२० बैशाख २०८१, बिहीबार

क्रियाशील सदस्यता विवादले सुर्खेतमा काँग्रेस वडा अधिवेशन अनिश्चित

कर्णाली प्रदेश मुख्य समाचार समाचार
क्रियाशील सदस्यता विवादले सुर्खेतमा काँग्रेस वडा अधिवेशन अनिश्चित
0 Shares

सुर्खेत ।
क्रियाशील सदस्यता विवादलाई देखाएर सुर्खेतमा काँग्रेसको वडातहको अधिवेशन अनिश्चित भएको छ ।

 

भदौ १८ गतेदेखि देशभर वडा अधिवेशन सुरु हुँदैंछ । काँग्रेस केन्द्रीय कार्यालयले ५६ जिल्लामा क्रियाशील सदस्यताको टुंगो पु¥याइए निर्वाचन अधिकृतसमेत तोकिसकेको छ । तर सुर्खेतमा भने क्रियाशील सदस्यता विवरण नै प्रकाशित नभएपछि वडा अधिवेशन कहिले हुने भन्ने अनिश्चित भएको हो ।
सुर्खेतमा वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ३, ६, ८ र ११ मा क्रियाशील सदस्यताको विवाद केन्द्रले सिर्जना गरेर स्थगित गर्न लगाइएको बताइएको छ । काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले यी चार वडाबाट वडा, नगर, प्रदेश, क्षेत्र र जिल्ला हुँदै पार्टीको विधान र प्रक्रिया अनुसार पठाइएको क्रियाशील सदस्यताहरु केन्द्रले नै विवाद खडा गरेर स्थगित गराएको आरोप लगाए । केन्द्रले विधान र प्रक्रिया अनुसार गएका क्रियाशील सदस्यतामाथि आफूखुसी थप्न लागेपछि त्यसको विरोध गर्दा केन्द्रले नै स्थगित गराइदिएको उनले बताए ।
सभापति रेग्मीले नगरका यही चार वटा वडालाई देखाएर समग्र जिल्लाको वडा तहको अधिवेशन थगित गराइएको उल्लेख गरे । उनले भने, सवै प्रक्रिया पूरा भएर क्रियाशील सदस्यताका लागि केन्द्रमा पठाइएको हो, तर केन्द्रले नै प्रक्रिया विपरित नयाँ थप्न लागेपछि आफै विवाद गराइदिएको छ । अन्य पार्टीका आएकाहरुको निहुँमा प्रक्रिया मिचेर केन्द्रले जथाभावी क्रियाशील सदस्यता थप्न लागेको थियो । यसका साथै पहिलेदेखि नै क्रियाशील सदस्यता भएकालाई पनि नयाँबाट प्रवेश गराइएको भनेर सदस्यता थपेर केन्द्रले विवाद उत्पन्न गराएको थियो ।
नयाँ क्रियाशील सदस्यताको सूची सार्वजनिक नहुने बेलासम्म वडा अधिवेशन कहिले हुने भन्ने कुनै टुंगो लागेको छैन । जिल्लाका अन्य स्थानीय तथा वडाहरुमा भने कुनै विवाद छैन ।
यी चार वटा वडाका पार्टी वडासभापतिहरुले पनि पार्टीले गठन गरेको छानविन समितिलाई निवेदन पठाएर जतिसक्यो छिटो प्रक्रिया अनुसार गएका क्रियाशील सदस्यता दिन आग्रह गरेका थिए । उनीहरुले पार्टी महामन्त्री पूर्णबहादुर खड्कासहित सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासमेतलाई पत्र पठाएर क्रियाशील सदस्यता दिन आग्रह गरेका थिए । सुर्खेत जिल्लाको वडा अधिवेशन स्थगित भएपछि पार्टीमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेतृत्वमाथि पनि प्रश्न उठेको छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य हृदयराम थानीको गृह जिल्लामा क्रियाशील सदस्यता विवाद देखाएर वडा अधिवेशन अनिश्चित हुनु दुर्भाग्य हो ।
कर्णालीका १० जिल्लामध्ये सुर्खेत र डोल्पामा भने यही क्रियाशील सदस्यता विवादका कारण अधिवेशन अनिश्चित गराइएको छ । अन्य आठ वटा जिल्लामा भनेर निर्वाचन अधिकृत तोकेर वडा अधिवेशनको काम सुरु भइसकेको बताइएको छ ।
वडा र पालिका अधिवेशन भदौ १८ गतेदेखि सुरु हुने बताइएको छ । यस्तै प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोजमा, प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुनेछ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap