१३ बैशाख २०८१, बिहीबार

जंगलभरी छ्यापछ्याप्ती चोरीशिकारीका पासो, ६ महिनामा ६ बन्यजन्तुको मृत्यु

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
जंगलभरी छ्यापछ्याप्ती चोरीशिकारीका पासो, ६ महिनामा ६ बन्यजन्तुको मृत्यु
0 Shares

सुर्खेत ।

वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्रभित्रको वनमा चोरीशिकारीले जथाभावी पासो थाप्दा बन्यजन्तुहरु असुरक्षित बन्न थालेका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको ६ महिनामा ७ वटा बन्यजन्तु पासोमा परेका छन् । जसमा ६ वटा मृत्यु भएको छभने एउटाको उद्धार गरिएको छ ।


सोमवार विहान वीरेन्द्रनगर नगरपालिका—४ को प्रादेशिक शहीद पार्क नजिकको जंगलमा एउटा रतुवा पासोमा परेर मृत अवस्थामा फेला परेको थियो । पासो सो रतुवाको घाँटीमा बेरिएको थियो । भैरम सामुदायिक वन समूहका वनरक्षक लालबहादुर नेपालीले पासोमा परेर मृत अवस्थामा रहेको रतुवा देखेपछि सामुदायिक वनका अध्यक्ष अमरबहादुर कार्कीलाई सम्पर्क गर्नुभएको थियो । अध्यक्ष कार्कीले अस्थायी प्रहरी विटको प्रहरी र वीरेन्द्रनगर डिभिजन वन कार्यालयलाई सम्पर्क गर्नुभएको थियो । डिभिजनबाट आएको टोलीले मृत रतुवा लिएर मुचुल्का उठाइ गाडेको छ । वन रक्षक नेपालीले जंगलभरी चोरी शिकारीहरुले छ्याप्छ्याप्ती पासो थापेको बताउनुभयो । बन गस्ती गर्ने क्रममा आफूहरु पनि सो पासोमा पर्ने गरेको भन्दै उहाँले ती पासोहरु हटाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।


सामुदायिक वनका अध्यक्ष अमरबहादुर कार्कीले वनभरी चोरी शिकारीले छ्याप्छ्याप्ती पासोहरु थापेको बताउनुभयो । उहाँले गत वर्ष दुई दर्जन पासोहरु उठाएर ल्याएर नष्ट गरेको जानकारी दिदैं अहिले पनि वन क्षेत्रमा छ्याप्छ्याप्ती पासोहरु राखेको पाइएको जनाउनुभयो । पासोमा जँगली बँदेल, रतुवा, मृग तथा कुकुरहरु पर्ने गरेका छन् । उत्तरी क्षेत्रमा धेरैजसो यिनै बन्यजन्तुहरु पाइने गरेको छ । गतवर्ष एक जना शिकारीलाई फेला पारी २० हजार जरिवाना गराएको भन्दै उहाँले पासो थापेर शिकारीहरु फरार हुने गरेको बताउनुभयो । वन्दुकले आवाज आउने भएको हुँदा अहिले चोरी शिकारीहरुले थाहा नपाउने तरिकाले पासो थाप्ने गरेको पाइएको उहाँको भनाइ छ ।
यता वीरेन्द्रनगर डिभिजन वन कार्यालयले भने चालु आर्थिक वर्षको पुससम्म सात वटा वन्यजन्तु चोरी शिकारीको पासोमा परेको जनाएको छ । डिभिजनल वन अधिकृत मुनबहादुर रावतले छ वटा बन्यजन्तु पासोमा परेर मृत्यु भएको र एउटाको भने उद्धार गरेर जंगलमा छाडिएको जानकारी दिनुभयो । पासोमा पर्नेमा धेरैजसो रतुवा र जंगली बँदेल छन् । पासोमा राख्ने शिकारीहरु अहिलेसम्म फेला पर्न नसकेको उहाँको भनाइ छ ।
सामुदायिक वनहरुले वनको संरक्षण गरेपछि अहिले बन्यजन्तुहरुको संख्या बढ्दै गएको छ । जसका कारण ती पासोमा बन्यजन्तुहरु परेका छन् । डिभिजनल वन अधिकृत रावतले अव वन कार्यालय र सामुदायिक वन मिलेर जंगल सर्च गर्ने योजना बनाउनुपर्ने बताउनुभयो । जंगल सर्च गरेपछि छ्याप्छ्याप्ती थापिएका पासोहरु पत्ता लगाएर नष्ट गर्नुका साथै चोरी शिकारीहरु पनि फेला पर्न सक्ने उहाँले जनाउनुभयो । यो काम सामुदायिक वनहरुसँग समन्वय गरी गरिने उहाँले बताउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap