाकर्मीप्रति आभार प्रकट गरिएको छभने कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गरेमा यसले प्रदेशको विकासमा नयाँ अवसर सिर्जना गर्ने पनि जनाइएको छ । जीवन रहे सबथोक रहने भन्दै प्रदेश सरकारले अहिले कोरोना भाइरस रोकथामका लागि अधिकतम काम गरेको दावी गरेको छ ।

नीति तथा कार्यकम यहाँ हेर्न सकिन्छ ।

नीति-तथा-कार्यक्रम-२०७७-०७८-final

Leave a Reply

Share via
Copy link
Powered by Social Snap