२० बैशाख २०८१, बिहीबार

चौतारी देखाएर नौ महिनादेखि सडक अलपत्र

कर्णाली प्रदेश मुख्य समाचार समाचार
चौतारी देखाएर नौ महिनादेखि सडक अलपत्र
0 Shares

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ मा कालुचौक देखि रत्न राजमार्ग जोड्ने करिव एक किमी सडक कालोपत्र नगरी अलपत्र परेको छ । कालुचौक नजिकको चौतारीलाई देखाएर उक्त सडक कालोपत्रे नगरी करिव नौ महिनादेखि अलपत्र पारिएको हो ।


कालुचौक नजिक कल्भर्डका खाल्डो खनेर असरल्ल भएको छभने माटोको ढिस्को थुपारिएको छ । सडकहरुमा गिट्टी ढुंगा पनि थुपारिँदा मोटरसाइकलदेखि गाडी मोटरसमेत गुड्न सक्दैन । पैदल हिंड्न पनि सकस भएको छ । कालोपत्रे नगरी सडक अलपत्र पारिँदा वारिपारिका बासिन्दा विरामी हुँदा एम्बुलेन्ससमेत आउन नसक्ने भएको छ । स्थानीय बासिन्दा पूर्णबहादुर कुरेलले कालोपत्रे गर्न ठिक्क पारिँदा पनि नगरिँदा सर्वसाधारणलाई निकै समस्या भएको बताए । उनले मोटरसाइकल समेत आउन नसक्ने बनाएर अलपत्र पारिएको र छिटो कालोपत्रे गर्न वडा कार्यालयलाई आग्रह गर्दापनि कुनै सुनुवाई नभएको बताए ।
वरिपरि कोही विरामी भएर पिठ्युँमा बोकेर मूल बाटोमा ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । कालुचोक नजिकको बरपिपलका चौतारीलाई देखाएर सडक कालोपत्रे नगरेर अलपत्र पारिएको उनले बताए । कसैले चौतारी हटाउनुपर्ने, कसैले हटाउनु नपर्ने भन्ने विवादले गर्दा सडक अलपत्र रहेको र त्यसको असर सर्वसाधारणले परेको उनको भनाइ छ ।
वडा नं. ४ का वडा अध्यक्ष निलकण्ठ खनालले निर्माण व्यवसायीले चौतारीलाई देखाएर कालोपत्रे गर्ने काम अलपत्र पारेको आरोप लगाए । उनका अनुसार चौतारीको विवाद भएको ठाउँ छोडेर अन्य भागमा काम सिध्याउन आग्रह गरेपनि निर्माण व्यवसायीले अटेर गरेकोले अलपत्र परेको हो । उनले पूर्वाधार विकास निर्देशनालयको काम भएको बताउँदै वडाले सहजीकरण गर्ने काममात्र गरेको बताए । यद्यपि आफूले पनि निर्माण व्यवसायी र निर्देशनालयलाई कालोपत्रेको काम छिटो गर्न दवाव दिइरहेको उनले उल्लेख गरे ।
यता सडक निर्माण व्यवसायी बखतबहादुर शाहीले रुख काटेर चौतारी हटाउनुपर्ने आफ्नो सम्झौतामा नभएको तर वडा कार्यालय तथा केही दुई÷दुई जना व्यक्तिले रुख नहटाएसम्म काम गर्न नदिने भनेपछि रोकिएको प्रष्ट पारे । शाहीले आफ्नो सम्झौतामा सडक कालोपत्रे मात्र उल्लेख भएको र रुख काटेर चौतारी हटाउने नभएको दावी गरे । वडाअध्यक्ष निलकण्ठ खनालसहित केही व्यक्तिले रुख काटेर चौतारी नै हटाउनु भनी चलखेल गरेकोले आफूलाई काम गर्ने वातावरण नभएको उनको भनाइ छ । वडाअध्यक्षलाई बारम्बार चौतारीको समाधान गर्न आग्रह गरेपनि अटेर गरेको आरोप लगाउँदै शाहीले काम गर्ने वातावरण हुनासाथ आफूले तत्काल काम थाल्ने जनाए । सो वडा कार्यालय र वडाअध्यक्षकै कारणले कालोपत्रे नगरी अलपत्र परेको उनको आरोप छ ।
उता चौतारी निर्माणकर्ता कालुराम धौलाकोटीले कालोपत्रे गर्ने सडकलाई चौतारीले कुनै पनि असर नगर्ने हुँदा चौतारीलाई देखाएर विवाद गर्न खोजिएको बताए । उनले आफ्नो जग्गामा आफैले रोपेर निर्माण गरेको चौतारी हटाउन नदिने अडान राखे । भैरव मावि नजिकको पिपलको रुखलाई वीचमा पारेर कालोपत्रे हुने खोज्ने, शहीद पार्क जाने सडकको वीचमा रहेको चौतारी हटाउन नपर्ने अनि यही छेउमा रहेको चौतारी हटाउन किन आवश्यक भन्दै पूर्व वडाअध्यक्षसमेत रहेका धौलाकोटीले कालोपत्रे गर्ने सडकलाई यो चौतारीले केही असर नगर्ने हुँदा चौतारीको विवाद ननिकाल्न सवैलाई आग्रह गरे ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap