१६ बैशाख २०८१, आईतवार

बर्खामा पनि वीरेन्द्रनगरमा खानेपानीको अभावः खडेरीमा मुहान सुक्ने र बर्खामा पहिरोले क्षति

कर्णाली प्रदेश मुख्य समाचार समाचार
बर्खामा पनि वीरेन्द्रनगरमा खानेपानीको अभावः खडेरीमा मुहान सुक्ने र बर्खामा पहिरोले क्षति
0 Shares

सुर्खेत ।
गर्मी मौसममा त ठीकै हो, मुहानहरु सकेर पानीको स्रोत घट्छ । जसका कारण खानेपानीको हाहाकार हुन्छ । तर बर्खा मौसममा त पानी छ्यालव्याल हुनुपर्ने हो । खोलानाला त के कुलोपनि पानीले भरिएको हुन्छ तर वीरेन्द्रनगरबासीले बर्खामा समेत खानेपानीको अभाव झेल्नुपरेको छ ।
असारको महिनामा मात्रै दुई पटक गरेर करिव एक साता बढी वीरेन्द्रनगरबासीले खानेपानीको चरम अभाव भोग्नु परेको छ । अविरल पानीका कारण आएको पहिरोले झुप्राखोलाका साथै खरी र बोरीखोलाको मुहानबाट ल्याइएको पानीको पाइपहरुमा क्षति पुगेपछि अहिले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति हुन सकेको छैन । गत शुक्रवार खरी र बोरीखोलाको मुहान क्षेत्रको इन्टेकभन्दा तल पहिरोले करिव ५० मिटर मुख्य प्रसारण लाइनको पाइपमा क्षति पुगेकोले मर्मत कार्य जारी रहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।
संस्थाले एक सूचना जारी गरी पाइप क्षतिग्रस्त भएपछि अहिले खरी र बोरीखोलाबाट आउने पानी ३० लिटर प्रतिसेकेण्ड अर्थात दैनिक २५ लाख ९२ हजार लिटर पानी आपूर्ति ठप्प भएको जनाएको छ । भौगोलिक कठिन अवस्था र पहिरोका कारण सो स्थानमा पाइपलाइन जडान गरी तत्काल खानेपानी सुचारु गर्न नसकिने जनाउँदै सूचनामा तत्काल पाइपलाइनको एलाइजमेन्ट परिवर्तन गरी दुई स्थानमा रिभर क्रसिङ गराएर करिव ३५० मिटर पाइपलाइन जोडेर खानेपानी सुचारु गर्न सकिने अवस्था भएकोले जतिसक्यो छिटो मर्मत सम्भार गर्न लागिएको संस्थाले उल्लेख गरेको छ ।
यसैगरी यही असार २० गते झुप्राखोला मुहान क्षेत्रमा आएको पहिरोले ५ मिटर ३०० एमएमको डिआई मुख्य प्रसारण लाइन क्षतिग्रस्त भएको छ । जसका कारण झुप्रा खोलाबाट आइरहेको ८६ लिटर प्रतिसेकेण्ड अर्थात दैनिक ७४ लाख ३० हजार लिटर पानी पूर्णरुपमा वन्द भएको छ । यहाँको पाइप लाइन मर्मत गर्ने काम जारी रहेको र मंगलवार साँझदेखि वितरण गर्ने गरी काम थालिएको छ । झुप्रा खोला मुहानको मुख्य प्रसारणको पाइपलाइन मर्मत गरेपछि वीरेन्द्रनगर नगरपालिकाका वडा नं. १ देखि ७ सम्म पानी संचालन गर्न सकिने बताइएको छ ।

बालाराम तिवारीकाे फेसबुकबाट

यस्तै स्थानीय स्तरका इत्राम खोला, खोर्के खोला, बुलबुले मुहानबाट आएको पानीले अन्य विभिन्न वडाहरुमा आलोपालो पानी वितरण गरिने संस्थाका अध्यक्ष कूलमणि देवकोटाले जनाए । उनका अनुसार निरन्तरको बर्षा, भौगोलिक कठिनाइका वीच कर्मचारीहरुले मर्मत सम्भारको काम जारी राखेको र जतिसक्यो छिटो खानेपानी आपूर्ति गर्न संस्था प्रतिवद्ध रहेको छ ।
वीरेन्द्रनगरबासीले गर्मीमा खडेरीले बर्खामा पहिरोले खानेपानी सहजरुपमा पाउन सकेका छैनन् । बेलाबेलामा विकास निर्माणको नाममा हुने क्षतिले पनि खानेपानीको अभाव झेल्दै आएका छन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap