११ बैशाख २०८१, मंगलवार

सुर्खेतमा छाउपडी मेला ः ‘महिनावारी हुँदा पर होइन घर’ राख्ने प्रतिवद्धता

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
सुर्खेतमा छाउपडी मेला ः ‘महिनावारी हुँदा पर होइन घर’ राख्ने प्रतिवद्धता
0 Shares

सिर्जना बुढाथाेकी

सुर्खेत ।
प्रत्येक महिनाको १ गते र १५ गते वीरेन्द्रनगरमा देउडा मेला लाग्ने गर्दछ। प्रदेश राजधानी सुर्खेतमा बसोबास गर्ने साविक कर्णालीका बासिन्दाहरु १ गते र १५ गते घन्टाघर, नगरपालिका नजिकको चौरमा भेला भइ देउडा खेल लगाउने गर्दछन् । यसैक्रममा जेठ १ गते देउडा मेलाको अवसर पारेर सोही ठाउँमा छाउपडी मेला लागेको छ ।


कर्णालीमा महिला तथा किशोरीहरु महिनाबारी हुँदा घर छोडेर अलग्गै गोठमा बस्ने चलन अझै छ । यसैलाई छाउपडी भन्ने गरिन्छ । यो छाउपडी कुप्रथा भएकोले महिनावारी हुँदा पर होइन घर भन्ने मूल मान्यता राखेर वीरेन्द्रनगरमा सोमवार छाउपडी मेलाको आयोजना गरिएको थियो ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको अगुवाईमा सामाजिक काम गर्ने ३० भन्दा बढी विकास साझेदारहरुको सहभागितामा मर्यादित महिनावारी व्यवस्थापन कर्णाली एलाइन्स (कदम) साझा सञ्जाल गठन गरिएको छ । त्यही सञ्जालको आयोजनाम वीरेन्द्रनगर नगरपालिका नजिकको खुला चौरमा छाउपडी मेला लागेको थियो । मेलामा कर्णालीका बासिन्दालगायत मर्यादित महिनावारी व्यवस्थापन सद्भावना दूत लोक गायिका सुनिता बुढाक्षेत्रीले आप्mना गीत र देउडा खेलबाट छाउ नबार्ने प्रतिवद्धता जनाएका थिए । साथै सो अवसरमा महिनावारी हुँदा पर होइन घर भन्दै सचेतनापनि दिइएको थियो ।
लोक गायिका बुढाक्षेत्रीले कर्णालीमा अझैपनि महिनावारी हुँदा घरभन्दा पर गोठमा राख्ने चलन रहेकोमा त्यो चलन अव हटाउनुपर्ने बताउनुभयो । उहाँले गोठमा राख्दा महिला तथा किशोरीको ज्यानको जोखिम भएकोले छाउ हुँदा घर होइन घरमै राखेर हेरचाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफ्ना गीतबाट अवदेखि छाउ हुँदा घरमै राख्न र महिला तथा किशोरीहरुलाई पोसिला खानेकुरा दिन आग्रह गर्नुभएको थियो ।
अधिकारकर्मी टिका विष्टले महिनावारी हुनु महिला तथा किशोरीहरुको नियमित प्रक्रिया भएकोले यसलाई धर्म, देउतासँग जोडेर हेर्न नहुने बताउनुभयो । उहाँले महिनावारी हुँदा कमजोर हुने भएकोले उनीहरुको स्वास्थ्यप्रति सजग रहन पुरुषहरुलाई पनि सुझाव दिनुभयो । छाउपडी मेलाले छाउ प्रथा कुरीति भएकोले यसलाई हटाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले पश्चिम नेपालमा छाउ प्रथा कायमै रहेकोले सचेत वर्गले जनचेतना जगाउन जरुरी रहेको बताउनुभयो । उहाँले राम्रा प्रथाहरुलाई निरन्तरता दिँदै कुप्रथालाई हटाउन सवैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
सञ्जालका सचिवालय सदस्य एवं सुस्वा नामक संजालका कार्यक्रम अधिकृत राजु तिरुवाले महिनावारी स्वच्छता दिवसको अवसर पारेर देउडा मेला लाग्ने दिनमा छाउपडी मेलाको आयोजना गरिएको बताउनुभयो । देउडा गीत, देउडा खेल र सांस्कृतिक कार्यक्रममार्फत छाउपडी प्रथा विरुद्ध सचेतना जगाउन आवश्यक हुने ठानेर लोक गायिका सुनिता बुढाक्षेत्रीलाई सद्भावना दूत तोकिएको र छाउपडी मेलाको आयोजना गरिएको उहाँले जनाउनुभयो । सुर्खेतपछि हुम्लामा छाउपडी मेलाको आयोजना गरिने बताइएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap