२० बैशाख २०८१, बिहीबार

भारतबाट आउनेहरुको आंकलन गर्न नसक्दा काेराेना राेकथाममा कठिनाई

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
भारतबाट आउनेहरुको आंकलन गर्न नसक्दा काेराेना राेकथाममा कठिनाई
4 Shares

सुर्खेत ।
भारतबाट आउनेहरुको संख्या पूर्वानुमान गर्न नसक्दा कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणको रोकथाम र उपचार व्यवस्थापनमा कठिनाइ भएको छ । बुधवारसम्म कर्णाली प्रदेशमा भारतबाट आउनेहरुको संख्या ३८ हजार नाघेको छ । तर पहिले नै कति संख्यामा आउन सक्छन् भनेर आंकलन गर्न नसक्दा कोरोना रोग नियन्त्रण तथा रोकथाम र व्यवस्थापनमा ठोस काम गर्न नसकिएको स्वास्थ्यसंग सम्बन्धित निकायले जनाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले भारतबाट आउनेहरुको संख्या कसैले पनि आंकलन गर्न नसक्दा कोरोना रोकथाम र व्यवस्थापनमा चुनौती थपिएको जनाएको छ । निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीले त्यतिबेला भारतबाट कति आउँछन् भनेर कसैले पनि पूर्वानुमान गर्न नसक्दा अहिले व्यवस्थापन गर्न गाह्रो भएको बताउनुभयो । उहाँले सरोकारवालाहरुको बैठकमा पनि भारतबाट आउनेहरुको अनुमान कसैले गर्न सकेन, र पछि बढीमा १५ हजार जति आउलान् भनेर त्यसैका आधारमा रणनीति बनाइएको भन्दै अहिले ३८ हजार पुग्दा थेग्नै गाह्रो भएको उल्लेख गर्नुभयो ।
भारतबाट आउनेहरुको संख्या अनुमान गरेभन्दा अत्यधिक रहेकोले आरडिटी, पिसिआर परीक्षणका लागि बेलाबेलामा कमी हुने गरेको छ । कर्णालीमा जेठ ५ गतेदेखि कोरोना सङ्क्रमित देखा परेका हुन् । जेठको ११ गतेदेखि १५ गतेसम्म कर्णालीमा भारतबाट आउनेहरुको संख्या अत्यधिक छ । यही अवधिका आएकाहरुलाई अहिले दिन अनुसारको पिसिआर परीक्षण गरिदैंछ । बुधवारसम्म कर्णालीमा ७०८ जना संक्रमित देखिएका छन् ।
यो अवधिमा भारतका गुजरात, नयाँदिल्ली, नासिक, उत्तरांचल, महाराष्ट्र क्षेत्रबाट बढी आएको हुँदा परीक्षण गर्दा पनि यहींबाट आएकाहरुलाई जोड दिइएको छ ।
अहिले परीक्षणको दायरा पनि बढाइएको छ । भारतबाट आउनेहरुको संख्या बढेसँगै परीक्षणको दायरा पनि बृद्धि गरिएको निर्देशक भण्डारीले बताउनुभयो । ठूलो क्षमताको मेसिन खरिद प्रक्रिया सुरु गरिएकोले परीक्षणको दायरा पनि बढ्ने उहाँको भनाइ छ । आरएनए एक्सटे«क्सन मेसिनले एक दिनमा एक हजार परीक्षण गर्नेछ ।
मनोविमर्श परामर्श पनि दिइने
कोरोना भाइरसबाट त्रसित नहुनका लागि क्वारेन्टाइनहरुमा मनोविमर्श परामर्श दिने तयारी थालिएको छ । कोरोना लाग्ने वित्तिकै मृत्यु हुने त्रास सवैमा भएकोले त्यो हटाउनका लागि मनोविमर्श परामर्श दिने तयारी भइरहेको निर्देशक भण्डारीले बताउनुभयो । यसका साथै आयुर्वेद औषधि सेवन र शारीरिक व्यायामलाई पनि जोड दिइनेछ ।
अन्य रोगहरु छाँयामा
कोरोनाका कारण अहिले अन्य रोगहरु छाँयामा परेका छन् । गतबर्ष यतिबेला डँेगु, औलाको विरामीहरु भेटिएको थियो । गर्मी तथा बर्षा याममा झाडापखाला बढी लाग्ने गर्दछ । निर्देशक भण्डारीले यसबर्ष कोरोनाका कारण अन्य रोगहरु छाँयामा परेको स्वीकार्नुहुन्छ । यद्यपि अन्य रोग नियन्त्रणका लागि निर्देशनालयले आवश्यक सवै व्यवस्था मिलाएको दावी उहाँको छ ।
समुदायमा नसर्नु राम्रो अवस्था
भारतबाट आउनेहरुलाई विभिन्न जिल्ला तथा पालिकाहरुका क्वारेन्टाइनमा राखिएकोले समुदायमा सर्न नपाएकोमा स्वास्थ्यसम्वद्ध निकायहरुले राम्रो अवस्था भएको विश्लेषण गरेको छ । यदि समुदायमा सरेको भए अवस्था जटिल आउने थियो । स्वास्थ्य निर्देशक रिता भण्डारीले भारतबाट आएकाहरु सवै क्वारेन्टाइमा बसेकोको घर जान नपाएकोले समुदायमा नसर्नु राम्रो भएको बताउनुभयो ।
प्रदेश अस्पतालका डाक्टर एवं कोरोना फोकलपर्सन डा. केएन पौडेलले अहिलेसम्म कोरोना पुष्टि भएकाहरुमा लक्षण नदेखिएको जानकारी दिनुभयो । उहाँले अहिले भारतबाट आएकाहरुलाई मात्रै परीक्षण गरिएको भन्दै भारतबाट आउनहरुको संख्या कम भएमा अन्यलाई पनि परीक्षण गरिने उल्लेख गर्नुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap