१७ बैशाख २०८१, सोमबार

दैनिक सङ्क्रमितको मृत्यु हुँदा सेनालाई शव व्यवस्थापनमा सकस

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
दैनिक सङ्क्रमितको मृत्यु हुँदा सेनालाई शव व्यवस्थापनमा सकस
0 Shares

सुर्खेत ।
कोरोना सङ्क्रमणबाट दैनिक मृत्यु हुन थालेपछि नेपाली सेनालाई शव व्यवस्थापनमा सकस हुन थालेको छ । अहिले कर्णाली प्रदेशमा दैनिक कम्तीमा पाँच जनाको मृत्यु हुन थालेको छ ।

सङ्क्रमितहरु मृत्यु भएपछि शव व्यवस्थापनको जिम्मा जिल्ला कोभिड सङ्क्रमण व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले सुर्खेतस्थित नेपाली सेनाको नयाँ सबुज गणलाई दिएको छ । एउटा शव व्यवस्थापन गर्ने तयारी गर्दागर्दै अर्कोको मृत्यु भएपछि त्यसको पनि प्रक्रिया थाल्दा शव व्यवस्थापनमा केही ढिला हुने गरेको नेपाली सेनाले जनाएको छ ।
नयाँ सबजु गणका गणपति प्रमुख सेनानी केशव रायमाझीले मृत्यु हुनेको संख्या बढ्दै जाँदा नेपाली सेनालाई शव व्यवस्थापनमा केही ढिलाई र सकस आउन थालेको बताए । शुक्रवार मात्रै चार वटा शव व्यवस्थापन गरिएको छ । गणपति रायमाझीले शव व्यवस्थापनमा ११ जनाको टोली खटिने गरेको बताए ।
चार जना सुरक्षाकर्मी, चार जना शव व्यवस्थापन, दुई जना चालक र एक जना कमाण्डर खटिने गरेका छन् । उनले नेपाली सेनाले सुरुमा व्यवस्थापनको रिहर्सल गरी पछि पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाइ सावधानीपूर्वक परिवारको इच्छा अनुसार शव व्यवस्थापन गर्दै आएको जानकारी दिए ।
उनले जिल्लामा अहिले वीरेन्द्रनगरमा मात्रै सेनाको टोलीले शव व्यवस्थापन गरेको छ । अव जिल्लाको पूर्वी क्षेत्रतर्फ मृत्यु भएका सङ्क्रमितहरुको शव व्यवस्थापनको लागि भेरीगंगाको छिन्चुको सेनालाई पनि साधनस्रोत उपलव्ध गराएर सहभागी गराउन सकिने बताए । जनशक्ति भए पनि साधन स्रोतको अभाव भएको हुँदा छिन्चुको सेनालाई साधन स्रोत उपलव्ध गराउन सकिए पूर्वी सुर्खेतका भेरीगंगा, गुर्भाकोट, सिम्ता गाउँपािलकाका सेवा दिन सकिने गणपति रायमाझीले बताए ।
सङ्क्रमितको मृत्यु भएपछि शव प्याक गर्ने, गाडीमा राख्ने, परिवारको इच्छा अनुसार जलाउने भए शव चितामा राख्ने, गाड्ने भए खाडलमा राख्ने काम नेपाली सेनाले गर्दछ । तर शव राख्ने चिता र खाडल भने सम्वन्धित परिवार वा स्थानीय तहले गर्नुपर्ने हुन्छ । शव व्यवस्थापन गरिसकेपछि संलग्न सेनाहरु १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने र पिसिआर परीक्षण गरी पुनः काममा फर्कने गणपति रायमाझीले बताए ।
नेपाली सेनाले धेरै शवलाई एकै पटक व्यवस्थापन गर्नुपर्दा धार्मिक परम्परा अनुसार फरक फरक ठाउँमा गाड्नुपर्ने वा जलाउनुपर्ने हुँदा जनशक्तिको अभावका साथै समय बढी लाग्ने गरेको, शव व्यवस्थापना गर्दा नेपाली सेवा वा आफन्त कसले गर्ने भन्ने विषयमा परिवारबाट ढिलो निर्णय हुने गरेको, गर्मीको मौसममा पिसिई सेट धेरै समयसम्म लगाउने गर्दा कार्य सम्पादन तुलनात्मक रुपमा केही कठिनाई हुने गरेको गणपति प्रमुख सेनानी केशव रायमाझीले जनाए ।
यद्यपि जुनसुकै चुनौती आएपनि नेपाली सेनाले शव व्यवस्थापनको जिम्मेवारी कुशलतापूर्वक गरिसकेको र आगामी दिनमा पनि गर्दै जाने जानकारी उनले दिए । कर्णाली प्रदेशमा ५१ जनाको शव व्यवस्थापन गरिसकेको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap