१४ बैशाख २०८१, शुक्रबार

भेरी बबई डाइभर्सनको काम झण्डै आधा सकियो

अर्थ कर्णाली प्रदेश मुख्य समाचार समाचार
भेरी बबई डाइभर्सनको काम झण्डै आधा सकियो
0 Shares

सुर्खेत ।

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम झण्डै आधा सकिएको छ । पहिलो चरणमा सुरुङ खन्ने काम सकिएको, दोस्रो चरणको बाँध र पावर हाउन निर्माणको काम तीव्र गतिमा संचालन रहेको र तेस्रो चरणको कामको शुरुवात भएपछि आयोजनाको प्रगति झण्डै आधा भएको हो । आयोजनाका अनुसार हालसम्म करिव ४९.५ प्रतिशत भौतिक प्रगति भएको छ ।

चिनीयाँ कम्पनीलाई तेस्रो चरणको टेण्डर
तेस्रो चरणमा हाइड्रोमेकानिकल र इलेक्ट्रो मेकानिकलको काम हुनेछ । आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजन इन्जिनियर लेखनाथ सुवेदीले हाइड्रो मेकानिकल पार्ट्सको कामको जिम्मा चिनीयाँ कम्पनी जेजियाङ ओरियन्टले लिएको बताउनुभयो । सो कम्पनीसँग दुई अर्ब १३ करोड ७४ लाख ९३ हजार रुपियाँमा सम्झौता भएको छ । इलेक्ट्रो मेकानिकलको टेण्डर प्रक्रिया सिचाईं विभागमा रहेको र अन्तिम स्वीकृत हुन बाँकी रहेकोले त्यो पूरा भएपछि टेण्डर थालिने उहाँको भनाइ छ । हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल पार्टस्मा बाँध संचालनका लागि आवश्यक विद्युतीय गेटलगायतका कामहरु हुनेछन् । आयोजनाको ३६ अर्ब ८० करोड ७७ लाख रुपियाँ लागतमध्ये हालसम्म १४ अर्ब सात करोड ५९ लाख रुपियाँ खर्च भइसकेको छ । यस्तै वित्तीय प्रगति ३८.१ तथा हासिल भएको छ । सरकारले आयोजनाका लागि चालु आर्थिक वर्षमा १० करोड ९१ लाख ७० हजार रुपियाँ खर्च गरेको छ ।
तेस्रो चरणको कामपनि साना काम मात्र
तेस्रो चरणको काम थालिएपछि आयोजनाका लागि साना कामहरु मात्र बाँकी हुने र तोकिएको अवधिभित्र ती काम पनि सम्पन्न गरिसक्ने लक्ष्य राखिएको सिडिई सुवेदीले बताउनुभयो । तेस्रो चरणको काम सुरु भएपछि अव ठूलो चरणको कामहरु नभएको आयोजनाले जनाएको छ । दोस्रो चरणको ११४ मिटर लामो र १४ मिटर अग्लो बाँधको काम सुर्खेतको भेरीगंगा नगरपालिका—११ को चिप्लेमा निर्माणाधीन चरणमा छ । अहिले आयोजनामा मजदुर तथा प्राविधिहरु गरी करिव दुई सय जनाले काम गरिरहेका छन् । आर्थिक वर्ष २०७९÷८० भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेपनि कोरोनालगायत अन्य कारणले काम प्रभावित भएको थियो । सिडिई सुवेदीले तोकिएको अवधिभित्रै आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ कामको गति तीव्र बनाइएको दावी गर्नुभयो । ठूलो चरणका कामहरु थालिएपछि ट्रान्समिटर लाइन बनाउन थोरै भएकोले कुनै समस्या नहुने उहाँको भनाइ छ ।
ऐलानी जग्गाको क्षतिपूर्ति टुंगियो
यसैवीच आयोजना प्रभावित क्षेत्रमा पर्ने ऐलानी जग्गाको क्षतिपूर्ति विवाद पनि हाललाई टुंगिएको छ । सिडिई सुवेदीले संघीय मन्त्रिपरिषद् बैठकले अन्य आयोजनाका नजिरलाई आधार बनाई २२.८१ हेक्टर ऐलानी जग्गाको हकमा क्षतिपूर्ति दिने निर्णय गरेको बताउनुभयो । उहाँले दर्तावाल जग्गाको मुआव्जा दिइसकिएको र ऐलानीको बाँकी रहेकोले सरकारले कार्यविधि बनाएर क्षतिपूर्ति दिने निर्णय गरेपछि अव तत्काल यससम्वन्धमा काम थालिने जानकारी दिनुभयो ।
वार्षिक सात अर्ब आम्दानी लक्ष्य
सुर्खेतको भेरीगंगा नगरपालिका–११ चिप्लेमा भेरी नदीको पानी भेरीगंगा नगरपालिका —२ को बबईमा ४० घनमिटर प्रतिसेकेण्ड खसाल्न १२ किमी २१० मिटर लामो सुरुङ निर्माण भइसकेको छ । यसबाट ४८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछभने लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएको छ । सरकारले विद्युतबाट चार अर्ब र सिंचाई तीन अर्ब गरी कूल सात अर्ब बार्षिक आम्दानी गर्ने फाइदा लिने योजना गराएको छ । संघीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी बबई डाइभर्सन जलविद्युत् कम्पनी पनि स्थापना गरिसकेको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap