२ जेष्ठ २०८१, बुधबार

दलित लक्षित बजेट छुट्याउनै मुश्किल

कर्णाली प्रदेश मुख्य समाचार समाचार
दलित लक्षित बजेट छुट्याउनै मुश्किल
0 Shares

सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. १ बाट दलित महिला सदस्यमा निर्वाचित बुद्धिसरा विकलाई दलित आफ्नो वडामा दलित लक्षित बजेट छुट्याउनै मुश्किल भएको छ । निर्वाचित भएको तीन वर्षमा उनले वडाको बजेटमा दलित लक्षित बजेट छुट्याउन नसकेको बताउनुभयो । गत वर्ष बल्लतल्ल एक लाख छुट्याएको र त्यो पनि कोभिडका कारण रकमान्तर भएको जानकारी उहाँले दिनुभयो ।

दलित महिला सदस्यलाई त बजेट छुट्याउन मुश्किल भएको अवस्थामा अरुले छुट्याउने कुरै भएन भन्दै विकले बजेट विनियोजन गर्ने बेला निकै सकस मान्ने गरिएको उल्लेख गर्नुभयो । दलित महिला संघ सुर्खेतले आयोजना गरेको स्थानीय स्रोत साधन र न्यायमा दलित महिलाको पहुँच अभिवृद्धि कार्यक्रममा बोल्दै दलित महिला सदस्य विकले वडाहरुमा लक्षित कार्यक्रमहरु छुट्याउन सहज भए पनि दलित लक्षित बजेट छुट्याउन निकै चुनौती भोग्नु परेको बताउनुभयो ।
यस्तै वीरेन्द्रनगर नगर कार्यपालिकाका सदस्य लक्ष्मी बिकले पनि दलित लक्षित बजेट छुट्याउन निकै संघर्ष र दवाव दिनुपर्ने गरेको स्मरण गर्नुभयो । यद्यपि संघर्ष र दवावपछि केही बजेट भने छुट्याउन सकिएको उहाँको भनाइ छ । दलित लक्षित बजेट छुट्याउन सकिए दलित र दलित महिलाका लागि आयआर्जनका साथै सशक्तिकरणका पाटोमा काम गर्न सकिने उहाँले बताउनुभयो ।

कार्यक्रममा नगर कार्यपालिकाका सदस्य टिका घलेले कोभिडले गर्दा बजेटमा कमी भए पनि अव भने दलित सशक्तिकरणका कार्यक्रमहरु नगरपालिकाले ल्याउन लागेको बताउनुभयो । उहाँले बजेटमा दलित भनेर विभेद नगरिएकोसमेत दावी गर्नुभयो । वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष मोतिप्रसाद कँडेलले दलित र दलित महिलाहरुको अवस्थालाई उकास्न वडाले विभिन्न कार्यक्रमहरु ल्याएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पनि दलितको सीपलाई प्रयोग गर्दै आयआर्जन कार्यक्रमहरुलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो ।
दलित महिला संघका अध्यक्ष मन्जु सुनारको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ४ का वडा सदस्य कृष्णप्रसाद गौतम, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल, मानवअधिकार निगरानी समूहका संयोजक लक्ष्मी शर्मा, अधिवक्ता गीता कोइराला, गैसस महासंघका अध्यक्ष घनश्याम केसी, वातावरण सुधार समाजका जगत केसी, एकल महिला समूहका शितलसिंह राठौरले दलित महिलाहरुलाई न्यायमा सहज पहुँच पु¥याउनका लागि सामूहिक एकता हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी दलित महिलाहरुले न्यायमा पहुँच कठिन भएको, वडा तहमा दलितको बजेटवारे जानकारी नहुने, प्रहरी प्रशासनले दलितहरुको समस्यालाई हलुकारुपमा लिने गरेको जस्ता गुनासो गरेका थिए । संघका सचिव खगिसरा वलीले सहजीकरण गरेको कार्यक्रममा कार्यक्रम संयोजक सीता नेपालीले दलित महिलाहरुका लागि मानवअधिकार सुदृढिकरण परियोजनाको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap