१७ बैशाख २०८१, सोमबार

कोरोनामा खट्नुपर्ने स्वास्थ्यकर्मीहरु बेकामे

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कोरोनामा खट्नुपर्ने स्वास्थ्यकर्मीहरु बेकामे
0 Shares

सुर्खेत ।

कोभिड—१९ को दोस्रो लहरको जोखिममा अग्रपंक्तिमा खटिनुपर्ने सुर्खेतका ४५ जना स्वास्थ्यकर्मीहरु अहिले बेकामे बनेका छन् । जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रबाट रमाना लिइ वीरेन्द्रनगर नगरपालिकामा आएका उनीहरु अहिले नगरपालिकाले हाजिर गर्न नदिएपछि बेकामे बनेका हुन् । शुक्रवार उनीहरुले हाजिर गराइदिन भने जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापनपत्र बुझाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत चैत २६ गतेको मन्त्री स्तरको निर्णय र गत चैत ३१ गतेको सचिवस्तरको निर्णय अनुसार स्वास्थ्यका कर्मचारीहरु विभिन्न स्थानदेखि रमाना लिइ वीरेन्द्रनगर नगरपालिकामा हाजिर हुन आएको तर नगरपालिकाले वैशाख १३ गते हाजिर गराउन नसक्ने सूचना सार्वजनिक गरेपछि ती स्वास्थ्यकर्मीहरु अहिले अलपत्र बनेका छन् । अलपत्र पर्ने मध्येका एक सिअहेव उदय थापाले कोरोना नियन्त्रणको काममा अग्रपंक्तिमा खटिनुपर्ने स्वास्थ्यकर्मीहरुलाई नगरपालिकाले हाजिर नगराएर बेकामे बनाएको आरोप लगाउनुभयाे । केही समय अघि उहाँ वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखा संयोजकसमेत हुनुहुन्थ्याे ।
आफूहरु कार्यरत रहेको बराहताल स्वास्थ्य चौकीबाट रमाना लिइ वीरेन्द्रनगर नगरपालिका आइसकेको र हाजिर गराउन भन्दा नगराएको उहाँको भनाइ छ । उहाँहरुको स्थानमा बराहतालमा बाहिरबाट आउने स्वास्थ्यकर्मीहरु समेत हाजिर भइसकेका छन् । उहाँका अनुसार वीरेन्द्रनगर नगरपालिकामा हाजिर हुन रमाना लिएर आएका ४५ जना स्वास्थ्यकर्मी छन् । उनीहरु कसैलाई नगरपालिकाले अहिलेसम्म हाजिर गराएको छैन । थापाले पहिला नगरपालिकाले आउन सहमति दिएको तर पछि हाजिर गराउँदिन भन्नुले षड्यन्त्र भएको आरोप लगाउनुभयाे ।
संकटको समयमा स्वास्थ्यकर्मीहरुलाई विदा नदिन, अग्रपंक्तिमा खटिन निर्देशन दिएका बेला वीरेन्द्रनगर नगरपालिकाले भने यतिधेरै स्वास्थ्यकर्मीहरुलाई हाजिर नगराएर मानिसको स्वास्थ्यसँग खेलवाड गरेको आरोप सिअहेव थापाले लगाउनुभयाे । नगरपालिकाले हाजिर नगराएर आफूहरुलाई अन्यायमा पारेको र बेकामे बनाएको हुँदा अविलम्ब हाजिर गराई जिम्मेवारी दिन माग उहाँले गर्नुभएको छ ।
यता वीरेन्द्रनगर नगरपालिकाले भने वैशाख १३ गते सूचना प्रकाशित गरी विभिन्न कारण देखाई हाजिर गराउन नसक्ने जनाएको छ । नगर प्रमुख देवकुमार सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालद्वारा संयुक्तरुपमा हस्ताक्षरित सूचनामा नगरपालिकामा हाल नर्सिङतर्फ १६ र पारामेडिक्सतर्फ २५ गरी कूल ४१ जना स्वास्थ्यकर्मीहरु कार्यरत रहेकोले कुनैपनि पद रिक्त नरहेको हुँदा रमाना लिएर आएका स्वास्थ्यकर्मीहरुलाई हाजिर गराउन नसक्ने जनाइएको छ ।
यस्तै नगरपालिकामा नेपाल स्वास्थ्य सेवातर्फ कार्यरत कर्मचारीहरुको तलवभत्ता लगायतका सुविधाहरु यस नगरपालिकाबाट नभइ सशर्त अनुदानबाट प्राप्त बजेटबाट उपलव्ध गराइएकोले चालु आर्थिक वर्षका लागि मन्त्रालयबाट खटाइएका कर्मचारीहरुलाई तलव भत्ता भुक्तानी गर्न नसकिने हुँदा हाजिर गराउन नसकिएको नगरपालिकाको भनाइ छ ।
नगरपालिकाले गत चैत ३१ गते नै विभिन्न कारणहरु राखेर मन्त्रालयबाट कर्मचारी नपठाइदिन हुन पत्र पठाए पनि मन्त्रालयले पठाएको हुँदा हाजिर गराउन नसकिने बताइएको छ । यद्यपि नगरपालिकाको संगठन संरचना तयार नभइसकेको हुँदा मन्त्रालयबाट पठाइएका दरवन्दी तेरिज अनुसार हाल कुनै पनि पद रिक्त नभएकोले यस नगरपालिकामा आठ वटा आधारभूत स्वास्थ्य केन्द्र र दुई वटा शहरी स्वास्थ्य केन्द्रका लागि मन्त्रालयबाट दरवन्दी संरचना स्वीकृत गरी राष्ट्रिय कितावखानामा पद दर्ता भइ आएमा मात्र कर्मचारीहरुलाई कामकाजमा लगाउन सकिने जनाएको छ ।
यस सम्वन्धमा जिल्ला प्रशासन कार्यालयले पनि समाधानको गृहकार्य थालेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले स्वास्थ्यकर्मीहरुलाई हाजिर गराउने सम्वन्धमा नगरपालिका र मन्त्रालयसँग पहल भइरहेको र केही दिनभित्र समाधान निस्कने बताउनुभयाे । रमाना लिएर आउने धेरै भएकोले समस्या आएको पाइएको हुँदा यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारीमार्फत मन्त्रालयसँग समन्वय भइरहेको उहाँको भनाइ छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap