१७ बैशाख २०८१, सोमबार

महिला स्वरोजगार, बालबालिका विद्यालयमा नियमित

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
महिला स्वरोजगार, बालबालिका विद्यालयमा नियमित
0 Shares

सुर्खेत ।

पश्चिम सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ५, ६ र ८ का महिलाहरु स्वरोजगार र विद्यालय छोडेका बालबालिकाहरु विद्यालयमा नियमित आउन थालेका छन् । महिलाहरुले थोरै भएपनि आयआर्जनका लागि सहयोग पाएर स्वरोजगार र विद्यार्थीहरुले शैक्षिक सामग्री पाउन थालेपछि विद्यालयमा नियमित आउन थालेका हुन् ।


एइआएन लग्जम्बर्गको सहयोगमा नेपाल नाजरेत सोसाइटी नवज्योति केन्द्र सुर्खेतले बराहताल गाउँपालिकाका ती तीन वटा वडामा संचालन गरेको महिला तथा बालबालिका सशक्तिकरण परियोजनाले महिला तथा बालबालिकालाई गरेको सहयोगले महिलाहरु स्वरोजगारबाट आत्मनिर्भर बनेका छन्भने बालबालिकाहरुले शैक्षिक सहयोग पाएपछि विद्यालयमा नियमित आउन थालेका छन् ।
आइतवार बराहतालको बड्डिचौरमा परियोजनाको बार्षिक प्रगति समीक्षा तथा सामाजिक लेखापरीक्षण कार्यक्रममा तीन वर्षे उपलव्धीहरु सार्वजनिक गर्दै नवज्योति केन्द्रले संस्थाको सहयोगले महिलाहरु स्वरोजगार बनेको र बालबालिकाहरु विद्यालयमा नियमित आउन थालेको जनाइएको छ । नवज्योति केन्द्रका परियोजना संयोजक शान्ति राईले तीन वर्षे परियोजनाबाट १५ सय ६५ घरधुरीका सात हजार ४३ जनसंख्या संस्थाको कार्यक्रमबाट लाभान्वित भएको जानकारी दिनुभयो । ३१ जना महिलाहरु सिलाई कटाइ तालिम लिएको, ९० जना महिलाले २० हजारको दरले जीविकोपार्जन कोषबाट ऋण लिइ विभिन्न स्वरोजगारमूलक कार्यक्रम गरी आत्मर्निभर बनेको उहाँले बताउनुभयो ।
यस्तै ती वडाका ११ सय २५ जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको र जसमा १४ जना उच्च शिक्षा पढ्न सहयोग पाएका छन् । शैक्षिक सामग्रीहरु नहुँदा विद्यालय छोडेका बालबालिकालाई शैक्षिक सामग्रीहरु प्रदान गरेर विद्यालयमा नियमित गराइएको संस्थाका परियोजना संयोजक राईले जनाउनुभयो । यसैगरी २३५ जना महिलाले पाठेघरको निःशुल्क सेवा लिएको, हिंसा प्रभावित ४२ जना महिलालाई कानुनी सहयोग गरेको पनि उहाँको भनाइ छ । थोरै रकम लिएरपनि महिलाले भैंसीपालन, कुखुरापालन, बाख्रापालन, घुम्ती तथा खुद्रा पसल एवं डोके व्यापार गरेर आत्मनिर्भर बन्न सफल भएका छन् । तीन वर्षे परियोजनामा ६८ लाख ४४ हजार बजेट खर्च भएको छ ।
नवज्योति केन्द्रका कार्यकारी निर्देशक सिस्टर रोसिटाले परियोजनाले महिला र बालबालिकाको सामाजिक तथा आर्थिक सशक्तिकरणमा उल्लेखनीय टेवा पु¥याउन सफल भएको बताउनुभयो । उहाँले तीन वर्षे परियोजनाको अवधि सकिएर पुनः तीन वर्ष थप भएको र अव पहिलेका तीन वडाका साथै अरु दुई वटा थप भएको जानकारीसमेत दिनुभयो । साथै उहाँले आगामी दिनमा पालिकासँग समन्वय र सहकार्य गरी महिला र बालबालिका एवं हिंसापीडितको क्षेत्रमा काम जारी राख्ने प्रतिवद्धता जनाउनुभयो ।
बराहताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुनमगरले पालिकाको सीमित साधन र स्रोत भएकोले विकास साझेदार संस्थाहरुले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पालिकासँग समन्वय र सहकार्य गर्दै पालिकाबासीको आयआर्जन तथा सशक्तिकरणको क्षेत्रमा हातेमालो गरी काम गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा बराहता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, वडा नं. ५ का वडाअध्यक्ष धिमराज जोल्मी मगरलगायत विभिन्न सेवाग्राहीहरुले संस्थाले गरेको कामप्रति भनाइ राखेका थिए ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap