२० बैशाख २०८१, बिहीबार

रूकुम घटनाः वडाअध्यक्षसहित २३ जना पुर्पक्षका लागि जेल चलान

कर्णाली प्रदेश मुख्य समाचार समाचार
रूकुम घटनाः वडाअध्यक्षसहित २३ जना पुर्पक्षका लागि जेल चलान
7 Shares

सुर्खेत ।

जाजरकोट रानागाउँका नवराज विकसहित ६ जना युवाहरुको सामूहिक हत्याको घटनामा जिल्ला अदालत रुकुम पश्चिमले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । बुधबार जिल्ला न्यायाधीश विद्याराज पौडेलको एकल इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
सोतीगाँउ सामूहिक हत्याको घटनामा संलग्न भएको भनिएकामध्ये २३ जनालाई पुर्पक्षमा थुनामा पठाउन आदेश दिएको जिल्ला अदालत रुकुम पश्चिमका स्रेष्तेदार कीर्तबहादुर बोहराले बताउनुभयो । उहाँले चौरजहारी नगरपालिका ८ का वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको जनाउनुभयो । मल्लसहित डिल्ली मल्ल, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, लिपेन्द्र मल्ल, विनोद मल्ल, हर्क मल्ल, केटीको बुवालगायतलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
उहाँहरुलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछूतको अभियोग लागेको थियो । उहाँका अनुसार संलग्न भनिएका मध्ये इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र जीतेन्द्र चन्दलाई साधारणमा तारेखमा छाड्ने आदेश अदालतले दिएको छ । केटीको आमालाई एक लाख धरौटीमा छाड्ने आदेश दिएको छ । स्रेष्तेदार बोहराले अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकाहरुलाई सम्भवतः आज बिहीवार प्रहरीले कारागार पठाउने जनाउनुभयो ।
जाहेरीवालाको तर्फबाट बहस पैरवी गर्नुभएका अधिवक्ता रामचन्द्र गौतमले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशका साथै तीन जनालाई साधारण तारेखमा छाडिएको जानकारी दिनुभयो । असार ५ गतेदेखि सुरु भएको थुनछेक बहस बुधबार सकिएको हो । जाहेरीवालाहरुको तर्फबाट पाँच जना सरकारी वकिल र २० जना कानुन व्यवसायीसहित २५ जनाले र र प्रतिवादीका तर्फबाट सात जना कानुन व्यवसायीहरुले बहस पैरवी गर्नुभएको थियो । यो आदेशमा चित्त नबुझाउने पक्षले उच्च अदालतमा निवेदन दिन पाउने बाटो भने खुल्ला छ ।
यसअघि असार १ गते १७ वर्षीया किशोरी र उनका भाइलाई नाबालक भएको हुँदा तत्कालका लागि सुधार गृहमा पठाउन अदालतले आदेश दिएको थियो । कूल ३४ जना प्रतिवादी मध्ये पाँच जना अझै फरार रहेका छन् ।
गत जेठ १० गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोतीगाउँका किशोरीलाई भगाएर ल्याउन गएका जाजरकोट भेरी नगरपालिका वडा नं. ४ रानागाउँका २४ बर्षीय नवराज विकसहित ६ युवाहरुलाई कुटपिट गरी भेरी नदीमा फालेको घटनाको करिव एक महिनापछि अदालतले उक्त आदेश दिएको छ । घटनामा विकसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. १ का टिकाराम सुनार, जाजरकोट भेरी नगरपालिका वडा नं. ४ का गणेश बुढा, भेरी नगरपालिका वडा नं. ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र वडा नं. ४ का सन्दीप विकको शव विभिन्न मितिमा भेरी नदीमा फेला परेको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap